
किसानलाई व्यवसायिक पशुपालनतर्फ अग्रसर गराउनका लागि स्थानीय सरकारहरुले स्पष्ट योजना ल्याउन सके काम सहजै सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिन सफल भएको छ दैलेखको भगवतीमाई गाउँपालिका ।
भगवतीमाई गाउँपालिकाको वडा नं. १ पगनाथ र गन्मका ५० किसानहरु अहिले व्यवसायिक बाख्रा पालक किसान बन्ने तयारीमा छन् । परम्परागत रुपमा बाख्रा पालन गर्दै आएका किसानहरुका लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखको १ करोड र भगवतीमाई गाउँपालिका दैलेखको ६५ लाख लागतमा किसानलाई व्यवसायिक बनाउँदै बाख्रा स्रोत केन्द्र निर्माण थालिएको छ ।
भगवतीमाई गाउँपालिकाको वडा नं. १ का ५० जना किसानहरुको समुह निर्माण गरिएको छ । अहिले ५० वटा उन्नत खोर किसान आफैले निर्माण सम्पन्नको तयारीमा छन् । सबैलाई एक एक लाख रकम प्रदान गरिने छ ।
स्रोत केन्द्रका लागि २ वटा पक्कि भवन निर्माण थालिएको छ । प्रदेश र पालिकाकै मातहतमा २ वटा पक्कि खोर समेत निर्माण गरिएको छ । उक्त खोरमा समेत सरकारका प्रतिनिधिहरुले बाख्रा पालन गर्नेछन् । गाउँभरीका किसानहरुले उत्पादन गरेका खसी, बोका र बाख्रा बितरणका लागि स्रोत केन्द्रले जिम्मा लिने भएको छ । किसानहरुले जति उत्पादन गर्न सके उति धेरै आम्दानी लिनेछन् । किसानले उत्पादन गरेका सबै बाख्रा, खसी र बोका स्रोत केन्द्रले एकमुष्ट खरिद गरेर बिक्रि गरिदिने प्रावधान बनाएपछि किसानहरु खुसी देखिएका छन्् ।
किसानले दुःख गरेर उत्पादन गरेका खसी बिक्रि नभएर हेलाको हुनुपर्ने बिगतको समस्या समाधान हुनेमा किसानहरु आशावादी देखिएको बाख्रपालक समुहका अध्यक्ष पगनाथका मानबहादुर थापाले जानकारी दिएका छन् । वडा भरी ५० जना बाख्रा पालक किसानहरु छौं । न्यूनतम ३५ देखि १ सय ५० वटा सम्म बाख्रा पालन गरेका छौं । पहिला खसी पालन गर्दा बिक्रि हुँदैनकी भन्ने समस्या हुन्थ्यो अहिले त्यो समस्या समाधान हुने देखिएको छ । उन्नत खोर निर्माण गरेका छौं, बारीमा बुटा लगाएका छौं । सरकारले हामीलाई सहयोग गरेको छ सबै किसान खुसी छन् ।
अहिले किसानलाई खोर निर्माण बापत १ लाख नगदै प्रदान गरिने छ , समूहमा ५० वटा उन्नत बोका बितरण गरिने भएको छ । घाँस काट्ने मेसिन समेत किसानलाई प्रदान गरिने भएको छ । वडा नंंं १ को पगनाथ मा रहेको २२ रोपनी जग्गा बढाएर ५० रोपनी पु¥याउने र १ कै गन्ममा पशुसेवा कार्यालयको मातहतमा रहेको ७३ रोपनी जग्गामा प्रदेश र स्थानीय सरकारले स्रोत केन्द्र निर्माण गर्नै तयारी छ । पालिकामा साना देखि ठूला सवैखाले व्यवसाय गर्ने किसानहरुको आवश्यकताका आधारमा काम अगाडी बढाएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताउनुभएको छ । गाउँपालिकाका बाँझो जमिन सदुपयोग गर्ने, किसानहरुलाई व्यवसायिक बनाउने, स्थानीय स्तरमा रोजगारी प्रदान गर्ने अभियान यो वर्षबाट गाउँपालिकाले थालेको छ । गत वर्षदेखिनै श्रम रोजगार बंैक माफर्त पालिकाभरिका १ सय ४० युवाहरुले रोजगारी पाएका छन् । अहिले भारतबाट आएका युवाहरुलाई गाउँमै रोक्ने अभियान थालिएको थापाले बताए ।

पशुसेवा तथा पशुअस्पताल दैलेखले किसानको बारीमै पुगेर अनुदान रकम बितरण गर्ने कार्य सुरु गरेको छ । किसानले गरेको कामको अनुगमन गर्ने, सुझाव दिने र अनुदानको चेक बितरण गर्ने काम थालनी गरेपछि कामको प्रभावकारिता बढेको छ । भगवतीमाई गाउँपालिका वडा नंं ६ जुनीपाटाका किसानको कालिज फर्मको सुरुवात गरेका छन् । फर्मका लागि ३ लाख अनुदान प्रदान गरिएको पशुअस्पताल कार्यलय दैलेखका निमित्त प्रमुख भिमबहादुर बिष्टले जानकारी दिएका छन् । प्रदेश सरकारबाट प्राप्त सबै अनुदान रकमहरुको हस्तान्तरण गर्न स्वयं किसानको बारीमै पुग्ने अनुगमन गर्ने र रकम प्रदान गर्ने नीति लिएको बिष्टको भनाई छ ।
जिल्लाका बिभिन्न दुर्गम स्थानहरुमा परम्परागत रुपमा पशुपालन गर्दै आएका किसानहरुलाई व्यवासायिक बनाउने अभियानले गाउँमै रोजगारी सृजना हुने देखिएको छ भने किसानहरुको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने देखिन्छ ।









