
पालुवा छिप्पिइसकेको छ । ऐसेलु पाकेर पह्यालै छ । बारीमा गहुँबाली छैन । पानीले थिलोथिलो पारेको गहँु किसानहरुले काटेर घरमा थुपारेका छन् । धेरै जसो बारीमा मकै लगाइ सकिएको छ । कतिपय बारीमा मकैले माटोको चपरी फोडेर भर्खर पात हालेको छ । सोत पिपलडाँडामा पुगेपछि हामी केहिबेरको लागि रोकियौ । बाटोमाथिको चियापसलमा केही मानिसहरु जम्मा भएका थिए । नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेको झन्डै दुई महिना हुन थालेको छ । गाउँ लकडाउनमा ढोका थुनेर घरभित्र बस्दैन । यसले घासपात गर्नै पर्ने हुन्छ । बस्तुभाउ चराउनु पर्छ । गहुँ काट्नु पर्छ । मकै लगाउनु पर्छ । खेत खनजोत गर्नु पर्छ । यी यावत कामहरु सकेर मात्र गाउँ लकडाउन पालना गर्न घरभित्र पस्छ । गाउँमा किसानलाई समय बिताउनका निमित्त तास खेल्न, टिकटक बनाउन पर्दैन । बिहानपखको शितल हावाले पिपलका पातहरु फिरफिर नचाइरहेको थियो ।
यसपटकको यात्रा दैलेख बजारबाट शुरु भयो । कर्णाली प्रदेश सभाका सदस्य माननीय अमर बहादुर थापा गाडीको अघिल्लो सिटमा बस्नुभयो । म,ओमजङ्ग र क्षेत्रप्रताप पछाडि बस्यौ । चालक गगन रावलले गाडीमा चढ्ने बित्तिकै हाम्रो हातमा दुई दुई थोपा स्यानिटाइजर हालिदिनुभो । लकडाउनको घोषणा पश्चात माननीय अमर थापासँग स्वास्थ्य सामग्रीसहित हामीहरु दोस्रोपटक नौमूले गैरहेका थियौ । सल्लेरी आटामा जन्मिएर हाल अमेरिकाको क्यालिफोर्निया बस्ने भाइ मानिन्द्र चन्दको जन्मभूमिप्रतिको प्रेमलाई मनमनै सलाम गरे । उनैको सहयोगस्वरुप प्राप्त कोशेली थियो गाडीको पछिल्लो सिटमा ।
सोतबाट हामी तामेखोलातर्फ बढ्यौ । बाटो कच्ची छ । तामेखोलामा पुल भने पक्की छ । खजुरी पुगेपछि सल्लेरी पारी पट्टी देखाप¥यो । भुर्सु कटेपछी लोहोरे खोला सडकको दायाँ किनारमा नजिकिदै गयो । लोहोरे यसपटकको जेठमा दुब्लो छैन । यो आसपासको बगरसम्म फैलिदै बगिरहेको छ । नौमूले बजार सुनसान थियो । कोरोना भाइरसको संक्रमणबाट जोगिन नौमूलेले पनि आफुलाई लकडाउन गरेको छ । पसलहरु खुलेका छैनन् । हामीले हरि थापाको घरमा खाना खायौ र गाउँपालिकाको कार्यालयतर्फ लाग्यौ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकीय अधिकृतसँग केहिबेर छलफल ग¥यौं । गाउँमा राहात स्वरुप चामल बाड्नुभन्दा पहिले साबुन,स्यानिटाइजर ,मास्क र कोरोनासम्बन्धी चेतना बाड्नु उपयुक्त छ । दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुलाई भने काम बन्द भएपछि दाल चामलको आवश्यकता पर्छ । नौमूले गाउँपालिकाको धेरैजसो भू–भागमा असिनाले गहुबालीमा क्षती पु¥यायो । असिनापीडितका निमित्त खरिद भएको चामल गाउँपालिकाको गोदाममै छ । गाउँपालिकाको कार्यालयबाट हामी प्राथमिक स्वास्थ्य केन्द्रमा गयौ । नौमूले गाउँपालिका वडा नम्बर ६ का बासिन्दा मानिन्द्र बहादुर चन्द भाइले अमेरिकाबाट कोरोना भाइरसद्वारा सृजित महामारी विरुद्ध आफ्नो गाउँका निमित्त पचास हजार रुपैयाँ सहयोग स्वरुप पठाउनु भएको थियो । उक्त रकमबाट काठमाडांैमा दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले थर्मल गन, मास्क, सिटामोल चक्कीलगायतका सामग्री खरिद गरेर सुर्खेतसम्म पठाउनुभयो । यी प्रताप शाहीले आफ्नो व्यस्त जागीरे जीवनबाट सेवाका निमित्त सधै जसो समय निकाल्नुहुन्छ । सुर्खेतबाट ती सामग्री बोकेर माननीय अमर थापा दैलेख आउनुभयो । आफू जन्मिएको माटो र आफ्ना प्रिय गाउँलेहरुको स्वास्थ्य सेवाका निमित्त मानिन्द्र भाइको आर्थिक सहयोगमार्फत प्राप्त स्वास्थ्य सामग्रीका साथ हामी नौमूले आइपुगेका थियौ । प्राथमिक स्वास्थ्य केन्द्रको आगनमा डा विप्लव सुवेदी ,स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाही लगायतको रोहबरमा ती स्वास्थ्य सामग्री माननीय अमर थापाले गाउँपालिकाका अध्यक्ष भदे बुढालाई हस्तान्तरण गर्नुभयो । डाक्टर विप्लवले भारतबाट फर्किन थालेका स्थानीयलाई प्रदेशमा नै राख्न ठिक हुने सुझाव दिए । उनका अनुसार स्थानीय पालिकामा क्वारेन्टाइन व्यवस्थापन चुनौतीपूर्ण छ । यहाभन्दा अघि पनि स्थानीय तहका क्वारेन्टाइनमा बाहिरबाट आएका मानिसहरु बस्न मानेका थिएनन् । भारतले यही मे १२ गतेदेखि रेलसेवा सुचारु गरेपछी नौमूले गाउँपालिकामा भारतका विभिन्न स्थानबाट धेरै नागरिकहरु घर फर्किदै छन् । शशी वि. क., कृष्ण सलामी र अन्य साथीहरूसङ्ग विदा माग्यौ । नौमूलेको सानो बजारलाई लोहोरेको किनारमा छाडेर हामीहरु ठुटे सिमलतर्फ फर्कियौ ।
भुर्सु र गोगनपानीको बिचमा हामीले लोहोरे त¥यौं । नौमूले गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दल बहादुर गुरुङ्ग खोलाको किनारमा बाख्रा चराइरहेका थिए । भैरमथानको उकालो गाडी बिस्तारै उक्लियो । गुरुङ्ग बस्ती गोगनपानी चकमन्न थियो । सल्लेरीको डाँडामा सडक सर्प झै बटारिएको थियो । सडक छेउछाउ काफल पाकेर रातै भएको थियो । दर्लामी जेठी भैंसी धपाउदै थिइन् । माननीयसँग उनले मास्क मागिन । आजभोली गाउँमा मास्कले काफलले भन्दा बढी महत्त्व पाएको छ । घर घरमा मानिसहरुले सिन्दुरे लागेर कालो भएको गहँु सुकाएका छन् । किसानको जिन्दगीलाई कोरोनाले भन्दा असिना, अधिक वर्षा , बाढी पहिरो आदिले बढी सताउछ । किसानको उत्पादन थोकमा बिक्री हुन्छ ,त्यो पनि धेरै कम मुल्यमा । उसले किन्दा भने मल, बिउबिजन, विषादि आदि खुद्रामा किन्नुपर्छ । नवउदारवादले किसानलाई अति कम मुल्यमा कठोर जिन्दगी बाच्न विवश पारे पनि कोरोनाद्वारा सृजित महामारीले गाउले किसान अर्थतन्त्रलाई तत्काल थला पार्न सकेको छैन । केही दिनदेखि आकाश उघ्रीएको छ । हाम्रो घर पुग्दा आमाले भैसीलाइ कुडो खुवाउदै हुनुहुन्थ्यो । किशोरहरु गहुँ ठटाउदै थिए । पेट भरिने गरि काफल खाएर हामी सल्लेरीबाट खालडाडातर्फ उकालो चढ्यौ ।
सल्लेरीको स्वास्थ्य चौकी सल्लोघारीको टुप्पोमा छ । यसको छेउमा बर्थिङ्ग सेन्टरको जगमाथी फलामका सरिया ठडिएका छन् । खालडाडामा केही पसलहरु छन् । हामी मान बस्नेतको घरमा केही बेर भुल्यौ । विकास निर्माणका कामबारे माननीयले जानकारी लिनुभयो । लकडाउनका कारण विकास निर्माण रोकिएको छ । खालडाडाबाट तेर्सै आटातर्फ बढ्यौ । मानिन्द्रको घर आटामा सडकदेखी केही माथी छ । राकाखोलामा घासको डोको बोकेकी प्रेमा काकी भेटिनुभो । दुनीको घट्ट नजिकै स्थानीय नेता दल बहादुर बस्नेत भेटिनुभो । घट्टबाट भर्खर बाहिर निस्केको हुदा वहाको कपडाभरी सेतो पिठोको पत्र बसेको थियो । पैती पुग्दा घाम डाडामाथी पुगीसकेका थिए । यता बारीमा गहँु पाकेकै छैन । पैतीको स्वास्थ्य चौकी भर्खरै स्वीकृत भएको छ । पैतीमा स्वास्थ्य चौकीको आफ्नै भवन छैन । केही महिना पहिले यहाँ आगलागी भएको थियो । अजय कमरेडका बुबा सेतु चन्दले त्यही बस्न आग्रह गरे पनि हामी चौराठातर्फ बढ्यौ । कच्ची सडकमा कहि खाल्डा परेका थिए भने कहि भलले सडक चिरेको थियो र ढुङ्गाहरु ठडिएका थिए । चौराठाको स्वास्थ्य चौकी गाउको बिचमा छ । चौकीप्रमुख नवराज शर्माका अनुसार यहाँ सेवाग्राहीको संख्या ठूलो छ । बर्थिङ्ग सेन्टर यहाँ पनि सल्लेरीको झै अधुरो छाडिएको छ । प्रदेश सरकारबाट बर्थिङ्ग सेन्टरको भवन निर्माणका लागि बिनियोजीत पच्चीस लाख रुपियाँ फिर्ता हुने भएछ । बीरु चन्दकहा रोटी खादाखादै झमक्क साझ प¥यो । तर्क शाहीलगायत दुई चार जना स्थानीय अगुवाहरुको कोरोना, सिमाना र पार्टीबारे तर्क सुन्न पाइयो । सिमाना मिचेकोमा भारतप्रती व्यापक आक्रोश छ । लिपुलेख र लिम्पियाधुरा आम नेपालीका प्रिय नाम बनेका छन् । सरकारमा भएको नेकपाप्रती पनि चिन्ता छ । यसमा देखापर्ने गुटगत स्वार्थ र मनपरिबारे गाउँ चिन्तित छ ।
वडा अध्यक्ष मोहन रानाले साल टाकुरीको ओरालोमा सडक बिग्रीएको छ भनेपछी हामीले चौराठामै बाँस बस्ने निधो ग¥यौ । टोप चन्दको घरबाट मोहन रानाको घरतर्फ झर्दा साझ रातमा रुपान्तरित हुँदै थियो । रानाको घरको आगनमा हाम्रा निमित्त गुन्द्री बिच्छ्याइएको थियो । ताजा चिसो हावाले हामीलाइ सानीमाखु गाउमा नजिकैबाट छोइरहेको थियो । आगनबाट सिधा माथी आकाशमा अनगिन्ती ताराहरु टिलपिलाइरहेका थिए । बेलुकाको खाना रोटी ,तरकारी र दही तयार थियो । गाउँ दिनभरिको कामले थाकेको थियो । फेरि कहिल्यै उज्यालो हुँदैन कि झै गरि पोखिएको अध्यारोमा नौ नबज्दै पुरै गाउँ निदाइसकेको थियो । प्राकृत जीवन बाचीरहेको गाउमा उपभोक्तावादको संक्रमण भने सरेको छ । गाउँका टाठाबाठाहरु विकास निर्माणका कामहरुबाट सकेसम्म पैसा कमाउने सोच राख्न पल्किएका छन् । उपभोक्ता समितिमा बस्न र ठेक्का प्राप्त गर्न कहिलेकाही गाउमा झगडा हुन्छ । सत्ताको मुलमा जोडिएकाहरुले आफ्ना मानिसहरुलाइ काम दिलाएर कमिसन खान्छन् । हाम्रा निमित्त गोठको अथारामा ओछ्यान तयार भयो ।
बिहान गाउँ पुरै उज्यालो भएको थियो । माननीय अमर थापासहित हामीहरु ओरालो झ¥यौ । साठी काटेका अमर थापामा गाउँ घुम्ने, जनताको घरदैलो गर्ने जोश देख्दा युवाहरू पनि लोभिन्छन । एकजना प्रौढ दाइ डोकोमा गाग्री बोकेर उक्लिदै थिए । सालघारीको कुवाबाट खानेपानी ल्याएका रहेछन् । सानीमाखुका केही घरमा मात्र धारा छैन रहेछ । म स्कुल पढ्नेबेला पानी ल्याउन घरदेखी झन्डै आधी घन्टा टाढा पुग्नुपथ्र्यो । गाउँमा खानेपानी थिएन । कि कसेरी धारा कि ठूलो खोला पुग्नुपथ्र्योे । आज केही विशेक भएको छ ।
विश्वका ठुला ठुला वैभवका केन्द्रहरुमा आगो झोस्दै हिडेको कोरोना भाइरसलाई सानीमाखुमा अहिलेसम्म कसैले देखेको वा भेटेको छैन । तर पनि गाउँमा भाइरस भित्रिने हो कि भन्ने भए छ । गाउँको जीवनशैली भाइरसका निमित्त अनुकुल छैन । यहाँ मानिसहरुको ठूलो भिड प्राय जम्मा हुँदैन । श्रममा बाच्ने गाउँले जीवनको रोगप्रतिरोध क्षमता कमजोर छैन । गाउँमा महामारी फैलिहाल्यो भने सम्हाल्नका लागि तयारी र पूर्वाधार नगण्य छ । स्वास्थ्य चौकीहरुले भर्खर मात्र आइआर थर्मोमिटर पाएका छन् । ग्लोब्स र पिपिइ सेट प्रयाप्त छैनन् । धेरैजसो स्वास्थ्य चौकीमा सिटामोल चक्कीको समेत अभाव छ । गाउँ महामारीबाट जोगिने उपाय भनेको सावधानी नै हो । भिडभाड नगर्ने, बाहिरबाट आएका मानिसहरुको नजीक नजाने, साबुनपानीले नियमित हात धुने, घरबाहिर निस्कदा मास्कको प्रयोग गर्ने मात्र गरे पनि कोरोना भाइरसको संक्रमणबाट वच्न गाउलाइ धेरै मद्दत पुग्छ । कोरोना भाइरसको फैलावट रोक्न समाजलाई सधै बन्द राख्न सकिँदैन । त्यसैले यो भाइरस एक आपसमा नसर्ने गरि समाजको दैनिकी सुचारु गर्ने विधि निर्माण गर्नुपर्छ । भाइरसका विरुद्ध खोप या औषधी कहिलेसम्म पत्ता लाग्ने हो कुनै ठेगान छैन । बरु भाइरस निष्क्रिय पार्ने तर मानव स्वास्थ्यलाई कुनै असर नपार्ने चकलेटको आविस्कार सहज होला । भाइरसले फोक्सोसम्म पुग्न मुखबाट धेरै लामो र झन्झटिलो यात्रा गर्नु पर्छ । मुखमै भाइरसलाई निष्क्रिय पार्ने विधि विकास गरेपछि यसको संक्रमणबाट जोगिन सकिन्छ । भनभनेमा झरेपछी हामीले जिल्ला समन्वय समिति दैलेखकी सदस्य गिता चन्दले आफ्नो घरबाट पठाइदिएको पुरी तरकारी खायौ । बिजौराको उकालो लाग्दा घाम माथी आइसकेको थियो ।











