
फागुन १९, दैलेख
दैलेखमा पेट्रोलियम अन्वेषणका लागि गरिएका ४ वटा सर्भेहरू सकिएका छन् । चार वटा सर्भेहरू मध्येको महत्वपूर्ण सेस्मिक सर्वेको काम सम्पन्न भएको छ । काम सम्पन्न भएसँगै चीनको विशेषज्ञ टोली फर्कने क्रम सुरु भैसकेको छ । ४ वटा सर्र्भेेबाट प्राप्त भएको नतिजाको आधारमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको सम्भावना देखिएको स्थानमा करिब ४ किलोमिटर मुनिसम्म अन्बेषणात्मक ड्रिलिङको काम सुरु हुने खानी तथा भू गर्व विभागका अन्वेषण अधिकृत डा.गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् । ४ वटा सर्भेबाट प्राप्त भएका नतिजाहरूको प्रोसेसिङ्ग, एनालाईसिस गर्न करिब दुई महिना लाग्ने देखिन्छ , अन्बेषणात्मक ड्रिलिङका लागि आवश्यक सामग्रीहरू, म्यानपावर लगायतका कामहरूको व्यवस्थापन गर्दा करिब तिहार पछि सम्म पुनः दैलेख टोली आउने सम्भावना छ । त्रिपाठीले भने ।
अन्बेषणात्मक ड्रिलिङले कति परिमाण र कुन गुणस्तरको हुन्छ, प्रशोधन गर्दा लागत कति लाग्ने फाइदा वा घाटा के हुने भन्ने विषयको यकिन पत्ता लाग्छ ।
चार वटा सर्र्भेे मध्ये मेग्नेटेलोरिक, जिओ केमिकल स्याम्पिलिङ्ग, पेट्रोलियम जिओलोजिकल र सबैभन्दा महत्वपूर्ण मानिएको सेस्मिक सर्र्भेेको काम सम्पन्न भएको हो । दैलेखका पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भू–भागहरूमा जमिनको ४५ फिट मुनिसम्म सानो मेसिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमिन मुनि आन्तरिक तरङ्ग पठाउने र उत्त तरङ्गको मापन गर्ने सेस्मिक सर्र्भेे सम्पन्न भएको छ । १० वटा सेस्मिक लाइनमा जम्मा २०० किमी क्षेत्र समेटेर गरिएको सेस्मिक सर्भेको एउटा लाइनमा ४०० बर्गकेमी भू–भाग समेटिएको थियो ।
२ सय ५० जना स्थानीयले पाए रोजगारी
दैलेखमा सुरु गरिएको अन्वेषणका विभिन्न कार्यहरूका लागि दैलेखकै २ सय ५० जना युवाहरूले ४ महिनासम्म रोजगारी पाएका छन् । उहाँहरूले रोजगारी मात्र पाउनुभएको छैन अन्वेषणको कामको लागि पनि अनुभवी कामदारको रूपमा देखिनुभएको छ । विश्वका ३६ वटा देशमा बि.जे.पी.कम्पनीले अन्वेषणको काम गरेकोले अन्य देशहरूमा आवश्यकताको आधारमा दक्ष कामदारहरूलाई लिन सक्ने क्षमता देखिएको अन्वेषण परियोजनाको व्यवस्थापनको जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिएका छन् ।
४ सर्र्भेेका यस्ता थिए चुनौती, स्थानीयले चोरे ब्याट्री र तार
चार वटा सर्र्भेे गर्न चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलीलाई करिब चार महिना सम्म लागेको छ । अन्य सर्भेहरू भन्दा सेस्मिक सर्र्भेेको काममा केही चुनौती भएको काममा संलग्न कामदारहरूले बताएका छन् । पहाडी भू–भाग र कतिपय स्थानमा कडा चट्टानले पनि ड्रिलिङमा केही समस्या आएको थियो । जब सेस्मिक सर्वे सुरु भयो यो सर्वे गर्दा बिच्छाईएका तारहरू कतिपय जनावरले काटेका थिए भने कतिपय व्यक्ति जान अञ्जानमा काटेका थिए, स्थानीयले सर्र्भेेका लागि राखिएका बेट्रीहरु समेत चोरी गरेको अन्वेषण टोलीले बताएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र प्रहरी प्रमुख हरिबहादुर ओलीले समस्या भएका स्थानहरूमा तत्काल सुरक्षकर्मी खटाएर अनुसन्धान गर्दै चोरी भएका सामानहरू बरामद गर्ने काम समेत भएको थियो । सुरक्षा व्यवस्था निकै मजबुत भएकोले काममा सहजता भएको चिनिया टोलीको भनाई छ ।
दुल्लूको क्याम स¥यो, १२ जना काठमाण्डौं फिर्ता
अन्वेषणका लागि दैलेखको चुप्रा र दुल्लूमा दुई वटा क्याम्प सञ्चालन गरिएको थियो । दुल्लूमा रहेका अस्थायी क्याम्प सरेको छ । अहिले चुप्रामा आवश्यक सामानहरू राखिएको छ । अन्वेषणमा संलग्न २५ जनाको टोलीमध्ये १२ जना चीनको टोली काठमाण्डौं फर्किसकेको छ । बाँकी टोली पनि एक साताभित्रै फर्कने तयारी गरेको परियोजनाले जानकारी दिएको छ ।
नतिजा उत्साहजनक ः
दैलेखका विभिन्न स्थानहरूमा सयौँ वर्षदेखि ग्याँसको रूपमा बलिरहेको आगो र खोलाको पानीमा बगेको तरल पदार्थका आधारमा यस क्षेत्रमा ग्याँस वा अन्य पेट्रोलियम पदार्थ छ भनेर प्रमाणित भैसकेको छ । यसैका आधारमा सर्भे गरिएको र सर्वेमा प्राप्त भएका डाटाहरू एकदमै राम्रो भेटिएकोले नतिजा उत्साहजनक हुने आशा गरिएको छ ।
जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अन्वेषण तथा अनुसन्धानबाट पनि देखिएकोले राम्रो नतिजा आउन सक्ने भूगर्वबिद् डा. गणेशनाथ त्रिपाठीले बताएका छन् ।










