राउटे समुदायलाई जनजाती महासंघद्वारा राहत वितरण

लामो समय देखि दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्दै आएका राउटे समुदायलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आर्थिक सहयोगमा राहत वितरण गरिएको छ ।
एसियाकै लोपोन्मुख जाति भित्र पर्ने राउटे समुदायलाई रोजगारीको शिलशिलामा अमेरिका पुगेका केही सहयोगी मन भएका नेपालीहरुले थोरै रकम भए पनि जम्मा गरेर कोरोना भाइरसका कारण प्रभावित बनेको राउटे समुदायलाई फिप्नाले पठाएको २ लाख २६ हजार २ सय ५ रूपैयाँ बराबरको खाद्यान्न र कोरा कपडा खरिद गरि वितरण गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दैलेखका अध्यक्ष खगेन्द्र पुन मगरले बताए । उनले राउटे समुदायका ४८ घरधुरीलाई चामल, दाल, नुन्, तेल, र कोरा कपडा वितरण गरिएको जानकारी दिएका छन् ।

राहत वितरण गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई खाद्यान्नको सदुपयोग गर्न निर्देशन दिए । फिरन्टे जीवन विताउदै आएका राउटे समुदायलाई विगतका दिनमा गुराँस गाउँपालिकाले पनि सक्दो प्रयास गरिरहेको र राउटे समुदायकै निमित्त वर्षेनी लाखौ रकम आए पनि त्यसको सही सदुपयोग नभएको गुनासो ब्यक्त गरे । राहत वितरणकै नाममा कत्तिले फाइदा समेत उठाएको हुँदा अवका दिनमा यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन । आफुखुसी राहत वितरण नगर्ने र त्यसको लागि गाउँपालिकाको समन्वयमा छुट्टै कोष स्थापना गरी राहतको लागि व्यवस्थापन गरिने वलीले बताए ।

यसरी राहत उनले लोपोन्मुख तथा विपन्न समुदायलाई सम्झेर अमेरिकाबाट सहयोग ठाएकोमा फिप्नालाइ धन्यवाद दिएका छन् । राउटे समुदायको ठुलो पर्व साउने संक्रान्तिको अवसरमा खाद्यान्न पाउदा निकै हर्षित बनाएको राउटे मुखिया सुर्य नारायण शाहीले बताए । उनले राउटे समुदायमा यस राहतले खुसी ल्याएको बताए ।
राहत वितरणमा महत्वपूर्ण सहयोग र समन्वय गरेकोमा गुराँस गाउँपालिकालाइ फिप्नाले धन्यवाद दिएको छ । यस्तै नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय परिषद, गुराँस गाउपालिका समन्वय परिषद र नेफिनको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद दिएको छ । देशको विभिन्न ठाउहरूमा खाद्यान्न राहत वितरण भईरहेको फिप्नाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार