
फागुन ६, दैलेख
दैलेखमा पछिल्ला दिनहरुमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको भन्दै नागरिक समाजले दुरुपयोग रोक्न अपिल गरेको छ ।
दैलेखमा उपलब्ध नागरिक समाजसँग आवद्ध बिभिन्न निकायका व्यक्तिहरुको छलफलबाट यस्तो निर्णय गरिएको हो ।
पछिल्ला दिनहरुमा राजनीति गतिविधि सँगै शनिवार पनि सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै नेपाल बार, पत्रकार, उद्योग वाणिज्य संघ लगायतमा आबद्ध अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय दैलेखमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेका छन् ।
सुन्दर नेपाल संस्थाले आयोजना गरेको सुशासन र पैरवी बिषयको बहसमा बोल्दै जिल्लाका अधिकारकर्मीहरुले सार्वजनिक सम्पतीको दुरुपयोग सँगै प्राकृतिक स्रोत साधनको दुरुपयोग पनि दिनप्रतिदिन दैलेखमा बढ्दै गएको बिषयमा पनि जिल्ला प्रशासन कार्यालय दैलेखले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
स्थानीय सरकारहरुले पछिल्ला दिनहरुमा डिपिआरको नाममा करोडौं रकम अपचलन गरेका छन्, कोभिडमा खर्च गरिएका रकमहरु सार्वजनिक गर्न सकेका छैनन्, सुशासन र पारदर्शीताका बारेमा गम्भिर छैनन् यस्ता धेरै बिषयहरुका स्थानीय सरकारले जिम्मेवारीता प्रर्दशन गर्न नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।
बिभिन्न खाले अनियमितताका समाचारहरु स्थानीय र राष्ट्रिय सञ्चार माध्यमहरुमा आउने गरेको भएपनि जिल्ला प्रशासन कार्यालयले यसवारेमा खोजी नगरेको र अनुसन्धान नथालेकोमा दुःख व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता बिषयमा सम्बन्धित निकायहरु गम्भिर हुनुपर्ने सुझाव दिइएको छ ।
हरेक जिल्लामा प्रतिष्ठित व्यक्तिहरुको सम्पती कति छ, आर्जन गरेको स्रोत के हो भनेर मात्र खोजी गर्ने अभियान जिल्ला जिल्लामा लागू गर्न सकेको खण्डमा सुशासन कायम हुने र भ्रष्टाचार न्यूनिकरणमा सहजता हुने बारेमा पनि जिल्लास्तरमा छलफल गरिएको छ ।
दैलेखमा गठन भएको भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी केन्द्रलाई सक्रिय गराउने बारेमा पनि छलफल गरिएको छ । छलफलमा नेपाल बारका अध्यक्ष माधव अधिकारी, अधिवत्ता छवि सुवेदी, उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेश हमाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्री, पत्रकारहरु बिष्णु शर्मा, यज्ञराज थापा, हिक्मत नेपाली, दुर्गा गिरी, सविना बिक लगायतको उपस्थिती रहेको थियो ।









