कर्णाली प्रदेश सरकारले गन्तब्यमा पुग्न नसकेका व्यक्तिहरुलाई घर पु¥याउने अभियान थालेको छ । बिभिन्न समस्याले बिभिन्न स्थानहरुमा रोकिएका व्यक्तिहरुलाई जिल्ला जिल्लामा ल्याउने अभियान थालेसँगै दैलेख जिल्लाले जिल्ला प्रवेश गर्ने नाकामै सुरक्षा कडाई गरेर यात्रुहरुलाई गन्तब्यमा प¥याउने अभियान सुरु गरेको हो । कोरोना भाइरस (कोभिड १९) रोकथाम जिल्ला बिपद् व्यवस्थापन समिति दैलेखको बैठकले दैलेख जिल्ला प्रवेशको मुख्य केन्द्र मानिएको गुराँस गाउँपालिकाको गुराँसेमा ११ वटै पालिकाको हेल्प डेक्स स्थापना गरेर स्वास्थ्य जाँच र सहजिकरण गर्ने बताएको छ ।
पालिकाको एक जना स्वास्थ्यकर्मी पनि उक्त स्थानमा खटाइने छ, आवश्यक पर्ने सवारी साधानहरु पनि सोही अनुसार सुरक्षा निकाय र पालिकाहरुसँग समन्वय गरेर काम सुरु गरिने छ ।
सोमबार र मंगलवार दैलेख आएका करिव एक सय बढी नागरिकहरु एकैपटक नारायण नगरपालिका दैलेखले स्थापना गरेको क्वारेन्टाइनमा आएपछि संक्रमणको झनै चुनौती बढ्न सक्ने भन्दै नाकाबाटै आ आफ्नो पालिकामा पु¥याउने अभियान थालिएको हो । यसले संक्रमणको जोखिम कम हुने र सुरक्षा सर्तकर्ता प्रभावकारी बनाउन सकिने भन्दै यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिएका छन् ।
आफ्नो घर आउदै गरेका नागरिकहरुको बारेमा स्थानीय पालिकाहरुले जानकारी नपाइरहेको कारण क्वारेण्टाइनमा ल्याउन ढिलाई हुने र पैदल हिंड्दा यात्रुहरुलाई खानाबस्न समस्या पर्ने गरेको कारण नागरिकहरुको सुरक्षाका लागि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले बताए ।
भारत र तेश्रो मुलुकबाट आएका नागरिकहरुलाई सिधै क्वारेण्टाइनमा राख्ने र नेपालभित्रबाटै कम जोखिम भएका ठाउँबाट आएकाहरुलाई वडाका जनप्रतिनिधिको निगरानीमा घरमै क्वारेण्टाइन नियम पालना गर्न लगाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । बैठकले व्यवसाय, मजदूर वा काम विशेषले बाहिर जिल्लाबाट दैलेख आउने र दैलेख हुँदै साविकको कर्णाली जानेहरुलाई सुर्खेत जिल्लाबाट दिइने सवारी पास लिएकाहरु दिउँसो १२ बजेसम्म पठाउने व्यवस्था गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।









