घरैपिच्छे व्यवसायिक तरकारी खेती


फागुन २०, दैलेख
जिल्लाको आठबिस नगरपालिका–३ कुमालखाडा गाउँमा तरकारी खेतीतर्फ महिलाको आकर्षण बढेको छ । चुलोचौकोमै सिमित यहाँका महिलाहरु व्यावसायिक तरकारी खेतीतर्फ जुटेका हुन् । तरकारी परम्परागत गुजारामुखी खेतीपाती गर्ने प्रचलनले वर्षभरी खान नपुग्ने र सानोतिनो खर्चका लागि अरूकै मुख ताक्नुपर्ने अवस्थाबाट महिलाहरू मुक्त हुन् व्यवसायिक तरकारी खेतीमा लागिपरेको यहाँका महिलाहरु बताउँछन् ।
स्थानीय सपना शाही भन्छिन् ‘अहिले टमाटर, काउली, आलु, बन्दा खेती गरिरहेका छांै, तरकारी खेतीबाट आम्दानी बढ्न थालेपछि खुसी छांै ।’ उनले हामीले समुह गठन गरेर तरकारी खेती गरिरहेको बताइन् ।
यही गाउँकी नानी कार्कीको दिनचर्या आजभोली बारीमै बित्ने गर्छ । हाल उनी बारीभरी लगाएको तरकारी खेतीको स्याहार सुसार गर्दैछिन् । उनी टमाटर, आलु लगायतका तरकारी गोडमेल र पानी हाल्न व्यस्त हुन्छिन् । मल, जल राम्रो भयो भने तरकारी उत्पादन बढ्छ भन्ने उनले बुझेकी छिन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको उनी बताउँछिन् । आफुले खाएर बचेको तरकारी बिक्री गरेर भएको आम्दानीले घरखर्च चलाउन सहज भएको उनको भनाई छ ।
रोजगारीका लागि भारत जाने यहाँका पुरुषहरु समेत गाउँ फर्केर तरकारी खेतीमा जोडिन थालेका छन् । स्थानीय धना कार्कीका श्रीमान बाल बच्चा पढाउन र घर खर्चको जोहो गर्ने माध्याम भनेको काला पहाडको काम हो । गाउँमा काम नपाइने, आय स्रोतको अन्य माध्याम नहुँदा उनलाई काला पहाड (भारत) मा काम गर्न जानु पर्ने बाध्यता थियो । पछिल्लो समय धना कार्कीका श्रीमानलाई घर खर्चको जोहो गर्न बाहिरी मुलुक जानु पर्ने बाध्यता हटेको छ ।
यूरोपियन यूनिएन र डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा सञ्चालित साकार र उत्थान परियोजनाको सहजिकरणमा यहाँका महिलाहरु तरकारी खेतीमा जोडिएका छन् । परियोजनाको सहजीकरणमा स्थानीय महिलाहरुलाई व्यवसायिक तरकारी खेतीमा अग्रसर गराइएपछि स्थानीयले आफ्नै गाउँमा आम्दानीको जोहो गर्न थालेका हुन् । परियोजनाले किसानहरुलाई मौषमी बेमौषमी तरकारीका बीउ, पोली हाउस, सरल थोपा सिचाई, गार्डेन पाइप सहयोग गर्दै आएको छ । बाख्रा पालन गर्ने किसानहरुलाई बाख्रा सहयोग गरिएको छ, भने व्यवसायिक तरकारी खेती गर्ने किसानहरुलाई प्राविधिक सहयोग प्रदान गरिएको छ । परियोजनाले किसानहरुलाई सिंचाईको सुविधा समेत पु¥याएका् छ ।
यहाँ दुई वटा कृषक समुहका ४० जना कृषकहरु तरकारी खेती गरिरहेका छन् भने ८ जनाले बाख्रा पालन गरिरहेका छन् । तरकारी खेती गर्नेमा अधिकाँश महिला छन् । ‘पहिलेका दिनमा कमाउने माध्ययम अरु केहि थिएन, परिवारको गर्जो टार्नलाई कामको खोजिमा भारत लगायतका अन्य मुलुकमा भौतारीन पर्ने बाध्यता थियो, स्थानीय सरकार आए पछि बिभिन्न सामाजिक संस्थाहरुको सहयोगमा कृषि कर्ममा लागेर आफनै ठाउँमा आम्दानी गर्दै आएका छु,’ स्थानीय धर्मराज कार्की भन्छन् ।
अहिले कृषकले बारीमा काउली, बन्दगोपी, टमाटर लगाएतका तरकारीहरु उत्पादन गर्दै आएका छन् । एउटै सिजनबाट तरकारीबाट आफुले १२ हजार बढि रुपैयाँ आम्दानी गरेको स्थानीय महिला शान्ति सिजापतीले बताईन । ‘मैले पहिलो पटक एउटै गरामा उत्पादन भएको तरकारी विक्री गरेर १० हजार कमाईसकेको छु, अझै २० हजारजति तरकारी बिक्री गर्न बाँकी छ,’ उनले भनिन् । यो गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने समेत लक्ष्य लिईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार