कोरोनाका कारण विज्ञ टोलि नेपाल आउन सकेन राजनीतिक उत्तार चढावले समस्या हुने चिन्तामा उद्योगी


पुस २२, दैलेख
नेपालकै गौरवको आयोजना मानिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम कोरोना महामारीका कारण रोकिएको छ ।
२०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामको पहिलो चरण सम्झौता अनुसार दशै अघि सकिएको थियो । दशै र तिहार लगत्तै दोस्रो चरणको उत्खनन्को कार्य सुरु गर्ने तयारी भएको थियो तर कोरोना संक्रमणको दर बढ्दै गएपछि चीनिया विशेषज्ञ टोलि नेपाल आउन सकेन त्यसैले परियोजनाको समयनै एक वर्ष थप्नुपर्ने अवस्था आएको खानी तथा भूगर्भ विभावका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।
नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता अनुसार चीनको टोलि दैलेख आएर पहिलो चरणको काम सम्पन्न गरेको छ ।
पहिलो चरणको कामको सकारात्मक सन्देश
नेपाल सरकारसँगको सम्झौताअनुसार चीनको प्राविधिक टोलीले पहिलो चरणमा बिभिन्न चारवटा सर्वेहरु गरेको थियो ।
साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिसकेको र सबै सर्वेको रिपोटको अध्ययन कार्य सम्पन्न भैसकेको जानकारी चीनबाट प्राप्त भएको खानी तथा भू–गर्व बिभागले जनाएको छ ।
पहिलो चरणको सर्वेलाई बिश्लेषण गर्ने हो भने पनि दैलेखकै भू–भागमा पेट्रोलियम पदार्थ रहेको अनुमान गर्न सकिने आधारहरु देखिएका छन् । थप अनुसंन्धान पछि सबै कुरा स्पष्ट हुने देखिएको छ । टोलिले पहिलो चरणमा करिव ३ हजार बढी स्थानहरुमा ड्रिलिङ्ग गरेर जमिनभित्र तरंग पठाएर त्यसको रकेर्ड मापन गरिसकिएको छ । सो रेकर्डका आधारमा सम्भावित स्थानमा अव ठूलो मेसिन मार्फत ड्रिलिङ्गका कामहरु हुने तयारी थालिएको थियो । कोरोनाको संक्रमण कम हुने बित्तिकै टोलि नेपाल आउने जानकारी प्राप्त भएको डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।
दशैँ अगाडि जुन अवस्थामा अन्वेषणको काम रोकिएको थियो, अहिले पनि त्यही अवस्थामा छ । चीनको प्राविधिक टोलीलाई चीन सरकारले आउन अनुमति दिई नेपल आएको खण्डमा तत्कालै दैलेखमा काम सुरु हुने त्रिपाठीको भनाई छ ।
राजनीतिक उत्तार चढावले समस्या हुने चिन्तामा उद्योगी
दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना निकै धेरै भएकोले अवको दुर्ईवटा सर्वेपछि ठोस निश्कर्ष आउने कुरामा दैलेखका आम नागरिकहरु आशाबादी रहेका छन् ।
दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बि.क.ले दैलेखका लागि मात्र नभै कर्णाली र नेपालका लागि गौरवको आयोजना भएकोले अहिलेको राजनीतिक उतार चढावले समस्या हुने हो कि भन्ने चिन्तामा जिल्लाबासीहरु रहेको बताएका छन् । दैलेखको अन्वेषण कार्य कुनै हालतमा रोकिनुहुदैन् निश्कर्षमा पुग्नु पर्दछ । बिकको भनाई छ ।
आफुहरु आशावादी रहेको दैलेख उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शान्ति शर्माले बताए । शर्माले भने “तेल लिन रक्सौल जाने गाडीहरु दैलेख आएर तेल भरेर नेपालका बिभिन्न जिल्लामा जान थालेको हेर्न सारा नेपाली आतुर छौं, सरकारले जुन रुपमा यसलाई महत्व दिएको छ अँझै प्रभावकारी रुपमा निश्कर्षमा निश्कने काम गर्नुपर्दछ । ”
यहाँको धार्मिक पर्यटकिय क्षेत्रलाई सँग सँगै बिस्तार गरेर अगाडी बढ्नुपर्ने सुझाव शर्माको छ ।
नेपालमा संविधान जारी भए लगत्तै भारतले नेपालमा नाकाबन्दी लगाउँदा तत्कालिन समयमा प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीनभ्रमणमा गएको बेला दैलेख लगायत नेपालका अन्य जिल्लाहरुमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । अहिलेको राजनीतिक खिचातानीले यस्ता गौरवका आयोजनाहरुका कामहरु रोकिने हुन् कि भन्ने चिन्तामा जिल्लाबासिहरु रहेका छन् ।
प्रतिनिधि सभाका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य रबिन्द्रराज शर्माले कोरोनाकै कारण गौरवको आयोजनाको काम रोकिएको हो । अन्य जस्तो सुकै अवस्थामा पनि यो काम रोकिदैन् । दैलेखमा रहेको पेट्रोलियम ग्याँसको भण्डारणको परिमाण पत्ता लगाउने काम सुरु भएको छ , धेरै भए उत्खनन् हुन्छ थोरै रहेछ भने यो क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्र घोषणा गरेर सरकारले काम थालनी गर्छ । शर्माको भनाई छ ।
दैलेखमा सयौँ वर्षदेखि ज्वाला बल्दै आएका शिरिस्थान, नाभिस्थान, पादुका, तल्लो डुंगेश्वर लगायत क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम सुरु गरेको छ । दोस्रो चरणको अन्वेषणपछि मात्र परिमाणको कुरा पत्ता लगाउने सकिने बिज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार