दैलेख : दैलेखमा २०८३ साल साउन महिनामा विभिन्न प्रकृतिका २२ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य, गम्भीर तथा सामान्य प्रकृतिका अपराधसँगै आत्महत्या र भवितव्य ज्यानसम्बन्धी घटना पनि रहेका छन्।
प्रहरीका अनुसार साउन महिनामा दर्ता भएका मुद्दामा ज्यानसम्बन्धी अपराध, सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, बैंकिङ कसुर, साइबर अपराध तथा फुटकर ज्यान लगायतका घटना रहेका छन् । चालु मुद्दाका १९ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
प्रहरीको विवरणअनुसार जघन्य प्रकृतिका अपराधमा ज्यानसम्बन्धी ५ र सवारी ज्यानसम्बन्धी १ गरी ६ वटा घटना रहेका छन् । गम्भीर अपराधतर्फ ज्यानसम्बन्धी ३, ज्यान मार्ने उद्योग १ र बहुविवाह १ गरी ५ वटा घटना दर्ता भएका छन् । सामान्य अपराधतर्फ बैंकिङ कसुर १, साइबर अपराध २ र फुटकर ज्यान २ वटा रहेका छन्।
घरेलु हिंसाका उजुरी धेरै
दैलेखमा अपराधसँगै घरेलु तथा सामाजिक हिंसाका उजुरी पनि उल्लेख्य देखिएका छन्। साउन महिनामा घरेलु हिंसासम्बन्धी २१ वटा उजुरी परेको प्रहरी विवरणमा उल्लेख छ। तीमध्ये १९ वटा उजुरीमा मिलापत्र भएको र २ वटा उजुरीलाई कानुनी प्रक्रियामा पठाइएको छ । त्यस्तै सामाजिक हिंसासम्बन्धी ८ वटा उजुरी परेका छन्। सबै ८ वटा उजुरीमा मिलापत्र भएको प्रहरीको तथ्यांक छ। समग्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित क्षेत्रमा २९ वटा उजुरी परेकोमा २७ वटा मिलापत्रबाट टुंग्याइएको र २ वटा कानुनी प्रक्रियामा पठाइएको देखिन्छ ।
हराएका सबै फेला
साउन महिनामा दैलेखबाट हराएका २६ जना महिला, पुरुष तथा बालबालिका फेला परेका छन्। प्रहरीका अनुसार हराएको भनेर खोजी गरिएका १३ महिला, ६ पुरुष र ७ बालबालिका गरी २६ जना नै फेला परेका हुन् । फेला पर्न बाँकीको संख्या शून्य रहेको छ ।
प्रहरीले फैसला कार्यान्वयनतर्फ पनि कारबाही अघि बढाएको छ । फरार प्रतिवादी पक्राउ तथा अदालतबाट भएको फैसला कार्यान्वयनका क्रममा कैद र जरिवाना असुलउपर गर्ने काम गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
दैलेखका पत्रकारहरुले बिगत लामो समयदेखि उठाउँदै आएको स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मध्ये अदालतले फैसला सुनाएका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्नेमा प्रहरी प्रमुखसँग माग राखेका छन् ।
दैलेखका प्रहरी प्रमुख श्रवण कुमार बि.कले पत्रकारहरुलाई न्याय प्रदान गर्ने बिषयमा दैलेख प्रहरी निकै गम्भिर भएको बताउँदै न्याय दिलाउन सबै तहबाट प्रक्रिया सुरु गरिएको बताएका छन् । शान्ति सुरक्षा लगायतका अन्य बिषयहरुमा सञ्चार माध्याम सञ्चार कर्मी र प्रहरी बीच आपसी समझदारी कायम गरेर समाजमा देखिएका सबैखाले समस्याहरुको समाधानका लागि पहल गर्न आफुहरु तयार रहेको बि.क.को भनाई छ ।
ट्राफिक सचेतना र कारबाही
साउन महिनामा प्रहरीले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गरेको छ। ११ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट करिब ४ हजार ८ सयभन्दा बढी नागरिक लाभान्वित भएको प्रहरी विवरणमा उल्लेख छ।
त्यस्तै चेकिङका क्रममा २ सयभन्दा बढी कारबाही गरिएको र त्यसबाट २ लाख ५९ हजार रुपैयाँ राजस्व दाखिला भएको प्रहरीको तथ्यांक छ।
प्रहरीले अपराध नियन्त्रणका लागि नियमित गस्ती, चेकिङ, समुदाय–प्रहरी साझेदारी, अपराधसम्बन्धी सचेतना कार्यक्रम तथा ‘क्राइम प्याटर्न एनालाइसिस’ लगायतका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।












