
दैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न निकै सहज छ । अछाम वा जाजरकोटबाट पनि दैलेख प्रवेश सहज छ ।
सबैभन्दा ठुलो समस्या मानिएको कोरोना संक्रमणको दर बाँकेको नेपालगन्जमा दिनहुँ बढ्दै जानु खुल्ला सिमाना भएकोले भारतको रुपैडिया लगायतका नाकाहरुबाट हिँडेरै ३ दिनमा दैलेख जिल्ला प्रवेश सहजै हुनु यसअघिका विभिन्न घटनाक्रमले देखाएपछि दैलेखलाई बाध्यात्मक अवस्थामा सिल गर्नुपरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको भनाई छ ।
घोषित वा अघोषित रूपमा भारतबाट धेरै व्यक्तिहरूको दैलेख प्रवेश निरन्तर चलिरहनु
भारतबाट आएका कतिपय व्यक्तिहरूको पहिचान अँझै सम्म हुन नसक्नु
पहिचान भएका व्यक्तिहरू पनि घरमै बस्नु
उद्धारका नाममा सवारी साधनमा कोचाकोच गरेर व्यक्तिहरू जिल्ला भित्रनु ।
रातारात जिल्ला भित्रिएका व्यक्तिहरूको तत्थ्याँक नहुनु ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल

सोमबार जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको सुरक्षा समितिको बैठकले दैलेख जिल्ला सिल गर्ने निर्णय गरेका हौँ, मुख्य सीमा क्षेत्रहरुमा संयुक्त सुरक्षा परिचालन गर्ने निर्णय गरिएको छ , कुनै व्यक्तिमा कोरोना संक्रमण देखिएमा त्यो टोलनै सिल गरेर काम थालनी गर्ने गरी तयारी थालिएको छ । आवश्यक परेका नाकाहरुमा सेना परिचालन गर्न सक्ने निर्णय भैसकेको छ । दैलेखको गुराँसेमा अहिलेपनि संयुक्त सुरक्षा फौज परिचालनमा छ ।
दैलेख सुर्खेतको सीमा क्षेत्रका रूपमा रहेको गुराँसे, जाजरकोटको सिमानामा पर्ने सुयाडा, अछाम सँग सिमाना जोडिएका आठवीस, डाव लगायतका स्थानहरुमा आवश्यकता अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई संयुक्त रूपमा परिचालन गर्ने गरी तयारी थालिएको हो ।
बाँके र कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेख सम्मको दुरी निकै कम भएको र दैलेखमा भारतबाट आउनेहरुको सङ्ख्या १५ सय भन्दा बढी भएपछि सुरक्षा सर्तकर्तालाई मध्यनजर गर्दै जिल्ला सिल गरिएको हो ।
सूक्ष्म खोजी कार्यलाई तीव्रता दिएका छौँ ः प्रहरी प्रमुख हरिबहादुर ओली

बाँकेमा संक्रमण देखिएका व्यक्ति बसेको क्वारेन्टाइनमा बसेकाहरु मध्ये कर्णाली प्रदेश प्रवेश गर्नेहरुको सङ्ख्या पनि सूक्ष्म रूपमा खोजी गरिएको छ । त्यसमध्ये दैलेख प्रवेश गर्नेहरुको खोजी पनि दैलेख प्रहरीले सूक्ष्म रूपमा सुरु गरिएको छ । लक डाउनको पूर्ण कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको निर्णय लगत्तै जिल्लाभरका स्थानीय सरकारहरु सँग समन्वय गरेर सुरक्षा निकायका सबै संयन्त्रहरु सीमा नाकामा परिचालन गरिएको छ । अछामका विभिन्न स्थानहरुमा डुङ्गा चढेर आवत जावत हुन थालेको सूचनाका आधारमा कडाइ गरिएको छ ।
घर भित्र बसिदिनुहोस् भनेर प्रहरी चुनौती मोलेर तपाँईहरुको सुरक्षामा खटिएको छ । यस्तो विषयलाई आम नागरिकहरुले बुझिदिनुपर्ने दैलेखका प्रहरी प्रमुख हरिबादुर ओलीको भनाई छ ।
अव पनि लकडाउनको उलङ्घन गरे कानुन अनुसार कारवाहीको प्रक्रिया थाल्नुपर्ने अवस्थामा प्रहरी पुग्नुपर्ने हुन्छ त्यसैले घरमै सुरक्षित बस्नुहोस् । आफू पनि सुरक्षित हुनुहोस् परिवार, टोल र समाजलाई सुरक्षित बनाउनुहोस् ।
सचेत भएर घरमै बसौँ आत्तिनुपर्ने कुरै छैन ः डा. निरन्जन पन्त

सरकारले कोरोना संक्रमण फैलिन नदिनका लागि गरेको प्रयास र आम नागरिकहरुले खेलेको भूमिका महत्त्वपूर्ण छ । संक्रमणको सामान्य त्रास सबैलाई हुनु यतीवेला स्वभाविक मानिन्छ । सचेत भएर घरमै बसे कसैले पनि डराउनुपर्ने अवस्था छैन । नेपाल र नेपालीहरूको आत्मबल, स्थावस्थ्यकर्मी, सुरक्षाकर्मी र सबै नागरिकहरुले अपनाएको सुरक्षाले नै नेपालमा कोरोना संक्रमण निकै न्यून मात्रामा देखिएको छ ।
पछिल्ला दिनहरूमा नेपालगन्जमा देखिएको संक्रमणलाई लिएर हामीले थप सचेतना अपनाउनुपर्ने जरुरी छ । आत्तिनुपर्ने अवस्था छैन । सरकारले गरेको निर्णय पालना गरौँ कुनै समस्या भए स्वास्थ्य कार्यालयमा तुरुन्त सम्पर्क गरौँ ।
हामीले सबै बिरामीहरुको एक जना मात्र कुरुवा राख्ने गरेका छौँ तर सदरमुकाम आसपासका बिरामी भए कुरुवाहरूको सङ्ख्या एकाएक बढ्ने भएकोले केही गाह्रो महसुस भएको छ यो विषयमा सबै सचेत भइदिन अनुरोध गरेका छौँ ।
दैलेखमा ७ सय ६७ जनाको ¥यापिड टेस्ट गरिएको छ । ९८ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।
कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा सम्म पुग्ने मुख्य नाका मानिएको दैलेखको रानिमत्ता क्षेत्रबाट आवागमन धेरै हुन थालेपछि पालिकाहरुले ११ वटा हेल्पडेस्क स्थापना गरेर सुरक्षाका कामहरू सञ्चालन गरिएका छन् ।
दैलेखका ८ सय ६१ बेड क्वारेन्टाइन र ४० आइसोलेसन बेड निर्माण गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या ६१ रहेको छ ।
सबै कुराको प्रभावकारी परिचालन गरिएको छ ः समन्वय प्रमुख थापा

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले कोरोना संक्रमणबाट दैलेखलाई जोगाउन सबै संयन्त्रहरुको प्रभावकारी परिचालन गरिएको बताएका छन् । पालिका हुँदै वडा वडा सम्म विभिन्न संरचनाहरु निर्माण गरेर स्थानीय सरकारहरुले परिचालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय र सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको छ । जनताहरुले सरकारले गरेको लक डाउनको पालना गर्नुपर्ने जरुरी अँझैपनि देखिएको छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा अनावश्यक रूपमा मानिसहरू घर बाहिर निस्कन रोकिनुपर्नेमा रोकिएको छ्रैन्, जानेबुझेका मानिसहरूले नै लकडाउनको उलङ्घन गरेका केही घटनाहरू छन् । सबै नागरिकहरू सचेत भएर घरभित्रै बस्न र समस्या भए तत्काल नजिकको स्वास्थ्य संस्था, सार्वजनिक नम्बरहरु, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायहरुसँग समन्वय गर्न जिल्ला समन्वय समितिले सबैलाई आग्रह गरेको थापाले बताए ।









