धमाका संवददता ः भाद्र ५ गते
दैलेख जिल्लाको मुख्य सदरमुकाम केन्द्र रहेको नारायण नगरपालिका दैलेखमा एकै दिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । दैलेखको एउटा टोलमा एक्कासि कोरोना सङ्क्रमितको संख्या बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । दैलेखको आठवीस नगरपालिकामा पनि ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत र दैलेख प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा दैलेखमा एकै दिन १८ जनामा सङ्क्रमण देखिएको छ ।
अवस्था चिन्ताजनक भएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना रोकथाम तथा विपद् व्यवस्थापन समितिको बैठकको निर्णयबाट निषेधाज्ञा जारी गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिएका छन् ।
सदरमुकामको एउटा टोलमा ११ जनामा सङ्क्रमण देखिनु र हरितालिका तीज नजिक आउनुले जिल्लाभर झनै सङ्क्रमण बढ्ने कुरालाई मध्यनजर गर्दै एक्कासि निषेधाज्ञा जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
बिहीबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । बजार सुनसान छ । प्रहरीले बजार क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । कोरोना रोकथाम तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
दैलेख जिल्लाका सबै नाकाहरूमा आवतजावतमा रोक लगाइएको छ । अति आवश्यक सेवा बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ ।
हरितालिका तीज सँगै मानिसहरूको भिडभाड देखिन सक्ने भन्दै आम नागरिकहरूलाई सजग रहन जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ । दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म ९ सय ८३ जना पुगेको छ । निको भएर घर जानेहरूको सङ्ख्या ९ सय ३८ रहेको छ । कोरोना सङ्क्रमणका कारण दैलेखमा तीन जनाको मृत्यु भैसकेको छ ।

निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षाका लागि हो प्र.जि.अ.

दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले दैलेखका आम नागरिकहरूको सुरक्षाका लागि निषेधाज्ञा घोषणा गर्नुपरेको बताएका छन् । धमाका दैनिक सँगको कुराकानीमा बोल्दै सुनारले चाडपर्व आएको छ, किनमेल पनि भएको छ, हिजो देखिनै समस्यामा परेका व्यापारीहरूलाई केही समस्या होला तर जसरी कोरोना सङ्क्रमण एकै दिन एउटै टोलमा देखियो त्यो विषय गम्भीर हो । हामी समयमै सचेत भएनौ भने कुनै स्थान भोलि कोरोना उत्पादन केन्द्र बन्न सक्छ । त्यतीवेला ठुलो समस्या बेहोर्नुभन्दा अहिले सतर्कता अपनाउनु राम्रो हो ।
कोरोनाको विश्वव्यापी महामारीलाई आम जनताहरूले सचेत भएर विजय प्राप्त गर्ने हो, त्यसका लागि सामाजिक दुरी अनिवार्य कायम गरिदिनुपर्ने छ । साबुन पालिने मिची मिची हात धुनुपर्ने छ । मास्क अनिवार्य लगाउनुपर्ने छ । यती काम गर्न सक्यो भने हामीले कोरोना जित्न सक्छौँ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले एस एम एस अभियान सुरु गरेकोले आम नागरिकहरूले यो अभियानमा साथ दिनुपर्ने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको भनाई छ ।
पहिलो एस भनेको सामाजिक दुरी कायम गर्ने हो । दोस्रो एम भनेको मास्क अनिवार्य लगाउने हो तेस्रो एस भनेको सेनिटाइज गर्ने हो । कम्तीमा दैनिक ५ पटक सम्मा साबुन पालिने हात धुने , सेनिटाईजर उपलब्ध भएका स्थानका नागरिकहरूले अनिवार्य सेनिटाईजरको प्रयोग गर्ने बारेमा अभियाननै थालनी गरिएको प्रजिअको भनाई छ ।
दैलेख पहिलेदेखिनै रेडजोनमा परेको जिल्ला हो यसको रोकथामका लागि पहिलेदेखिनै गरिएका प्रयासहरु निकै प्रभावकारी छन् भए र अव पनि हामीले रोकथामका लागि प्रभावकारी कदम चाल्नु अहिलेको आवश्यकता हो । भोलिका दिनहरुमा समस्या नआओस् भनेर हामी सचेत छौँ ।
विशेष गरेर तीज पर्वले झनै सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकोले हामीले निषेधाज्ञा जारी गरेका हौँ । तीज पर्व छ स्वाभाविक रूपमा हामी दर खान सबै घरमा जान्छौँ, यो बेला रमाइलो गर्ने बेला हो । सांस्कृतिक पर्व हो । तर सबै कुरा गर्नु पूर्व जनता बाँच्ने र बचाउने कुरा महत्वपूर्ण हुन्छ । जनता बाँचे भने भोलि रमाइलो गरौला, व्यापार व्यवसाय गरौँला त्यसैले हरेक दैलेखका नागरिकहरू यो बेलामा सचेत हुनुपर्ने छ । निषेधाज्ञा हाम्रो बाध्यता हो जनताले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता हो । सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गरिएको छ । तोकिएको स्वास्थ्य मापदण्ड विपरीत काम गर्ने र निषेधाज्ञा उलङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही हुने भएकोले सबैले सचेत हुनुपर्ने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।











