
दैलेखमा कोरोना संक्रमणको दर बढ्दै गएपछि भारत रोजगारीबाट जन्मघर फर्केका युवाहरुलाई केन्द्र सरकारको प्रधानमन्त्री रोजगार, प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममा केही समयका लागि भएपनि स्थानीय पालिकाहरुले सहभागि गराएका छन् । कतिपय गरिव समुदायलाई प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।
दैलेखको महावु गाउँपालिकाले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रममा भारतबाट घर आएका युवाहरुलाई परिचालन गरेको छ । करिव ६ सय बढी युवा युवतीहरुलाई सडक मर्मत, खानेपानीका पाईप खन्ने लगायतका कामहरुमा परिचालन गरिएको छ । असार ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने कामहरुमा केही समयका लागि मात्र भएपनि युवाहरु परिचालन गरिएको छ ।
महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले गाउँपालिकामा ३ हजार ५ सय युवाहरु गाउँ भित्रिएको बताउँदै, रोजगार दिलाउन ६ वटै वडामा युवाहरु परिचालन गरिएको बताएका छन् । यो बर्षबाट पालिकाले समेत रोजगार कार्यक्रम संचालन गरेर युवाहरुलाई सकेसम्म गाउँमै रोक्ने अभियान थालिएको उनको भनाई छ ।
आगामी बर्षदेखि प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार सँगै गाउँपालिकाले पनि रोजगार कार्यक्रमको तयारी गरेको र तीनवटै कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सकेसम्म युवाहरुलाई गाउँमै रोक्ने तयारी थालिएको बताएका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिकाका २६ घर दलित समुदायका युवा युवतीहरुले वडा नं. ६ को २ किलोमिटर सडक निर्माण सम्पन्न गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ९ लाख बजेटले गोरेटो बाटो निर्माण गरिएको छ । गरिव समुदायका लागि यस्ता कामहरु निकै प्रभावकारी भएको स्थानीय रामबहादुर बि.कले जानकारी दिएका छन् ।
उनले भने २६ घरका सबैले बरावरी काम गरेका छौं । काम सकियो भने सवैले बरावरी रकम बाँड्छौं एक घरलाई न्यूनतम ४० हजार रकम भाग परेपनि बर्षभरी खाने अन्न व्यवस्थापनमा सजिलो हुने बि.क.को भनाई छ ।
लकडाउन अवधिममा दैलेखमा करिव १७ हजार जनशक्ति भारतबाट दैलेख आएका छन् ।
भारतबाट घर फर्किएका अधिकाँस युवाहरुलाई गाउँमै रोजगारी दिने कार्यक्रमहरु स्थानीय पालिकाहरुले ल्याउन सके युवा जनशक्ति जिल्लामै रोकिने देखिन्छ ।











