
चैत्र ११, दैलेख
दैलेखको नारायण नगरपालिका ५ धताहाको नवदुर्गा निमाविमा अध्ययन गर्ने सयौँ विद्यार्थीलाई एकै पटक रुघाखोकी सँगै बिरामी परेपछि विद्यालय ३ दिनका लागि बन्द गरिएको छ ।
बाल विकास देखि कक्षा ८ सम्म सञ्चालन भएको उक्त विद्यालयमा मौसम परिवर्तन सँगै रुघा, खोकी र ज्वरो आएर विद्यार्थी बिरामी परेपछि विद्यालय आपतकालिन रूपमा बन्द गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिएका छन् ।
अहिले गाउँमा विद्यार्थी सँगै अभिभावकहरू पनि बिरामी परेका छन् । जिल्ला स्वास्थ्यको टोली उपचारका लागि गाउँ पुगेको छ ।
स्वास्थ्य सेवा कार्यालयले सामान्य रुघाखोकीका कारण समस्या हुन सक्ने बताएको भए पनि के भएको भनेर निष्कर्ष निकाल्न सकेको छैन ।
आइतबार करिब १५०, सोमबार करिब १०० र मङ्गलवार ८५ जना विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयले जानकारी दिएको छ । गाउँमा बालबालिका बिरामीको सङ्ख्या धेरै भएको खबर आएपछि स्वास्थ्य सेवा कार्यालय दैलेखको टोली पुगेर चेक जाँच र औषधि वितरण गरेको डा विवेक गुरुङले जानकारी दिएका छन् ।
विद्यार्थीलाई आरामको आवश्यकता भएको, बिद्यार्थीहरुमा रुघाखोकीको समस्या देखिएपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विद्यालय बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।

भारतबाट दैलेख आउने नागरिकहरूको संख्या पुनः बढ्दै गएका कारण सामान्य रुघाखोकी लागेमा अनिवार्य मास्क प्रयोग गर्ने र तातोपानी सेवन गरेर सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालय दैलेखले सबैलाई आग्रह गरेको छ ।
दैलेखको बेलपाटा प्रा.बि.मा पनि छात्रा विद्यार्थीहरु एकाएक ढल्न थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । मानसिक रूपमा तनाव बढेपछि यस्तो हुन सक्ने भन्दै बन्द गरिएको विद्यालयले जानकारी दिएको छ । बेलपाटामा पनि स्वास्थ्यकर्मीको टोली खटिएको छ ।











