भुइँमान्छेका समाचार


म गाउँकै एक नीजि स्कुलमा पढाउँथे । वि.स. २०६८ मा प्रथम श्रेणीमा एसएलसी उर्तीण गरेपछि मैले स्थानीय बोडिङ्ग स्कुलमा पढाउन सुरु गरेको थिएँ । एसएलसी उर्तीण गरिसकेपछि सहरको सुविधा सम्पन्न क्याम्पसमा पढ्ने सपना त थियो । तर पूरा हुन सकेन् । विहान आफु पढ्न क्याम्पस जाने र १० बज्दा नबज्दै स–साना नानीबाबुहरुलाई पढाउन बोर्डिङ्ग स्कुल जानुपर्ने मेरो दैनिकी बन्यो । यो मेरो बाध्यता पनि बन्यो । बचेको समयमा मैले कम्प्युटर कक्षा लिन्थे । कम्प्युटर कक्षा पढ्दापढ्दै सोही कम्प्युटर कक्षाका सञ्चालकसँग नजिक भएँ । उहाँ (श्याम विस्ट) गाउँमा पत्रकारको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँसँग नजिक भएपछि दैलेख सदरमुकाममा हुने पत्रकारका कार्यक्रमहरुमा सहभागि हुन थाँले । विस्तारै म मा पत्रकारिताको भुत चढ्न थाल्यो । रहर पनि थियो । अनी गाउँमै हुने तालिम गोष्ठिका स–साना समाचारहरु धमाका दैनिकमा पठाउँन थालेँ । दैलेख सदरमुकाम आउँदा धमाका दैनिकका प्रकाशक सम्पादक विष्णु शर्मासँगै भेटेर भन्ने गर्थे ‘मलाई पनि पत्रकार बन्ने रहर छ, अबसर छ भने मलाई नभुल्नुहोला ।’ सायद उहाँले मैले भनेको शव्दहरु सम्झिरहनुभएको रहेछ । उहाँले नै मलाई सदरमुकाममा बसेर धमाका दैनिकमा काम गर्ने अबसर दिनुभयो ।
कुरा २०७१ असारको हो । स्कुल बन्द थियो । बर्खे बिदा भएकाले प्राय म घरायसी कामका व्यस्त भईइरहन्थे । दिउँसको समय थियो, एक्कासी फोनको घण्टी बज्यो । फोन उहाँ (विष्णु शर्मा) को थियो । उहाँको फोन त्यसरी पहिलो पटक आएको थियो । सुरुमा मन आत्तियो । तर, धेरै नसोची फोन उठाएँ । उहाँले भन्नुभयो ‘सदरमुकाम आएर धमाकामा काम गर्ने भए आऊँ’ । उहाँका शव्दहरु नसकिँदै मैले भने ‘हुन्छ’ । मैले चाहेकै त्यहि थियो । म औधी खुसी भएँ । अब म पनि पत्रकार बन्ने भएँ भन्ने लाग्यो । भोलीपल्टै सदरमुकाम हिँडे । सदरमुकाम आएर झण्डै एघार दिन धमाकाको पत्रिका वितरक (हकर) को रुपमा काम गरेँ । त्यसपछि पत्रिका डिजाइन लगायतका काममा संलग्न भएँ । धमाका दैनिकमा मैले झण्डै साढे तीन वर्ष काम गरेँ । त्यसबीचमा मैले पत्रकारिताको आधारभुत ज्ञान लिने अबसर पाएँ । धमाकापछि परिवर्तन दैनिक पत्रिकामा एक वर्ष काम गरेँ । त्यसबीचमा नेपाल समाचार पत्र र राष्ट्रिय समाचार समितिमा पनि काम गरेँ । अहिले पञ्चकोशी दैनिकको सम्पादकको रुपमा कार्यरत छु । अन्नपूर्ण पोष्ट् र ज्वाला सन्देश अनलाइनमा समेत आबद्ध भएर काम गरिरहेको छु । पत्रकारिताको यो ७ वर्षे यात्रामा थुप्रै समस्याहरुसँग जुध्नु परेको छ । हरेक चुनौती र समस्याहरु आईपरेका छन् । चुनौती र सममस्याहरुलाई सिकाईको रुपमा लिने गरेको छ । अनी थप मजबुत बनेको छ । अब कुरा गरौँ, समाचारको । निष्पक्ष, निर्भिक र जनउत्तदायी प्रेसको मान्यता हो । पत्रकारिताको ७ वर्षे यात्रामा मैले सामाजिक सवाललाई पहिलो प्राथमिकता दिएको छु । अर्थात ‘भुइँमान्छेको समाचार’ । त्यसपछि आर्थिक, राजनीतिक, शिक्षा, स्वास्थ्य यातायात, विद्युत, कृषि, जस्ता सवालमा समाचार लेखिरहेको छु । यी सवालहरु म पत्रकारितामा रहँदासम्म मेरो प्राथमिकतामा रहनेछन् ।
यसबीचमा म दैलेख, सुर्खेत, कालिकोट, अछाम, जाजकारकोट जस्ता जिल्लाको कुनाकन्दरामा पुग्ने सुनौलौ मौका पाएँको छु । ती ठाउँमा पुग्दा मैले समाजमा दबिएका, अन्यायमा परेका मान्छेहरु भेटेको छु । देखेको छु । उनिहरुको पीडा महसुस गरेको छु । त्यतिमात्रै होइन, निमुखा (जो विहान साँझको छाक कसरी टार्ने) भन्ने चिन्तामा पिरोलिरहेका छन् । उनिहरुलाई नजिकबाट नियालेको छु । अर्कोतर्फ समाजमा कसैले नगन्ने मान्छेहरुको व्यथा पनि कम छैन् । उहाँहरुको कथा व्यथा बेग्लै छ । मेरो पात्रकारिताको आगामी यात्रामा तीनै मान्छेहरुको कथा र व्यथाहरु पहिलो प्राथमिकता रहनेछन् । मेरो रिपोर्टिङ सधैँ अन्यायमा पारिएका र आवाज दबाइएकाहरूकै पक्षमा केन्द्रित हुनेछन् । अनी शृंखलाबद्ध रुपमा लेखिनेछन् बन्नेछन्…समाजमा हेपिएका, दबिएका, गरिब, निमुखा, ठूलाबडाबाट थिचोमिचोमा परेका, अन्यायमा परेका र कसैले नगन्ने मान्छे (भुइँमान्छे) का समाचार ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार