
२०७१ साउनबाट पत्रकारिता क्षेत्रमा लाग्ने अबसर मिल्यो । सात वर्षको अवधिमा पत्रकारितामा रहिरहँदा निकै उताव चडावहरु आए । धेरै आरोह अवरोह भोग्दै जेनतेन यहि क्षेत्रमा रहेको छु । सुरुका दिनमा पत्रकारिता नबुझेको म पत्रकारिता के हो ? पत्रकारिता किन गरिन्छ ? यो अवधिसम्म पत्रकारिताको सामान्य जानकारी लिने अवसर यहि क्षेत्रले जुरायो ।
उसो त जुन क्षेत्रमा जो रहन्छ त्यहि क्षेत्रको विषयमा जानकारी जसलाई पनि हुन्छ । म पत्रकारितामा लाग्दै गर्दा सुरुका दिनमा बुझेको पत्रकारिता भन्दा दैलेखको पत्रकारितामा अनौंठा कुराको जानकारी लिने अवसर पाए । सात वर्षको अवधिमा स्वयमले अनुभव गरेको पत्रकारिता र दैलेखको पत्रकारितामा अनौंठा आयामहरुले देखा परे ।
श्रमजिवीका कुरा
श्रमजिवीका कुरा गर्दा तिन वर्षको अवधिमा आउने पत्रकार महासंघको चुनावको झल्को आउँछ । चुनाव ताका पत्रकारका नेताहरुले आफु श्रमजिवीको पक्षमा रहेको भन्दै लगाईने गहकीला नारा । यि नारा चुनावका लागि मात्र हुन भन्ने एक कहाली लाग्दो उदारण पनि दैलेखको पत्रकारिता क्षेत्रमा देख्ने भोग्ने अवसर पाएँ ।
अनौठो प्रसंग
जिल्लाको एक मिडिया हाउसमा काम गर्ने एक श्रमजिवी फरक बिचार राख्दै फरक संगठनमा लागे । उनले आफ्नो फरक विचार दर्साउँने स्वतन्त्रता पनि हो । तर उनले फरक विचार राखेर फरक संगठनमा लागेकै कारण मिडिया हाउसबाट निकालीन बाध्य हुनुप¥यो । अस्वभाविक रुपमा बिदाई हँुदै गरेका उनको आँखाबाट झरेको आँसु देख्दा लाग्यो राजनीति त यँहा पो हँुदोरहेछ ।
मिडिया स्वतन्त्र, निष्पक्ष हुन्छन् भन्ने कुरामा मेरो मनमा त्यहि बेला देखि अनेकौ प्रश्नहरु उब्जिन थाले । एक श्रमजिवीको मात्र नभई उसले आफ्नो कारणले परिवारको भोको पेटमा हानिएको लात्ति समेत सहनु प¥यो । यो उदाहरण मात्र हो, दैलेखमा श्रमजिवीहरु भोक भोकै मिडियाहाउस सञ्चालकको गुलाम बन्नु परेका धेरै उदारण छन् । श्रमीक सुक्ने र मालिक मोटाउने पेसा पत्रकारिता पनि हो ।
खै पत्रकारिता ?
पत्रकार महासंघ दैलेखले प्रकाशन गर्ने विवरणमा जिल्लामा पत्रकारहरुको जमात देखिन्छ । म दावाका साथ भन्छु ति सबै पत्रकार होईनन् । हुनत स्वयम एक व्यक्तिलाई नेता हुने चाहानाका साथ थपिएका आफन्त, राजनीतिक कार्यकर्ता, ठेकेदारको जमात । हालै सम्पन्न पत्रकार महासंघको निर्वाचन नजिकीदै गर्दा दैलेख पत्रकार महासंघमा रहेकाहरुले आफु चुनाव जित्नकै लागि छोरा बुहारी, ज्वाई, नाता गोता सबैलाई महासंघको सदस्यता दिन भ्याए । उनीहरुले पत्रकारिता गर्दैनन् । पत्रकार हुनलाई त समाचार लेख्नु पर्ने होइन र ?
उसो त दैलेखको पत्रकारितामा आफुलाई महामहिम ठान्ने र पत्रकारको गुरु हुँ भन्नेहरुले अहिलेसम्म समाचार लेखेको देखिएकै छैन् । कोहि आफ्नो ठेक्का पट्टाको साईटमा भेटिन्छन् कोहि एनजिओको गुनगान गाउनमा लिप्त छन् । मैले अनुभव गरेको बिषयले यसलाई पत्रकारिता भन्दैन् । भन्छिन् पत्रकारिताका नाममा कमाई खाने उपाए । उनीहरुकै कारण दैलेखको पत्रकारिता बदनाम हुँदै गएको प्रष्ट छ ।
के हो पत्रकारिता ?
लैङ्गिक बिभेद नभएको शब्द ‘पत्रकार’ अनि ‘पत्रकारिता’ यो आफैमा महत्वपूर्ण र सत्य तथ्यपरक हुन्छ । तर त्यही पेशा र शब्दले चिरपरिचित ब्यक्तिलाई हेर्ने दृष्टिकोणमा अधिक भिन्नता छ । जुनसुकै सकारात्मक वा समाजमा भएका विकृति र बिसंगतिको आवाज बोल्छ अनि लेख्छ पत्रकार । त्यही आवजले सुसूचित बनाउँछ समाज । सिंगो समाजको प्रतिनिधित्व गर्ने पत्रकार र पत्रकारिता । तर दैलेखमा यस्तो पत्रकारिताको अभ्यास हुन अझै कुर्नु पर्ने छ ।
हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यवहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ । पत्रकार हुनलाई ठेकेदारीता हैन समाचार लेख्नुपर्दछ ।









