निजी विद्यालयमा छोराछोरी पढाउने ३० जनालाई जरिवाना तोकेर पालिकाले पठायो पत्र

 

दैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोरा छोरी पढाएका तीस जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिका भरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना तीर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँ सभाबाटै पारित गरिएको थियो ।
गाउँसभाले पारित गरेको नीति विपरित काम गरेका ३० जनालाई जरिवाना तोकेर पालिकाले पत्र पठाएको छ । पालिकाको पत्रमा पालिकाको नीति उलंघन गरेको भन्दै दश हजार जरिवाना समेत तोकिएको छ ।
आर्थिक वर्ष ०७६ । ०७७ मा कार्यान्वयन गर्ने गरी नीति लागू गरिएको थियो । करिव एक सय जना सरकारी कर्मचारीहरुलाई हामीहरुले गाउँपालिकाले नीति पारित गरिसकेको भन्दै छलफल गरेका थियौं, त्यसमध्ये करिव ७० जनाले सरकारी विद्यालयमा पठन पाठन सुरु गरिसक्नुभएको छ बाँकी ३० जनालाई पत्र काटिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलिले जानकारी दिएका छन् । मेरै बच्चाहरु निजी विद्यालयमा थिए, गाउँ सभाका सदस्यहरुले बहुमतले नीति नै पारित गरेपछि म बाटै सरकारी विद्यालयमा छोराछोरी पढाउन सुरु गरें अभियान निकै प्रभावकारी छ ।
हामीले सरकारी विद्यालयहरुमा पनि निजी विद्यालय सरहरुको सुविधा, भौतिक संरचना र शिक्षकहरुको पढाई व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिएका छौं ।
गाउँपालिकाबाट लाभको पद धारण गर्ने जनप्रतिनिधिहरु र सवै कर्मचारीहरुका लागि नियम अनिवार्य छ । अन्य सरकारी कर्मचारीहरुले समेत यो नियम मान्नुपर्ने कानुन पालिकाले पारित गरिसकेकोले हामीले कार्यान्वयन मात्र गरिदिएको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार