१५ वर्षे यात्राका सहयात्री,जो कहिल्यै पनि बिर्सन सकिदैन्

यो समाचार टिप्पणी हरेक वर्ष दोहिरिरहन्छ किनकी दैलेखमा पत्रकारिताको इतिहास कसैले खोज्यो भने यो कुरा छुट्टाउँदा दैलेखको पत्रकारिता कता–कता कुहिरोको कागझै हुने भएकोले हरेक वर्ष यो विषय उठान गर्नु जरुरी देखिन्छ ।
स्थानीय सरकारहरु सञ्चालनमा आएको तीन वर्ष कटिसक्दा पनि अहिलेसम्म स्थानीय सरकारहरु आफ्नै धाउन्तिमा छन् । केही–केही स्थानीय सरकारहरुले खुलेका सञ्चार माध्यमहरुलाई सवल र सशक्त बनाउनुको साटो जनताको करबाट उठेको लाखौं रकम मिडियामा लगानी गरेर भविष्य सुरक्षित गर्न खोजेको पनि देखिन्छ ।

यो विषय कदापी राम्रो हैन्, आफुले गरेका गल्ति ढोक्नका लागि आफ्नै लगानीका सञ्चार माध्यम खोल्नु व्यवसायिक पत्रकारहरुका लागि ठूलो चुनौती हो । यस्ता बिषयहरुमा नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुले खवरदारी बढाउनुपर्ने देखिन्छ ।
दैलेखमा पत्रिका संचालन गर्नु फलामको चिउरा चपाउनु सरहनै हो । यही सत्य हुँदा हुँदै पनि २०६३ असार २ गते त्रिभूवन उच्च माविको कुनामा बसेर पत्रिका दर्ताको तयारी थालिएको थियो । यस्तो निर्णयमा सहयोग गर्ने धमाका दैनिकका संस्थापक प्रकाशक नमन शाही, संस्थापक कार्यकारी सम्पादक घनश्याम भण्डारी, पुस्कर थापा, यज्ञराज थापा, जनक न्यौपाने लगायतको टोलिले उतिवेला प्रदान गरेको उत्साह र अहिलेपनि सम्पादककै भूमिकामा रहेका सम्पादक बिष्णु शर्माको मेहनतकै कारण धमाका दैनिक अहिले चिरपरिचित ब्राण्ड बन्न सफल भएको छ । समय सुहाउँदो परिवेश अनुसार अव धमाका दैनिकले पनि आफ्नो यात्रा बदल्नुपर्ने अवस्था देखिएको छ । पत्रिका प्रकाशनको आरम्भ अहिले १५ वर्षमा पुगेको छ ।

कोरोना कहरले एक वर्ष थला पारेको दैलेखको समग्र पत्रकारिताको ओरालो गति उकालो लाग्न सक्ने अवस्थामा अँझै पुगेको छैन् । स्थानीय सरकारहरुले मिडिया सँग सम्वन्धित कानूनहरु बनाउन नसक्नु, स्थानीय स्तरमा सञ्चालनमा आएका सबै सञ्चार माध्यमहरुलाई समानुपातिक बितरणको अभ्यास नगर्नु, बिभिन्न आग्रह र पूर्वाग्राही रुपमा प्रस्तुत हुनु समग्र दैलेखका पत्रकारिताको चुनौती हो ।
१४ वर्ष अघि देखिको यात्रामा जोडिएका धेरै साथिहरु अहिले अब्वल संचारकर्मीको रुपमा परिचित हुनुहुन्छ । समय र परिस्थितीले कहिले कसैलाई टाढा पु¥याएको होला तर सवै साथिहरु अहिले सम्म पनि पत्रकारितामै जाँगरिलो तरिकाले लाग्नुभएको छ । कोही केन्द्रका सञ्चार माध्यमहरुमा सशक्त भएर लाग्नुभएको छ, भने कोही प्रदेश त कोही जिल्लामा सशक्त भूमिकामा हुनुहुन्छ । यो धमाका दैनिकका लागि गौरव र इतिहासको कुरा हो ।

वार्षिक उत्सवको यो अवसरमा तत्कालिन समयदेखि माया ममता, सद्भाव, सुभेच्छा प्रकट गर्ने दैलेखका होनाहार पत्रकार हस्तिहरुलाई हामी सँधै भरी सम्झिरहने छौं । दैलखमा पत्रकारिताको बिजारोपण गर्ने व्यक्तिहरु जो पहिलो पुस्ताका हुनुहुन्छ उहाँहरुलाई पनि यो अवसरमा सम्झिनुपर्ने हुन्छ । जतिवेला पंचायती शासन व्यवस्था थियो उतिबेलादेखि झिल्को, रैवार जस्ता भित्तामा पत्रिका प्रकाशन गर्ने आदरणिय दैलेखका अग्रजहरु सुरेन्द्र अधिकारी, गणेश रेग्मी, खड्ग सिजापती लगायतका आदरणिय व्यत्तित्वहरुले दैलेखको पत्रकारिताको इतिहास कायम गर्नुभएको छ । त्यसपछि खरो रुपमा पत्रकारितामा लाग्नुभएका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा अहिले हामीमाँझ हुनुहुन्न उहाँप्रति हामी हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छौं ।

विष्णु शर्मा

विष्णु शर्मा

युवा पत्रकारहरुलाई यो पेशा अंगाल्न प्रेरित गर्ने आदरणिय पत्रकार हरिहरसिंह राठौर, अमर सुनार लगायतका हस्तिहरु दैलेखको पत्रकारिताका अग्रजका रुपमा परिचित हुनुहुन्छ ।
धमाका दैनिक हुँदै अहिले बिभिन्न संचार संस्थाहरुमा अब्वलता कायम गर्नुभएका पत्रकार मित्रहरु भूपेन्द्र शाही, प्रकाश अधिकारी, मञ्जुल अधिकारी, गोविन्द के.सी., गोविन्ददेव भारती, बिनु भारती, आशा काफ्ले, रविन्द्र सुवेदी, कविराज बि.सी., नविन रिजाल, खेमराज थापा, कमल शर्मा, चक्र केसी, महेन्द्र सापकोटा, छवी शर्मा, यामप्रसाद शर्मा, अभिशेष अनुराग, डि आर कोईराला, भिम सिजापती, श्याम बिष्ट, हिक्मत नेपाली, चक्र भण्डारी, प्रेम शाही, सिताराम शर्मा, लोकेन्द्र पौड्याल, नविन शर्मा, खगेन्द्र कार्की, भूमिका मल्ल, गिता थापा, तिला गुरुङ, सीता शाही, धरम बिष्ट, भक्त शाही, माधव खनाल, यामराज कटुवाल, पृथ थापा, कृष्ण देवकोटा, उदयराज अधिकारी, पुजा भण्डारी, सुरेन्द्र शाही, धर्म थापा, मंगल चौधरी, रामकृष्ण कठायतको भूमिका महत्वपूर्ण छ ।
दैलेखका अन्य बिभिन्न संचार माध्यमसँग जोडिनुभएका जीवन आचार्य, यामराज बिष्ट, भावना हमाल, कृष्ण अधिकारी, कृष्ण शर्मा, केशवराज पौडेल, खगेन्द्र खड्का, मनोज के.सी., लगायत पछिल्लो पुस्तामा पत्रकारितामा होमिएका सवै साथिहरुको अथक प्रयासका कारण समाजमा सुशासन कायम गर्न, सूचनाको हक प्रदान गर्न, अनियमिता र भ्रष्टाचार गतिविधिहरुको न्यूनिकरण गर्न केही मात्रामा भएपनि समाचारको माध्यमले सहयोग गरेको छ ।

व्यवसायिकता कायम सँगै जिल्लामा प्रकाशन भएका पत्रपत्रिका र रेडियोहरुलाई अँझै निरन्तरताको चुनौती त्यतीकै छ ।
धमाका दैनिकको व्यवसायिकता र निरन्तरताका लागि सुरुवाती देखि अहिलेसम्म श्रेष्ठ अफसेट प्रेस, शौरभ अफसेट प्रेस, कान्ति प्रिन्टिङ्ग प्रेसले गरेको योगदानको उच्च कदर गर्दै आगामी दिनहरुमा हाम्रो सहकार्य अँझै दरिलो हुनेमा आशा गरेका छौं ।
यो कठिन यात्रामा आँठ गर्ने सबै पत्रकार मित्रहरु र प्रकाशनको जिम्मा लिएका संचारकर्मी मित्रहरुलाई धन्यवाद दिन चाहन्छौं । तपाँईहरुले दिएको रचनात्मक सुझावलाई हामीले सँधै सिरोधार्य गर्ने छौं । साप्ताहिक पत्रिका प्रकाशन गर्दा रातको २ बजे पत्रिकाको पिलेट बोकेर छापाखाना धाउने यी परेलीहरु अँझै धेरै समयका लागि निधाउने छैनन् । धमाका दैलेखको पत्रकारिताको जननी हो भन्दा अतिउत्ती नहोला तर यसो भनिरहँदा यसले व्यवसायिकतालाई ध्यान दिन सकेको छैन् । निष्पक्ष बन्न सकेको छैन भन्ने तपाँईहरुका गुनासाहरुलाई घटाउँदै गएका छौं ।

धरातल नबुझेर गलत ओकेल्ने प्रवृतीसँग जुधेर प्रकाशनले आफ्नो १५ वर्षको यात्रा गर्दैछ । यो यात्रासँगै हामीलाई मायाँ, ममता तथा सहानुभूती प्रकट गर्नुहुने आदरणीय पाठक वर्ग, शुभचिन्तक एवं विज्ञापनदाताबाट आगामी दिनहरुमा पनि सहयोग र हौसला मिल्ने आशा लिएका छौं ।
दैलेख सदरमुकाममा अध्ययन गर्दै गर्दा सरकारी जागिरे सपना बोकेको एक व्यक्ति बि.ए. पास भएकै कारणले मात्र दैलेखको पहिलो पत्रिकाको सम्पादकको जिम्मेवारी पाएको त्यो परिस्थीतिलाई अहिलेपनि जिम्मेवारीका साथ निर्वाह गर्ने प्रर्ण गरेको छु । तत्कालिन द्धन्द्धमा आफन्तहरु भूमिगत भएकै नाममा पाएको दुःखले झनै जीवन संघर्षशिल बनाउन प्रेरित गरेको त्यो क्षण बिर्सने कुरै भएन्, इमान्दारीता सवैभन्दा ठूलो सम्पत्ति रहेछ भन्ने कुरा अहिले सम्मको मोडमा देखिएको महान उपलब्धी हो, भन्ने कुरा आफुले पनि बुझेको र अन्य संचारकर्मी मित्रहरुले पनि बुझिदिनुहुने छ भन्ने आशा गरेको छु ।

चाहे हिजोका बिभिन्न निरंकुश गतिविधि हुन, चाहे सरकारी वा पहुँचको भरमा गरिएका बिभिन्न अनियमितता र भ्रष्टाचारका कुराहरु किन नहुन सँधै यसको बिरुद्धमा उत्रने दैलेखी पत्रकारहरुको हिजोको एतिहाँसिक शैलीलाई एकपटक मनन गरेर व्यवसायिक एकतामा सबै एक हुनुपर्ने अहिलेको आवश्यकता हो । लुकेका कुराहरुलाई उजागर गरेर राज्यका जिम्मेवार नागरिकहरुलाई सुनाउने र जिम्मेवार बनाउने अभियानमा सवै लाग्न जरुरी छ । बिभिन्न समस्याहरुले हाम्रा पनि कमि कजोरीहरु माथि औला उठाउने कामहरु भएका छन् । यस्ता बिषयहरुमा पनि हामी सँधै सचेत भएर लाग्नुपर्ने देखिएको छ ।

गाउँमै अधिकार सहितको सिंहदरवार आएको छ । यसको उचित व्यवस्थापन भयो वा भएन, खवरदारी जरुरी छ । संघीयतालाई कही कतैबाट असफल बनाउनेका बिरुद्धमा पनि संचार माध्यामको भूमिका महत्वपूर्ण हुन्छ । बिश्वलाई आतंकित पारेको कोरोना भाइरस बिरुद्धका अभियान सम्म हाम्रो सक्रियता कायमै छ र रहने नै छ । अहिले पनि पुनः कोरोना संक्रमणको जोखिम बढ्दै छ यस्तो अवस्थामा पनि सञ्चार माध्यमहरुले प्रवाह गरेका सूचनाहरु, समाचारमुलक गतिविधि हरुले हाम्रो भूमिका र दहित्व बढाउने छ भन्ने आशा गरेको छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार