मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदानः राष्ट्रपति


काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताएकी छन् ।
संगित महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उनले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गरीन ।
राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता हो भनीन् । उनले नातिकाजी नेपाली सांगीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको र उहाँको विशिष्ट पहिचान भएको बताइन् रेडियो नेपालको स्थापनासँगै नातिकाजी उदाउनुभएको हो, उनले भनीन्, नातिकाजीद्वारा सिर्जित राष्ट्रिय भावका गीतको जगेर्ना गर्नु अति आवश्यक छ । राष्ट्रपति भण्डारीले नातिकाजीको सिर्जनाले कर्मक्षेत्रमा लागिरहन थप प्रेरणा मिल्ने छ भनिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले विभिन्न स्रष्टाहरुलाई दोस्सला ओढाएर कदरपत्र तथा नगद्वारा सम्मान गरीन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान, २०७६ बाट सम्मानित हुनेमा वरिष्ठ गीतकारद्धय बालकृष्ण सजिव र चुडामणि देवकोटा, वरिष्ठ तवलावादक राजु अग्रवाल, वरिष्ठ संगीतकार सुनिल मास्के, राजु सिंह, मदनसिंह नेपाली, मनोहर सुनाम, प्राज्ञ शान्तिराम राई र महेश खड्का हुनुहुन्छ ।
त्यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका प्राश्ना शाक्य, गायक एंव संगीतकार चेतन सापकोटा, गीतकार दयाराम पाण्डे तथा गायक एंव संगीतकार सुगम पोख्रेल छन् । यसैगरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका मेलिना राई, संगीतकार एंव गीतकार बसन्त सापकोटा, गायक सुरजकुमार थापा तथा गीतकार हर्क साउद छन् ।
त्यस्तै नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कारबाट संगीतकार, संगीत संयोजक तथा वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट विदुर गिरी र श्याम स्मृत, नातिकाजी राष्टिूय शास्त्रीय संगीत पुरस्कारबाट शास्त्रीय संगीत साधक विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कारबाट लोक गायक बद्री पँगेनी र नातिकाजी राष्ट्रिय सम्मान पुरस्कारबाट नवराज केसी र जारा प्रसाइ सम्मानित भएका छन् ।
यसैगरी नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७६ बाट नोर्वु छिरिङ लामा सम्मानित भएका छन् ।
सो अवसरमा बाल गायिका जारा प्रसाईं, सुगम पोखरेल, प्राश्ना शाक्य, मेलिना राई र सुरज थापाले आ–आफ्नो सांगीतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नातिकाजी स्मृति समाजका अध्यक्ष एवं वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ संगीतकार प्रेमध्वज प्रधान, गीतकारद्धय किरण खरेल र राजेन्द्र थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार