संक्रमितको ट्राभल हिस्ट्री खोजिदै

बाँके ः
बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ ।
कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार मदरसा शिक्षक ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ फेला परेपछि उनी बसोबास तथा आवतजावत गर्ने क्षेत्रमा बन्द गरेर स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा सात वर्षका बालक तथा नौ वर्षकी बालिकासहित २२ जनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषलाई पनि अरुबाट कोरोना सरेको हुन सक्ने बताए ।


संक्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुश्किल भएको छ । पहिलो संक्रमित ६० वर्षीय पुरुष भारतका रुपैडिहा, नानपारा लगायत ठाउँमा आवातजावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केश भन्न नमिल्ने उनले बताए ।
नेपालगञ्जमा पहिलो पटक फेला परेका संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो संक्रमितले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । स्वास्थ्यकर्मीले संक्रमितलाई पछ्याउँदै परीक्षण तीव्र बनाइरहेका छन् । यो संख्या अझै बढ्ने आकलन गरेर स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।
भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ । यसबाट उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको र पछिल्ला २२ नयाँ संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट भएको बुझिएको छ । उनी महेन्द्र पार्कस्थित धार्मिकस्थलमा पनि आउजाउ गर्थे । उनी मदरसाका शिक्षक भएकाले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप स्वाब संकलन र परीक्षण भइरहेको छ । यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा संक्रमित भेटिएको भए पनि उनीहरु धेरै टाढा गएको देखिँदैन । फेला परेका संक्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन । अहिले ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’को काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार