
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष एवं भैरहवा सुनचाँदी पसलका सञ्चालक कुलबहादुर बि.क.ले व्यक्तिगत रूपमा २ लाख ५० हजार बरावरको स्वास्थ्य सामग्री पत्रकार, सुरक्षा निकाय, कारागारमा रहेका कैदी बन्दीलाई वितरण गरेका छन् ।
विशेष गरेर कोरोना संक्रमण न्यूनीकरणका लागि अहोरात्र खट्ने सुरक्षा निकायका सबै अङ्ग र पत्रकारका लागि भनेर उनले राहत वितरण गरेका हुन्, सबैलाई सूचना प्रवाह गर्ने जिल्लाका पत्रकारहरूको स्वास्थ्य अवस्था र सुरक्षाका बारेमा विशेष चासो राख्दै आफूले सामग्री हस्तान्तरण गरेको कुलबहादुर बि.क.ले जानकारी दिएका छन् । केही सामग्री बितरण गरिसकेको र केही बितरण हुन बाँकी रहेको बि.क.ले बताए ।
समाजसेवी बि.क.ले बिहीबार जिल्ला प्रशासन कार्यालयमा गरिएको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कटेल, इन्द्रदल गुल्मका सेनानी गणेशराज पन्त, डिएसपी हरिबहादुर ओली, सशस्त्र प्रहरीका डिएसपी जीवन भट्टराई र पत्रकार महासङ्घका उपाध्यक्ष कृष्ण देवकोटालाई जिल्ला प्रशासन कार्यालयमै सामग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य कार्यालय दैलेखमा पुगेर बि.क.ले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । .

उनले ६ सय थान मास्क, ६ सय थान हात धुने साबुन, ८५ थान सेनिटाईजर र ६ सय थान ग्लोब्स प्रदान गरेका हुन् ।
सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विपतका बेलामा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पत्रकारको भूमिका विशेष हुने भएकोले विशेष भूमिका भएका निकायहरुलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।
पत्रकार महासंघ र सबै संचारकर्मीहरुलाई पहिलोपटक सहयोग
समाजसेवी कुलबहादुर बि.क.ले दैलेखका सबै सञ्चार संस्थाहरूमा सामग्री पुर्याईदिन भन्दै पत्रकार महासङ्घ दैलेखका उपाध्यक्ष कृष्ण देवकोटा मार्फत प्रदान गरिएको यो सहयोग संस्थागत रूपमा पहिलो भएको उपाध्यक्ष कृष्ण देवकोटाले जानकारी दिएका छन् ।
सामग्री प्राप्त हुने बित्तिकै देवकोटाले दैलेखमा सञ्चालन भएका रेडियो, पत्रिका र सक्रिय संचारकर्मीहरुलाई सामान वितरण गरेका छन् । दैलेखको पहिलो पत्रिका धमाका दैनिकमा सामाग्री छोड्दै देवकोटाले फिल्डमा खटिने संचारकर्मीहरुलाई धेरै सहयोग पुगेको बताए ।
धमाका दैनिकलाई यसअघि आशाराम अस्पताल दुल्लू, पवित्र मेडिकल हल दैलेखबाट मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।









