दैलेख आत्मनिर्भर बनाउने साझा प्रयासः वृहत्तर उत्पादन, एकीकृत बजार र वंैक स्थापना


दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, पुरातात्वीक, साँस्कृतिक, प्राकृतिक रुपमा अब्बल धनि जिल्लामा पर्दछ । २८ वटा जातजातीको उदगम स्थल, पंचकोषी तिर्थ स्थल, खानी, पानी र जडिवुटिमा समेत धनि जिल्लामा पर्दछ दैलेख । दैलेखको सारभूत परिचय यो भन्दा धरै दिनु पर्ने आवश्यक छैन किनभने हामी सबै यस विषयमा जानकार नै छौ ।
तथापी दैलेख जिल्लाको भौतिक विकास, शैक्षिक विकास र आर्थिक विकासलाई शूक्ष्म रुपमा अध्ययन गर्ने हो भने जति विकास हुनु पर्दथ्यो त्यती विकास नभएको हो । यस विषयमा दैलेखका सर्वपक्षिय अगुवाहरुले दीर्घकालीन साझा सोच बनाउन आवश्यक छ ।
विषयको केन्द्रीकरण
नेपाल सरकारका तीनवटै अंगहरु (स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार), दातृ निकायहरु, विभिन्न सहयोगी संघ÷संस्थाहरुको साझा प्रयासबाट २०६६ सालदेखि दैलेखलाई उद्यमशीलता र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने सकारात्मक प्रयास जारी रहेको छ । यसै सन्दर्भमा शुरुमा लघु उद्यम विकास कार्यक्रम र अहिले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम माफर्त दैलेखलाई ‘लघु औद्योगिक हव’ बनाउने क्रमले तिव्रता पाएको छ । लघु उद्यमका क्षेत्रमा दैलेख जिल्ला ७७ वटै जिल्लामध्ये राम्रो काम गरि राम्रो परिणाम निकाल्ने जिल्लामा पर्दछ ।


हाल दैलेख जिल्लामा आजसम्मको अवस्था हेर्दा झण्डै ९ हजार जना लघु उद्यमीहरु श्रृजना भएकाछन । ती मध्ये झण्डै ८५ प्रतिशत लघु उद्यमीहरुले सफतापूर्वक आ–आफ्ना लघु उद्यमहरु संचालन गरी आत्मनिर्भर बन्न सफल भएकाछन । स्थानीय साधन र स्रोत, आफ्नै सीप र जाागर तथा थोरै लगानी गरेर आफु लगायत समाजलाई समेत आत्मनिर्भर बनाउन सफल भएकाछन । १० प्रतिशत लघु उद्यमीहरु साना उद्योगीमा रुपमान्तरण भईसकेकाछन भने ५ जना लघु उद्यमीहरु मझौला उद्योगमा रुपान्तरण भई कर्णाली प्रदेश कै नमूना उद्योग स्थापना गर्न सफल भएकाछन । दैलेखका लघु उद्यमीहरुले उत्पादन गरेका केही वस्तुहरु सिस्नो पाउडर, अल्लोको धागो र नेपाली हाते कागज विश्व बजारमा बजारीकरण भईरहेकाछन । यस परिणामले के बताउँदछ भने दैलेखका करिब ९ हजार घर परिवार पूर्ण रुपमा आत्मनिर्भर बन्न सफल भएकाछन । लघु उद्यम मार्फत ६० प्रतिशत ब्यवशायिक कृषकहरु, १० प्रतिशत बनमा आधारिक लघु उद्यमीहरु, १० प्रतिशत सेवामा आधारित लघु उद्यमीहरु र अन्य विषयका लघु उद्यमीहरु अहिले आ–आफ्ना लघु उद्यम मार्फत स्वरोजगार बनिरहेकाछन । कूल जम्मा ५५ हजार जना अहिले लघु उद्यम मार्फत स्वरोजगार बनिरहेकाछन ।
लगानी र नाफाका दृष्टिकोणले लघु उद्यमहरुको अवस्था हेर्ने हो भने दैलेखका लघु उद्यमीहरुले २ अरब ७० करोड जति पूँजी लगाएको अवस्था छ । ९ हजार लघु उद्यमीहरुले वार्षिक सालाखाला १ अरब ८ करोड नाफा लिन सफल देखिन्छन । यो नाफा त्यहीको स्थानीय स्रोत, साधन र सीप भएकाले जिल्ला कै पूर्ण आम्दानी हो भन्नुमा दुई मत नहोला । यस विषयमा यति नै चर्चा गरौं ।
अभियानको सन्दर्भ


दैलेख जिल्लालाई थप आत्मनिर्भर, स्वरोजगार बनाउन यति खेर जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेडले नयाँ अभियानको प्रारम्भ गरेको छ । जसका तीन वटा कार्यहरु रहेकाछन ।
क) उत्पादनः जिल्ला लघु उद्यमी समूह संघमा अहिले ८ हजार लघु उद्यमीहरु आवद्ध रहेकाछन भने सहकारीमा ३६८ जना महिला लघु उद्यमीहरु आवद्ध रहेकाछन । यी मध्ये ७० प्रतिशत जति लघु उद्यमीहरु ब्यवशायिक कृषि पेशामा आवद्ध रहेकाछन । दैलेख जिल्लाको मूख्य आम्दानीको स्रोत कृषि भएकाले लघु उद्यम मार्फत संचालित कृषि फर्महरुलाई थप स्तर उन्नती गर्न, उत्पादनको परिमाण बढाउन एकीकृत अभियान थालिएको छ । दैलेखका ११ वटै स्थानीय तहमा सहकार्य गरी कृषि पेशालाई व्यवसायिक बनाउन र अबको ३ वर्षमा दैलेखलाई कृषि उपजमा आत्मनिर्भर बनाउन यो अभियान शुरु भएको हो । अभियानको मूल उद्देश्य श्रमलाई जमिनमा जोडने, ब्यवशायिक कृषि प्रणालीलाई सारभुत रुपमा नै सफल बनाउने र दैलेखका युवाहरुलाई विदेशनबाट जोगाउने नै हो । दैलेखमा अवको ३ वर्षमा ४५ सय कृषि फर्महरु साना उद्योगको रुपमा रुपान्तरण गर्ने, २५ हजार लघु उद्यम फर्महरु स्थापना गर्ने, ११ वटा पालिका स्तरीय औद्योगिक ग्राम स्थापना गर्ने, १ वटा जिल्ला स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने र एक वडा १ संकलन केन्द्र तथा हाटबजार संचालन गर्ने अभियानको मुल उद्देश्य रहेको छ । जसका कारणले वार्षिक करिब १० अर्व बराबरको माल उत्पादन हुनेछ । यो उत्पादनमुखी अभियानमा सहकारीहरु, समूह र अगुवा कृषकहरुलाई अगुवाईको भूमिका निर्वाह गर्न र लगानी लगाउनका लागि उत्प्रेरणा र आवश्यक सहयोग, सहकार्य हुनेछ ।
ख) दीगो बजार ब्यवस्थापन ः दैलेख जिल्लाको उत्पादन जे जति हुने गरेको छ, उक्र उत्पादनको भरपर्दो र एकीकृत बजार ब्यवस्थापन नहुँदा उद्यमी, किसानहरु समस्यामा परेकाछन । समस्यामा मात्र होईन, ब्यशायिक कृषि पेशामा संलग्न नहुने र भएकाहरुले पनि कृषि पेशा त्याग्ने गरेकाछन । यसका लागि दीगो बजार ब्यवस्थापन नै प्रमूख विषयम हो । यहि कुरालाई आत्मसाथ गर्दै जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड दैलेखले एकीकृत दीगो बजार ब्यवस्थापनको अभियान शुरु गरेको छ । दैलेखका लघु, कृषि उद्यमीहरुले उत्पादन गरेको बजारको शुनिश्चितता गर्नका लागि ‘दैलेख सौगात गृह’ संचालनको अन्तिम तयारीमा रहेको छ । दैलेख सौगात गृहको मूख्य उद्देश्य लघु, किसान उद्यमीहरुले उत्पादन गरेका सम्पूर्ण वस्तुहरु खरिद गर्ने, ती उद्यमीहरुलाई आवश्यक पर्ने मेसिन, औजार प्रविधि, कच्चा पदार्थ सुलभ दरमा उपलब्ध गराउने, उद्यमी, किसानहरुलाई प्राविधिक सेवा, ब्यवसायिक योजना निर्माण, दैलेख सौगात गृहलाई लिमिटेड कम्पनीमा रुपमान्तरण गरी स्थानीय स्रोत र साधन प्रयोग गरी दैलेख जिल्लाको सबैभन्दा ठूलो प्रसोधन केन्द्रका रुपमा स्थापन गर्ने लक्ष्य रहेको छ । प्रसोधन केन्द्र भन्नुको तात्पर्य जस्तै खुर्सानी, काउली, मूलाको अचार बनाउने, टमाटरको सस बनाउने, आँप, अम्बा लगायतका वस्तुको जुस बनाउने ।
यति मात्र होइन, खरिद बिक्री सम्झौता गर्नु पूर्व किसान र उद्यमीहरुलाई वार्षिक वालिपात्रोको खाका उपलब्ध गराउने र किसानले कुन महिना कति परिमाणमा उत्पादन गर्न सक्छ, के के उत्पादन गर्न सक्छ ? आफै स्वघोषणा गरे पछि मात्र दोहोरो खरिद विक्री सम्झौता गर्ने अभियान संचालन गरिएको छ ।
ग) वैंक स्थापनाः माथिका दुईवटा कार्य गर्नका लागि पूँजीको ठूलो आवश्यकता पर्दछ । तसर्थ दैलखका आम नागरिक, उद्यागी, ब्यापारीहरुको साझा प्रयासबाट दैलेखमा नै केन्द्रीय कार्यालय हुने गरी वंैक स्थापना गर्ने कार्य पनि अघि बढेको छ । अबको ढिलोमा ३ वर्षमा वैक स्थापना हुँदैछ । यो बैक स्थापना गर्नुको मूल उद्देश्य गाउँका किसान र लघु उद्यमीहरुलाई सहज र सुलभद ब्याजमा ऋण उपलब्ध गराई उद्यम र कृषि पेशलाई दीगो बनाउनु रहेको छ । अहिलेको सन्दर्भमा उद्यम स्थापना, स्तरोन्नती, ब्यवसायिक कृषि गर्नका लागि आवश्यक पर्ने ऋण गाउँको जग्गा धितो राखेर ऋण माग गर्दा कुनै पनि वैंकले नपत्याएको अवस्था छ । अपवादको रुपमा, त्यो पनि अति चर्को ब्याजमा मात्र ऋण पाएको अवस्था छ । यो अवस्थालाई चिरफार गर्न गाउँका उद्यमी, किसानले ऋण माग गरेको ७ दिन भित्र ऋण उपलब्ध गराउने, सुलभ दरमा, परियोजनाका आधारमा ऋण उपलब्ध गराउने उद्देश्यका साथ वैंक स्थापना गर्न लागिएको छ । जसको नेतृत्व र अगुवाई जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड नारायण नगरपालिका, दैलेखले गरिरहेको छ ।


निश्कर्षः
कुनै पनि काम गर्नलाई पहिला ज्यूँदो सपना देख्नु पर्दछ, त्यो सपनालाई साकार पार्न भरपर्दो समूहको आवश्कता पर्दछ र समूह भएर मात्र होइृन, दीर्घकालीन सोच, ठोस कार्य योजना, दृढता आवश्क पर्दछ । दैलेख जिल्लाका ९ हजार लघु उद्यमी तथा किसानहरुले यहि ठोस कार्य योजना, दृढ संकल्प र ज्युँदो सपना देखेर अघि बढेको अवस्था छ । कार्य गर्दा समाजले अनेक प्रकारले सोच्ने गर्दछ, सकिन्छ वा सकिन्न, सफल भईन्छ वा भईन्न ? आदि तर्कहरु उब्जने गर्दछन तर यर्थातमा सकिन्छ भन्ने नै हो । हामी सबैले साझा योजना बनाएर आवश्यकताका आधारमा अघि बढने हो भने सम्भव छ ।
यसका साथै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लघु उद्यमी, किसानहरुको पक्षमा छ । हामी लघु उद्यमी तथा किसानहरुले अघि बढाएको कदमलाई नेपाल सरकारले अवश्य पनि सहयोग गर्नेछ । अभिभावकत्व प्रदान गर्नेछ । कानुनी वैधता सहित अबको तीन वर्ष पछि दैलेख जिल्ला पूर्ण रुपमा नभए पनि अहिले अवस्थाभन्दा कम्तिमा ५० प्रतिसत बढि रुपमा आत्मनिर्भर बन्नेछ, गाउँका किसान, उद्यमीहरुले सहज रुपमा र परियोजना तथा गाउँको जमिन धितो राखेर सुलभ ब्याजमा आवश्यकता अनुसारको ऋण पाउनेछन भने दैलेखको उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजार मूल्य श्रृखलाको आारमा बजारीकरण हुनेछ । यसका लागि जिल्ला लघु उद्यमी समूह संघ र आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्थाले हाल अगुवाई गरे पनि १ वर्ष पछि दैलेखका सम्पूर्ण सहकारी, समूहहरु, उद्योग वाणिज्य संघ लगायतका संस्थाहरु पनि जोडिनेछन । नेपाल सरकारले यो कार्यको अभिभावकत्व प्रदान गर्नेछ । हामी लघु उद्यमीहरुले यहि आषा र भरोसाका साथ दैलेखमा महाअभियान संचालन गरिहेकाछौं ।
कविराज खत्री
(अध्यक्ष)
जिल्ला लघु उद्यमी समूह संघ, दैलेख
साथै उहाँ राष्ट्रिय लघु उद्यमी महासंघ, केन्द्रीय समितिको कार्यवहाक अध्यक्ष र कर्णाली प्रदेशको पनि अध्यक्ष हुनुहुन्छ ।
सम्पर्कः ९८६७३६३८५५

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार