पुस १२, दैलेख
नेकपाको पार्टी विभाजनको असर दैलेखमा पनि परेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलिले संसद् बिघटन गरेको विषयलाई लिएर देशभर भिन्न भिन्न खाले प्रर्दशनहरु सुरु गरिएका छन् ।
नेपाली काँग्रेस दैलेखले आज बृहत् प्रदर्शन सहितको विरोध कार्यक्रम आयोजना गरेको छ । हामीले वर्तमान अवस्थामा प्रधानमन्त्रीले चालेको कदम, निरङ्कुश शैली लगायतका विभिन्न विषयहरूलाई राखेर आन्दोलनको तयारी गरेका छौँ । नेपाली काँग्रेसलाई सुतेको छ भन्नेहरूका लागि आजको जनमतले स्पष्ट पार्ने नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्णकुमार बि.सी.ले जानकारी दिएका छन् ।
दैलेखमा नेकपा विभाजनको रुप
दैलेखमा नेकपा विभाजित भएको अवस्थामा देखिएको छ ।
औपचारिक रूपमा केन्द्र देखि जिल्ला तहमा नेकपा विभाजनको घोषणा नभएको भए पनि अहिले दैलेखमा प्रचण्ड –माधव नेपाल समूहको तीब्र दौडधुप चलेको छ । विशेष गरेर माधव नेपाल समूहका उच्चतम नेताका रूपमा रहेका अमरबहादुर थापा, टेकबहादुर खाण लगायतका नेताहरूको दौडधुप तीव्र देखिएको हो ।
प्रधानमन्त्री के.पी. शर्मा ओलिले संसद् विघटनको विषयलाई लिएर विरोधमा उत्रेको प्रचण्ड नेपाल समूहले दैलेखमा मङ्गलवार बृहत् प्रदर्शनको तयारी थालेको छ । प्रत्येक वडाबाट ५ सय जनाको उपस्थितिको लागि निर्देशन गरिएको एक नेताले जानकारी दिएका छन् । अहिले दैलेखका ११ वटै पालिकाका प्रचण्ड नेपाल निकटका नेताहरू जिल्ला सदरमुकाम केन्द्रित भएका छन् । ओल्लो घरबाट पल्लो घरमा कसलाई लिन वा ल्याउन सकिन्छ भन्ने कसरत निकै चलेको देखिन्छ ।
प्रचण्ड निकट मानिएका नेकपा दैलेखका पार्टी सचिव प्रेम कटुवालले प्रधानमन्त्रीले चालेको कदमको विरुद्धमा दैलेखमा बृहत् प्रदर्शनको तयारी गरिएको बताएका छन् ।
१४ गते हुने प्रदर्शनका लागि जिल्लाभर सबैलाई जिम्मेवारी तोकिएसँगै पत्रकार सम्मेलन गरेर जानकारी गराइएको कटुवालले बताए ।
प्रचण्ड नेपाल समूहका पत्रकारहरूको समेत प्रचार समिति निर्माण गरेर काम थालनी सुरु गरिएको छ । अमर सुनारको संयोजकत्वमा ५ सदस्यीय पत्रकारको टोली समेत निर्माण भएको छ ।
ओली पक्षका नेताहरू मध्येका धेरै जसो नेताहरू केन्द्रीय सदस्यमा मनोनीत भएपछि काठमाडौँ केन्द्रित छन् ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले अहिले जिल्लामा ओली समूहको नेतृत्व थामेका छन् । पूर्व एमालेका उपाध्यक्ष समेत रहेका थापालाई अध्यक्षको रूपमा हेरिएको छ । ओली निकटका कार्यकर्ताहरू संयम भएरै प्रस्तुत भएको प्रेम थापाले जानकारी दिएका छन् । हामी जिल्लामा कुनै ठुलो समस्या नआओस् भनेर दुवै पक्षका नेताहरूलाई संयमता अपनाउन अनुरोध गरेका छौँ । जसलाई जुन स्थान मन पर्छ छान्न पाउने अधिकार छ तर एकले अर्कोलाई अनावश्यक रूपमा विरोध नगर्ने सबै तहका नेताहरूलाई आग्रह गरेको थापाले बताए ।
अनावश्यक करकापमा नफस्न पार्टी अध्यक्ष शर्माको आग्रह
नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले अनावश्यक रुपमा कसैले करकाप गरेर भेला वा आमसभामा उपस्थित गराएमा उपस्थित नहुन आफूले रेडियोबाटै सूचना प्रवाह गरिसकेको बताए । नेकपालाई मन पराउने र जनताको बहुदलीय जनवाद र सूर्य चिन्ह चाहने कुनैपनि कार्यकर्ताहरु बिचलिन नहुन आग्रह गरेको शर्माको भनाई छ ।
नेकपा दैलेखमा दुवै पक्षको रस्साकस्सीले कार्यकर्ताहरुमै अन्यौलता देखिएको छ । दुवै पक्ष एक आपसमा खिचातानी गरिरहँदा नेपाली काँग्रेस दैलेख भने चुनाव भएमा दैलेखका ११ वटै पालिकामा आफ्नो विजय निश्चित भएको भन्दै आन्तरिक रूपमा कसलाई टिकट प्रदान गर्दा सहज हुन्छ भन्ने गणित गर्न तयार रहेको देखिन्छ ।










