
छवी सुबेदी : घाम ओरालो लागिसकेपछी हामी उकालो लाग्यौ । मुलुक त के विश्वको ठूलो भाग लकडाउनमा छ । मानिसहरु घरभित्र छन् । सडकहरु सुनसान र बिरानो बनेका छन् । जिल्ला प्रशासनको अनुमतिपत्र लिन नै समय लाग्यो । गाडीमा चालक गगन रावल, कर्णाली प्रदेशसभा सदस्य माननीय अम्मर बहादुर थापा र म मात्र तीन जना यात्री थियौ । कपासे व्यारेकदेखि सडकको दुवैतर्फ घना जङ्गल छ । सालका बुढा रुखहरुमा समेत कलिलो पालुवा पलाएको छ । छेडामा प्रहरीले हाम्रो गाडी रोके, केही सोधपुछ गरे । सडक पहाडको काखमा अप्ठ्यारोसङ पसारिएको छ । रानीमत्ताको चिसो हावामा एकजना प्रहरी जवान ड्युटीमा थिए । उसले पनि सोधपुछ गरे । चालकको फोन नम्बर टिपे । यो सन्क्रामक महामारीको बेला सुरक्षाकर्मीको खटनपटन राम्रो छ । उच्च जोखिममा रहेर पनि सुरक्षाकर्मीहरु जनताको स्वास्थ्य रक्षाका निमित्त खटीरहेका छन् । गुराँसेको बजारसम्म नपुग्दा सडकमा कोही पनि भेटिएन । गुराँसेमा फाट्टफुट्ट मानिसहरू देखिए ।
घोडावासमा सडकमा मानिसहरू देखिए । उनीहरुले पिठ्युँमा झोला बोकेका थिए । तालपोखरीको ओरालोमा सडकको कुनामा एक हुल युवाहरु चुरोट तानिरहेका थिए । सडकको अर्को छेउमा बीस पच्चीस जना महिला पुरुषहरु थकाइ मारिरहेका थिए । उनीहरुदेखि केहि तलपट्टी तीस पैतीस जना यात्रुहरु सुस्ताएका थिए । यात्रुहरुको मुखमा कालो कपडाको मास्क थियो । केहिको भने मुखमा मास्क थिएन । गाडी उनीहरुको नजिकै पुगेपछि मास्क नलगाएकाहरुले हातले नाकमुख छोपे । सायद हत्केलाले कोरोना भाइरसलाइ छेक्न खोज्दै थिए । ती जम्मै बटुवाहरु थकित देखिन्थे । हाम्रो गाडी लगभग खाली नै थियो र पनि ती मध्य कसैको मद्दत गर्न सक्दैनथियौ । उनीहरु धेरै टाढाबाट लकडाउन छल्दै पैदल हिडेका थिए । यी बटुवाहरुमध्य एक जना मात्रलाई कोरोना भाइरसको संक्रमण भए अरु सबैलाइ सर्ने खतरा प्रष्ट थियो । हामी के गर्न सक्थ्यौ र । गाडी आफ्नै रफ्तारमा दगुरिरह्यो । डुङ्गेश्वरदेखि अगाडि मटेलामा पनि मानिसहरू हुल बाधेर हिडिरहेका भेटिए । एक जोडी दम्पत्तिले हात हल्लाएर गाडी रोके र आफुहरुलाई लगिदिन अनुरोध गरे । उनीहरुले मास्क लगाएका थिएनन् । त्यो जोडी बर्दियाबाट पैदल हिडेको रहेछ । उनीहरुभन्दा केही अगाडि प्लास्टर गरेको हात घाटीमा झुण्डाएको युवाले पनि गाडी रोकेर लिफ्टको लागि अनुरोध ग¥यो । उसँग सात आठजना युवाहरु थिए । ती युवाहरुले भारतबाट पैदल हिडेको बाह्र दिन पुगेको र आफुहरुलाई कोरोना संक्रमण नभएको बताए । हामीले भने एकतर्फी सुन्यौ मात्र । लकडाउन भए पनि मानिसहरु जोखिम मोलेर हिड्न बाध्य छन् । यात्रा न हो कहाँ रोकिन्छ र विशेषत कामको सिलसिलामा गाउघर छोडेकाहरु काम बन्द भएपछि भोकको डरले घर फर्किरहेका थिए । कतिपयलाई कोरोनाको त्रासले शहरको डेराबाट लखेटेको छ । मानिस मानसिक र शारीरिक कमजोरीका बेला प्रवासमा बस्न रुचाउदैन । उसलाई आफ्नै घर कटेरोको मायाले तान्छ । भारतको विभिन्न भू–भागमा मजदुरी गर्ने नेपाली मात्र होइन भारतीयहरुले पनि हप्तौं पैदल यात्रा गरेको समाचारहरु आइरहेको छन् । यस्ता मजदुरहरुको दुखदर्द संसारका धेरैजसो सरकारको कानमा सितिमिति पुग्दैन । मनमनै आफैसङ बात मारे ( कतिको त डेरा हुदो हो ,एकाध महिना धान्ने खर्च हुँदो हो ,किन कुद्नु परेको होला ! कति भने बेखर्ची भएर हिडेका पनि होलान् । चुप्रा आइपुग्यो । भोक पनि लाग्यो । पसलहरु खुलेका छैनन् । केही खान पाइने कुरै भएन । साझ झमक्क पर्ने बेला किमुगाउँ पुग्यौ । नारायण नगरपालिकाका मेयरको घर अगाडि गाडी रोकियो । त्यहा एक गिलास दूध खान पाइयो । मेयरका अनुसार स्वास्थ्यकर्मीहरुबाट मास्क,पिपिइलगायतका सामाग्रीहरुको माग आइरहेको छ भने जनताबाट खानेकुराको माग आइरहेको छ । हामी धेरैबेर नरोकिएर अघि बढ्यौ । जिर्कु भन्नेठाउँमा अध्यारोमा जुफियाबाट झरेका घट्टालुहरु भेटिए । बेस्तडा पुग्दा रातको नौ बजेको थियो । राती बेस्तडा खोलाको सुसेली सुन्दै निदाइयो । बिहान गाउँपालिकाका निमित्त प्रदेश माननीय अम्मर बहादुर थापाले आफ्नो तलब खर्च गरि किनेर ल्याइदिएको स्वास्थ्य सामग्री हस्तान्तरण भयो । बजारमा सामान्य चहलपहल थियो । मानिसहरु कोरोना भाइरसबारे विभिन्न चर्चा गरिरहेका थिए ।
बडाभैरवको एकजना मानिस मात्र क्वारेन्टाइनमा बसेका रहेछन् । महामारीको प्रकोप बढेपछी भगवतीमाई गाउँपालिकामा विदेशबाट त्रिपन्न जना आएका रहेछन् । बेस्तडामा धेरै नभुलेर हामीहरु हिड्यौ । सालघारीमा बिहानको घाम आइसकेको थियो । नारायण नगरपालिकामा केही बेर भुलेर हामीहरु नौमुलेतर्फ हिड्यौ ।
नौमूलेमा हामीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा गयौ । डाक्टर विप्लव सुवेदी ,स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्र शाही एवं अन्य स्वास्थ्यकर्मी साथीहरुसँगभेट भयो । अहिलेको महामारीविरुद्धको युद्धमा अग्रमोर्चाका सिपाही यिनै स्वास्थ्यकर्मी साथीहरू हुन । यिनिहरुलाई भौतिक र मानसिक हतियारले सुसज्जित बनाइएन भने लडाइँ हारिने खतरा हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एउटा मात्र आइआर थर्मोमिटर छ । पिपिइ र मास्कको अभाव छ । गाउँपालिकाका अध्यक्ष एवं पार्टीका साथीहरुसंग पनि भेट भयो । माननीयबाट गाउँपालिका अध्यक्षले यहाँ पनि स्वास्थ्य सामग्री बुझे । नौमूलेमा विदेशबाट आउनेको संख्या भगवतीमाईको भन्दा धेरै छ । केहिको थ्रोट स्वाव संकलन गरेर सुर्खेत पठाइएको रहेछ । यहाँ वार्ड नम्बर तीनमा एकजना क्वारेन्टाइनमा बसेको रहेछन् । जनताबाट खानेकुराको माग आउन थालिसकेको रहेछ । लोहोरे खोलामा पौडी खेल्नेहरुको घुइचो थियो । नौमूले बजारमा एकजनाले भने (यो कोरोना आयो भने त के बाकी राख्ला हजुर । त्यस्तो धनी देश अमेरिकालाई त ओछ्यान पारिसक्यो । छेउमा उभिएको अर्कोले भने आ आउन्न कोरोना । घरमा बस्ने । कसैसँग नजीक नपर्ने । भाग्छ नि कोरोना हाम्रो यस्तो भीरपाखा देखेर ।
नौमूलेबाट महाबुतर्फ हिड्दा दिन ढल्किन थालेको थियो । कच्ची बाटो ,महाबु पुग्न नौमुलेबाट दुई घण्टाभन्दा धेरै समय लाग्यो । घोडामर्चेको डाडामा घोडामर्चे भुइभरी फुलेको थियो । दैलेख बजारबाट थपिएका पत्रकार विशालका अनुसार यहाँ डाडैभरी घोडामर्चे पाइन्छ । महाबु गाउँपालिकाको सदरमुकाम गैडावाजमा जाडो थियो । मानिसहरु बजारमा हिडिरहेका थिए । गाउँपालिकाका अध्यक्षलाई माननीयले स्वास्थ्य सामग्री बुझाएपछि हामी फर्किने सुरसारमा लाग्यौ । रात झमक्क परिसक्यो । गाडी अँध्यारो छिचोल्दै अघि बढ्यो ।
बस्तीहरुमा गरिबी छ । दैलेखका यी चार वटा स्थानीय तह प्रत्येकमा तीन महिनाभन्दा बढी समय खान नपुग्ने परिवारको संख्या हजारभन्दा बढी छ । विदेशबाट आएका जति सबैको जाँच भैसकेको छैन । रोकथामका निमित्त पहल भने भएको छ । नागरिकहरुमा महामारीप्रती चासो बढेको छ । यतिबेला यहाको मुख्य चुनौती भनेको भारत लगायत विभिन्न मुलुकबाट फर्किएकाहरु सबैलाइ निश्चित समयसम्म क्वारेन्टाइनमा राखेर परीक्षण गर्न नसक्नु हो । बनेका क्वारेन्टाइनहरुमध्य धेरैजसो फोटो खिच्नका लागि मात्र छन् । राहात वितरणको भरपर्दो मापदण्ड नबन्नुले पनि थप समस्या निम्त्याएको छ ।
खरिगैरा हुँदै ओरालो झ¥यौं । जूनको शितल उज्यालो पहाडभरी छरिदै थियो । दैलेखमा गाउँहरुको वस्ती प्राकृतिक क्वारेन्टाइन भन्न मिल्ने खालको छ । घरहरु एक अर्कादेखी टाढा छन् । मानिसहरुको यसै पनि धेरै भिडभाड र भेटघाट हँुदैन यहाँ । भेट भैहाले पनि हात मिलाउने ,गला मिलाउने र चुम्बन गर्ने संस्कार यहाँ छैन । घरमा मानिसहरु कोकोकोला जस्ता चिसो पेय पदार्थ भन्दा तातो चिया पिउछन । मासु या अन्य परिकार काचो खाने प्रचलन पनि छैन । यी यावत कुराहरु कोरोनाको संक्रमणका लागि प्रतिकुल छन । महामारीले गाउँप्रतिको प्रेम बढाइदिएको छ । यहाँ खुला आकाशमुनी आफ्ना दैनिक कामहरु एक्लैदुक्लै गर्दै मानिसहरुलाई सामाजिक दुरी कायम गर्न सजिलो छ ।
स्थानीय स्तरमा आठ दश ओटा परिवारको एउटा युनिट बनाउनु उपयुक्त हुन्छ । उक्त युनिटले तापक्रम जाँच गर्ने ,बाहिरबाट आएका मानिसहरुको निगरानी गर्ने आदि काम गर्दछ । कृषिका कामहरुको चाजोपाजो मिलाउछ । खाद्यान्न अभाव भएका परिवारको लगत स्थानीय सरकारलाई बुझाउछ । स्थानीय साना युनिटहरु बनाएर सुचारु गर्न सके यो महामारीबाट क्षती बिना पार पाउने सम्भावना बढ्दछ ।





