सन्दर्भ ः प्रेस स्वतन्त्रता दिवस प्रेसका चार सिद्धान्तहरु

अमेरिकाको इलियोनिस विश्वविद्यालयका प्राध्यापकहरु फ्रेड एस. सिवर्ट, थियोडोर पिटर्सन र विल्बर स्रामले सन १९५६ मा लेखेको संयुक्त पुस्तक ँयगच त्जभयचष्भक या तजभ एचभकक मा प्रेसका चार सिद्धान्तहरूका बारेमा प्रकाश पारिएको छ । प्रेसका यिनै चार सिद्धान्तको प्रतिपादनपछि आमसञ्चार सिद्धान्त भन्ने शब्दावलीको प्रचलन समेत सुरु भएको मानिन्छ । उनीहरूको यो व्याख्या र सिद्धान्त भिन्न खालका समाजमा आमसञ्चारले कसरी काम गर्छ भन्ने सामाजिक ढाँचापरक दृष्टिकोणमा आधारित छ । उनीहरूको आधारभूत अनुकल्पना प्रेसले सधैं आफूले काम गर्ने सामाजिक–राजनीतिक संरचनाको पृष्ठभूमिमा मात्र आफ्नो स्वरूप ग्रहण गर्छ भन्ने हो । यसै आधारमा अघि साएिका तिनै चारवटा सिद्धान्तलाई अझै पनि महत्वपूर्ण प्रेस र सञ्चार सिद्धान्त मानिँदै आएको छ । यी चारैवटा सिद्धान्त विशेष राजनीतिक सिद्धान्तबाट आएका छन् । यी चार सिद्धान्त वा अवधारणा विश्वमा प्रचलित प्रेस प्रणाली र सञ्चालन प्रकृयाको गम्भीर अध्ययन गरी तीनका चरित्र तथा प्रकृतिका आधारमा अघि सारिएका छन् ।
AUTHORITARIAN THEORY OF PRESS
सर्वसत्तावादी वा अधिनायकवादी प्रेस सिद्धान्त ः
सबैभन्दा पुरानो यो सिद्धान्तको विजारोपण १६ औं शताब्दीबाटै भएको मानिन्छ । निरपेक्षतावादी वा सर्वसत्तावादी सिद्धान्तमा सञ्चालित राज्य व्यवस्थाबाट यसको प्रार्दुभाव भएको हो । यस व्यवस्थामा सत्य पहिचान गर्ने अधिकार नेतृत्व वा सत्ता सञ्चालन गर्ने शक्तिशाली वर्ग वा मानिसहरूमा निहित रहने हुँदा सूचनाको प्रवाह पनि तिनै शक्तिशाली वर्गबाट सर्वसाधारण जनतातर्फ (माथिबाट तल) हुन्छ भन्ने अवधारणा रहेको छ । यस सिद्धान्त अन्तर्गतका प्रेस प्रणालीमा सरकारको नीतिलाई समर्थन गरेर राज्यको सेवा गर्नुमै पत्रकारिता वा प्रेसले आफ्नो कर्तव्य पालना भएको ठान्नु पर्ने मान्यता रहेको छ । यस प्रणालीमा दर्ता, प्रकाशन अनुमति, प्रकाशनमा प्रतिबन्ध जस्ता विभिन्न माध्यमद्वारा प्रकाशकमाथि नियन्त्रण राखिन्छ । यस्ताखाले राज्य नियन्त्रण वा प्रतिबन्धलाई सधै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताभन्दा राज्यको अधिकारमाथि रहनु पर्छ भन्ने आधारमा जायज सिद्ध गरिन्छ । पिटर्सन, सिवर्ट र स्रामका अनुसार यो अवधारणाले अधिकांश राष्ट्रहरूको प्रेस प्रणाली सम्बन्धी मौलिक संरचनाहरू खडा ग¥यो र व्यवहारमा यसको अस्तित्व अझै पनि फेला पर्छ । यो सिद्धान्तले आमसञ्चार र पत्रकारितालाई समाज नियन्त्रणको महत्वपूर्ण साधन मान्ने हुँदा यस प्रणालीमा आमसञ्चार माध्यमहरूलाई मुलतः शिक्षा र सरकारी कामकाजको प्रचार गर्ने साधन वा माध्यम ठान्ने गरिन्छ । यसरी यिनै माध्यहरुको सहयोगमा सत्ता नियन्त्रण गर्ने विषेश वर्गले समाजमाथि नियन्त्रण कायम राख्दछ । त्यसैले व्यक्तिले राज्यलाई सर्वशक्तिमान ठानेर राज्यको विकासमा सहयोग पु¥याउनका लागि आफ्नो स्वतन्त्रलाई गौण तुल्याउनु पर्छ भन्ने मान्यतामा आधारित यो सिद्धान्तमा राज्यको नेतृत्व वा शासन व्यवस्थाका विरुद्ध आमसञ्चार जान पाउँदैन । राजनीतिक व्यवस्थाका सञ्चालक वा शासकहरूले राज्यको प्रतिनिधित्व गर्ने हुँदा राज्यको समर्थन भन्नु नै तिनै शक्ति नियन्त्रण गर्ने वर्ग वा सरकारको समर्थन गर्नु हो । उनीहरूद्वारा गरिने सूचनाको प्रवाहलाई नै सत्य ठान्नु हो । यसो गर्दा नै समाजलाई सही बाटोमा हिँडाउन सकिन्छ भन्ने यस अवधारणाको मान्यता रहेको देखिन्छ । तसर्थ यो सिद्धान्तमा आमसञ्चार शासक वा राज्यको प्रत्यक्ष नियन्त्रणमै नरहे पनि राज्यको आदेशमा चल्नु पर्ने, प्रेस र अन्य माध्यमहरूले अधिकारी वर्गको आदेशको सम्मान गर्नु पर्ने, संस्थापन पक्षलाई सधै सहयोग गर्नु पर्ने र प्रेसले बहुसङ्ख्यक वा बहुसङ्ख्यकको नैतिक मूल्य, राजनीतिक तथा आर्थिक मान्यता आदिका विरुद्धमा आवाज उठाउन नहुने जस्ता मान्यता रहेका हुन्छन् ।
LIBERTARIAN THEORY OF PRESS
उदारवादी प्रेस सिद्धान्त ः
छापाखानाको विकास भएर एकैपटक धेरै प्रति अखवार निकाल्न सम्भव भएपछि स्वतन्त्र प्रेसको अवधारणा अघि बढ्दै गयो । यही क्रममा उदारवादी प्रेस सिद्धान्तको बिकास भएको हो । १७ औं शताब्दीको उत्तरार्धतिर सर्वसत्तावादी प्रेस सिद्धान्तको अवधारणाका विरुद्धमा आवाज उठ्न थालेपछि त्यसको विकल्पमा उदारवादी दृष्टिकोण अगाडि सारियो । राजनीतिक, धार्मिक र आर्थिक स्वतन्त्रताको बृद्धिसँगै मानवीय चेतनाको पनि विकास हुँदै गएपछि अधिनायकवादी प्रेस प्रणालीको साटो नयाँखाले प्रेस प्रणालीको चाहना हुनु स्वभाविक थियो । सत्य÷असत्य छुट्याउने मानिसको काममा सत्यको खोजी गर्न प्रेस पनि सहयोगी बन्नु पर्छ, प्रेस सरकार वा शक्ति समुहको हतियार बन्नुहँुदैन भन्ने दृष्टिकोणबाटै प्रेसले चौथो राज्य वा ( Fourth Estate) को मान्यता पाएको हो ।
व्यक्ति वा नागरिकलाई कुन–कुन क्षेत्रमा के कति प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता दिने भन्ने कुराको निर्णय राज्यले गर्नु पर्छ भन्ने मान्यता राख्ने सर्वसत्तावादी प्रेस सिद्धान्तको विपरीत यो उदारवादी सिद्धान्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार व्यक्तिको आधारभूत अधिकार हो भन्ने मान्यतामा आधारित रहेको छ । व्यक्ति सत्तालाई स्वीकार नगर्ने अधिनायकवादी प्रेस सिद्धान्तको विरुद्धमा आएको यो सिद्धान्तले व्यक्ति आफैमा सक्षम हुन्छ र ऊ आफै सत्य÷असत्यबीचको छनौट गर्न सक्छ भन्ने मान्यता राखेको छ । यो सिद्धान्त अनुसार व्यक्ति, समाज वा राज्यभन्दा पनि सर्वोपरी हुनुका साथै राज्यशक्तिका श्रोत नै जनता भएकाले उनीहरूको इच्छा नै निर्णायक हुन्छ । विभिन्न बिचारहरूको स्वतन्त्र अभिव्यक्तिबाटै सत्यको उद्घाटन हुने हुँदा प्रेस वा सञ्चारलाई स्वतन्त्र रूपमा विचरण गर्न दिइनु पर्छ भन्ने यसका प्रवक्ताहरूको आवाज रह्यो । अर्को अर्थमा भन्ने हो भने मानिस स्वभाव र प्रकृति दुबैका हिसावले विवेकसिल प्राणी भएको हुँदा ऊ आफ्नो अधिकारको उपयोग विवेकपूर्ण तरिकाले आफै गर्न सक्छ भन्ने यो सिद्धान्तको मान्यता हो । त्यसैले जानकारी वा सूचना प्राप्त गर्नु मानिसका अधिकारमध्येको एउटा महत्वपूर्ण अधिकार हो भन्ने दर्शनलाई यो सिद्धान्तले महत्व दिएको छ ।
COMMUNIST THEORY OF PRESS
साम्यवादी प्रेस सिद्धान्त ः
साम्यवादी प्रेस सिद्धान्त पनि अधिनायकवादी प्रेस सिद्धान्तकै अवधारणाको नजिक मानिन्छ । यो सिद्धान्तले समाज, राष्ट्र र श्रमजीवि जनताको प्रतिनिधि पार्टी र त्यसको सरकार हुने भएकाले राष्ट्र, जनता र सरकारका हितमा कुन–कुन सूचना सार्वजनिक गर्ने र कुन–कुन नगर्ने भन्ने कुरा पनि सरकार वा पार्टी प्रतिनिधिले नै गर्नु जरुरी हुन्छ भन्ने मान्यता राख्दछ । अधिनायकवादी सिद्धान्तमा प्रेस सिमित सङ्ख्याका उच्च कुलीन वर्गको नियन्त्रणमा रहने भएकाले त्यही सीमित वर्गको स्वार्थप्रति केन्द्रित रहन्छ । साम्यवादी प्रेस सिद्धान्त अन्तर्गतको प्रेस पनि अधिनायकवादी सिद्धान्तमा जस्तै नियन्त्रित हुन्छ । तर यो नियन्त्रण सीमित कुलिन वर्गको हातमा नभएर श्रमिक वर्गको प्रतिनिधित्व गर्ने शासकको हातमा रहन्छ । त्यसैले यसका प्रवक्ताहरुको धारणामा यो तल्लो वर्गको हितप्रति लक्षित रहन्छ । यी दुवैमा नियन्त्रणात्मक प्रवृति रहने भएकाले यिनलाई एउटै मान्न सकिन्छ भन्ने केही दृष्टिकोणका विपरीत सिवर्ट, पिटर्सन र स्रामले १९६५ तिर राज्य व्यवस्था सञ्चालन अनुरुप साम्यवादी शासन प्रंणालीमा प्रचलित प्रेसको अध्ययन गर्दा साम्यवादी प्रेस सिद्धान्तको बृहत व्याख्या गरेका छन् । सोभियत सञ्चार सिद्धान्त पनि भनिने यो प्रेस सिद्धान्तको सैद्धान्तिक अवधारणा साम्यवादी शासन व्यवस्थासँगै २० आंै शताब्दीको प्रथम चरणतिर अर्थात सन १९४८ मा कम्युनिस्ट घोषणापत्रको घोषणासँगै विकसित भएको हो । त्यसैले यसको प्रतिपादन र विकास पनि कम्युनिष्ट वा साम्यवादी सिद्धान्तको बिकास संगसंगै कार्ल माक्र्स र जर्ज हेगेल जस्ता दार्शनिकहरूबाट भयो । माक्र्स÷एङ्गेल्सले प्रयोग गरेका जर्मन सिद्धान्त ‘श्रमिक वर्गको नियन्त्रणमा रहने शासक वर्गको बिचार नै शासकीय बिचार हो’ भन्ने दृष्टिकोणमा आधारित यस सिद्धान्तले साम्यवादी राज्य प्रणालीमा सञ्चार माध्यमलाई जनताको सामाजिकीकरण गर्ने साधनका रूपमा हेर्ने गर्दछ । यस अनुरूप सञ्चारको प्राथमिक कार्य शिक्षित बनाउनु, सूचित गर्नु, उत्प्रेरित गर्नु र प्रगतिशील अभियानमा नागरिकलाई परिचालन गर्नु हो । साम्यवादी दृष्टिकोणमा सञ्चारका माध्यम बिचारको मानशिक उत्पादनका साधन मानिने भएकाले यो बिचारको मानशिक उत्पादन गर्ने माध्यममाथि पनि कम्युनिष्ट पार्टीको माध्यमबाट श्रमिक वर्गद्वारा नै नियन्त्रित हुनु पर्छ । यसमा सञ्चार राज्य, जनता र पार्टी प्रति जिम्मेवार हुनु पर्ने भएकाले प्रकाशनपूर्व अनुमति र प्रकाशन प्रतिबन्धलाई वैध ठानिन्छ । त्यसैले यो सिद्धान्त अनुसार प्रेस वा सञ्चार माध्यमको प्रमुख काम साम्यवादी राज्य सिद्धान्त तथा त्यस अन्तर्गत क्रियाशील पार्टीहरूलाई समर्थन, संरक्षण र विकसित गराउन सहयोग पु¥याउनु हो भनिन्छ । यस प्रणाली अन्तर्गतका आमसञ्चारका माध्यमहरू प्रायः सरकारको नियन्त्रणमा रहन्छन् र तिनलाई सरकार वा व्यस्थाका हतियार ठानिन्छ ।
SOCIAL RESPONSIBILITY THEORY OF PRESS
सामाजिक उत्तरदायित्वको सिद्धान्त ः
जसरी साम्यवादी प्रेस सिद्धान्तलाई अधिनायकवादी प्रेस सिद्धान्तको सुधारिएको रूप मानिन्छ त्यसरी नै सामाजिक उत्तरदायित्वको प्रेस सिद्धान्त लाई उदारवादी प्रस सिद्धान्तको विकसित र समन्वित नयाँ रूप मानिन्छ । माइकल कुन्जिकका अनुसार उदारवादी प्रेस सिद्धान्तका अवधारणा अत्यन्त सिधा थिए भन्ने अनुकल्पनाकै आधारमा सामाजिक उत्तरदायित्वको प्रेस सिद्धान्तको व्याख्या भएको छ । उदारवादी प्रेस प्रणालीमा सर्वसाधारण पाठकसम्म कुन सत्य, कुन तथ्य कुन रूपमा पु¥याउने वा पुग्ने भन्ने कुराको निर्णय मुलतः प्रेसका मालिक र सञ्चालकबाटै निर्धारण हुने गर्छ । यसमा अर्को पक्ष पाठक श्रोता र पत्रकारको कुनै स्थान र भूमिका रहँदैन । त्यसैले उदारवादी प्रेस सिद्धान्तले आन्तरिक प्रेस स्वतन्त्रता र पे्रसको एकोहोरो प्रक्रियाबाट उत्पन्न हुन सक्ने समस्याहरूमाथि खासै ध्यान दिएको देखिँदैन । उदारवादी प्रेस प्रणाली स्वतन्त्रताका साथसाथै स्वतन्त्रता उपभोग गर्ने पक्षले जिम्मेवारीको पनि पालना र अनुभव गर्नु पर्छ भन्ने मान्यता राखे पनि यसको पालना भने यो प्रणालीमा प्रायः हुन सकेको देखिएन । यही कमजोरीले गर्दा प्रेसको स्वतन्त्रता प्रेस मालिक, पाठक, श्रोता वा पत्रकार, कसका लागि हो भन्ने प्रश्न उठ्यो । यसैलाई अनुभव गरेर सन १९४९ मा हकिन्स कमिसन अर्थात् कमिसन अन फ्रिडम अफ द प्रेस को प्रतिवेदनमा आमसञ्चारको स्वतन्त्रता र तिनका सामाजिक दायित्वबीच विद्यमान अन्तर्बिरोध स्पष्टसँग केलाइयो । उदारवादी प्रेस सिद्धान्तले अपेक्षा गरिएको भनिने आत्मनियन्त्रण र आत्म नियमनको अभावका कारण आमसञ्चारमाथि बजार मनोविज्ञानको प्रभाव बढी पर्दै जाँदा यसले सामाजिक उत्तरदायित्वलाई बिर्सिँदै गएकाले समाजमा अव्यवस्था फैलिने संभावना बढेको हो भन्ने आधारमा सामाजिक उत्तरदायित्वको प्रेस सिद्धान्तका पक्षमा दरिलो जनमत निर्माण हुँदै गयो ।
उदारवादी अवधारणा अन्तर्गतको प्रेस प्रणालीमा सञ्चार उद्योगले नाफा कमाउनुका साथै जनता वा पाठकको सेवा गर्ने दुवै भूमिका साथसाथै निर्वाह गर्न सम्भव थिएन । त्यसैले नै पृष्ठभूमिमा विकसित भएको सामाजिक उत्तरदायित्वको सिद्धान्तको आधारभूमि मूलतः प्रेसले नाफामुखी नभएर सामाजिक रूपमा जिम्मेवारीपूर्वक काम गर्नु पर्छ भन्ने हो । यसको अवधारणा अनुसार प्रेस स्वतन्त्रता सामाजप्रतिको निश्चित प्रतिबद्धतासँग सर्तबद्ध रहनु पर्दछ । सिवर्ट, पिटर्सन र स्रामले प्रेसका चार सिद्धान्त शीर्षकको पुस्तक (सन १९५६) मा भनेका छन्÷‘अमेरिकी सरकारबाट विशेषाधिकार प्राप्त प्रेस समकालीन समाजमा आमसञ्चारका अत्यावसेक कार्यहरू पूरा गर्ने क्रममा समाजप्रति प्रतिवद्ध छन्’-The US Press, whichenjoys privileged position under our government, ls obliged to be responsible to society for carrying out essential functions of mass communication in contemporary society._
Concept of Journalism मा माइकल कुञ्जिकले उधृत गरेका माथिका भनाइका साथै सिवर्टले उल्लेख गरेका आमसञ्चारका आवश्यक कार्यहरू मुख्य गरी ६ वटा देखिन्छन् । ती हुनः
१) सामान्य रूपमा उपलब्ध हुन सक्ने सार्वजनिक काम र गतिविधिका सूचना तयार गरेर, छलफल गराएर राजनीतिक प्रणालीलाइ्र्र सहयोग पु¥याउने,
२) जनतालाई आत्मनिर्णीत कार्य गर्न सक्षम तुल्याउने,
३) सरकारका कामहरूप्रति पहरेदारका रूपमा काम गर्ने गरी व्यक्ति र अधिकारको रक्षा गनर्,े
४) विज्ञापनको माध्यमबाट क्रेता –बिक्रेतालाई एकै ठाउँमा ल्याई अर्थव्यवस्थाको सेवा गर्ने,
५) मनोरञ्जन दिने,
६) विशेष स्वार्थ र प्रभावप्रति निर्भर रहन नपर्ने उद्देश्यले वित्तीय स्वायत्तताको सरक्षण गर्ने,
यसरी बिसौं शताब्दीको प्रारम्भतिर सुरु भई सताब्दीको मध्यतिर अमेरिकामा विकसित भएको यो सिद्धान्तको मूल अवधारणा उदारवादी वा अभिव्यक्ति स्वतन्त्रता सिद्धान्तसँगै गाँसिएको छ भन्ने स्पष्ट भैसकेको छ । उदारवादी वा स्वतन्त्रतावादी प्रेस सिद्धान्तले वाक् तथा प्रकाशन स्वतन्त्रतालाई निसर्त मान्यता दिन्छ भन्ने सामाजिक उत्तरदायित्वको प्रेस सिद्धान्तले समाजप्रतिको प्रेसको दायित्वमाथि जोड दिन्छ ।William Hacki लाई यसको प्रारम्भिक व्याख्याकार मानिन्छ । यो सामाजिक उत्तरदायित्वको प्रेस सिद्धान्त उपभोग गर्दा सामाजिक जिम्मेवारी र उत्तरदायित्वलाई ध्यान दिनु प्रेसको नैतिक दायित्व नै ठानिन्छ र वैयक्तिक अधिकारको उपयोग सार्वजनिक वा सामाजिक हित विपरीत हुन्न भन्ने यसको मानयता रहेको छ । तसर्थ वैयक्रिक अधिकार र सामाजिक हितका बीच सन्तुलन राख्नु पर्छ भन्दै यस सिद्धान्तले निश्चित आचारसंहिताको पालनामा विशेष जोड दिन्छ । यिनै अवधारणाका आधारमा यो सिद्धान्त अधिनायकवादी र उदारवादी प्रेस सिद्धान्तका बीच रहेर साम्यवादी प्रेस सिद्धान्तका अनुकुल र सकारात्मक पक्षलाई समेत समेट्न सफल रहेको मानिन्छ । यसले आफ्ना पूर्ववर्ती सिद्धान्तहरूका केही पक्ष अङ्गिकार गर्ने कुरामा विश्वास राखेको पाइन्छ । यस सिद्धान्तमा प्रयुक्त सामाजिक उत्तरदायित्व भन्ने शब्दावली सर्वप्रथम Robert Hutchins को अध्यक्षतामा गठित प्रेस आयोगको प्रतिवेदनमा उल्लेख गरिएको थियो । प्रकाशक Henry Luice द्वारा सन १९४२ मा गठित सो आयोगले सन १९४७ मा आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो ।Hutchins ले उक्त प्रतिवेदनमा यो शब्दावली आधुनिक प्रेस प्रणालीलाई आफूभित्र समेट्ने प्रेसका चार सिद्धान्त अन्तर्गत नै विस्तृत व्याख्या गर्ने क्रममा प्रयोग गरेका थिए । यो सिद्धान्तले प्रेसमाथि विभिन्न खालका नैतिक आचरणपरक बन्देजहरूको आवश्यकता ठान्दछ । त्यसैले यसका आलोचकहरू यसलाई नियन्त्रणात्मक सिद्धान्त भनेर पनि आलोचना गर्दछन् । यसका आलोचकहरू भन्छन् –‘समाजको उत्तरदायित्व भन्ने कुराले सही ढङ्गमा तथ्यगत तथा अर्थपूर्ण ढङ्गले सूचना तयार गर्ने काम अर्थात प्रेस स्वतन्त्रतालाई सिमीत तुल्याइदिन्छ ।’ हकिन्स कमिसनको प्रेसको काममाथि निगरानी राखी प्रेसलाई ठीक ढङ्गले काम गराउन यस सिद्धान्तले मद्दत गर्छ वा सघाउँछ भन्ने तर्कले सञ्चार वा सूचनालाई नियमको जञ्जालतर्फ लैजान उत्प्रेरित गर्दछ । प्रेसले आफ्नो उत्तरदायित्व पूरा गराउन वा यसलाई उत्तरदायित्वपूर्ण बनाउन केही प्रकारका नियमको आवश्यकता पर्न सक्ने हकिन्स कमिसनको सुझावलाई लिएर माथिको आलोचना भएको हो । अन्य केही विद्वान्हरूले हकिन्स प्रतिवेदनले प्रेस प्रणालीमा सरकारलाई संलग्न गराउन प्रेरित गरेको छ भन्ने आरोप पनि लगाएका छन् । यो सामाजिक उत्तरदायित्वको अवधारणाले बहुलवादी प्रेस वा सूचना प्रणालीलाई उत्तम ठान्दैन भन्ने पनि आरोप लाग्ने गरेको छ । प्रेस स्वतन्त्रताका सन्दर्भमा हकिन्सले विशेष महत्वका साथ अघि सारेको यो सिद्धान्त यिनै धेरै अमेरिकी पत्रकार र सञ्चारकर्मीका दृष्टिमा त्यति रुचिकर देखिएन । उनीहरूको धारणामा प्रेसको एकमात्र कर्तव्य कसैप्रति पनि कृतज्ञ र प्रतिबद्ध नरही घटनालाई यथावत देखाउने ऐनाजस्तो हुनुपर्छ । जे होस विश्वभर बढ्दो जातिवादका सन्दर्भमा हिंसालाई नियन्त्रण गर्न र त्यसलाई भड्काउने काममा सूचनाको प्रयोगले मद्दत पु¥याउन सक्ने अर्थात त्यस्ता सुचना प्रवाहकले प्रेसको मुल्य प्रणाली तथा विश्वसनियता माथि नै प्रभाव पार्न सक्ने आजको वस्तुस्थितिलाई हेर्दा हाम्रो जस्तो समाजमा अझै यसको उपादेयिता देखिन्छ । यतिमात्र होइन, उपभोक्तावादी तथा नवउपनिवेशवादी संस्कृतिको परिणामस्वरूप सञ्चार माध्यमहरूले स्वस्थ मनोरञ्जन मात्र गराएर मानवीय विवेक तथा साना राष्ट्रका मूल्यगत संस्कृतिलाई नस्ट–भ्रष्ट तुल्याउँदैछन् भन्ने एकथरी आरोपलाई गम्भीर भएर हेर्दा पनि सामाजिक उत्तरदायित्वको सिद्धान्त हाम्रो सन्दर्भमा उपयोगी नै देखिन्छ ।
Denis Mcquail प्रेसका यी चार सिद्धान्तद्वारा मुलतः सञ्चार कस्तो हुनु पर्छ वा सञ्चारबाट के अपेक्षा राखिन्छ र निश्चित अवस्था र मूल्य मान्यताका बीच सञ्चारले कसरी काम गर्नु पर्छ भन्ने कुरामा जोड दिएकाले यिनलाई सामाजिक ढाँचापरक सिद्धान्त मानेका छन् । मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय पत्रकारिता संकाय पहिलो बर्षका लागि प्रेसका चार सिद्धान्त अन्तर्गत प्रोफेसर युवराम शर्माको नोटबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार