दैलेखका १५ जना निर्वाचित जनप्रतिनिधिको पद धरापमा अन्य ११ गरी २६ लाई स्पष्टीकरण

दैलेख १७,
नेकपा एमाले दैलेखले पार्टीको विधान विपरीत काम गरिरहेको भन्दै स्थानीय तहमा निर्वाचित १५ जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।
विशेष गरेर माधव नेपाल समूहमा रहेका र पार्टी विपरीत गतिविधि बढाइरहेका नेताहरुलाई तीन दिने अल्टिमेटम सहित स्पष्टीकरण सोधेको हो । चित्तबुझ्दो जवाफ नआए निर्वाचित जन्रतिनिधिहरुको पद खोसीने तयारी भएको नेकपा एमाले दैलेखले जानकारी दिएको छ ।
स्थानीय तहमा निर्वाचन जनप्रतिनीधि १५ जना सहित जिल्ला कमिटीमा रहेका नेता, राष्ट्रिय युवा संघका नेता र अनेरास्ववियुका नेताहरु सहित २६ जनालाई तीन दिने स्पष्टीकरण सोधिएको नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिएका छन् ।
दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माको अध्यक्षतामा बसेको २७ औँ सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टी एकता विरोधी गतिविधिमा संलग्न रहेको भन्दै नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डाविन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही सहित १५ जना जनप्रतिनीधिहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
स्पष्टीकरण सोधिएका अन्य जनप्रतिनीधिहरुमा नौमूले गाउँपालिका–४ का वडाध्यक्ष गजबहादुर ढेंगा, भगवतीमाई गाउँपालिका–२ का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर शाही, आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्ण आले, डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजु केसी, नौमूले गाउँपालिका गाउँ सभा सदस्य दिपक हमाल, गुराँस गाउँपालिका गाउँ सभा सदस्य पशुपति शर्मा, नारायण नगरपालिका नगर सभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसी छन् ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी दैलेखका उपसचिव तिलकप्रसाद रिजाल, सचिवालय सदस्य मानबहादुर खड्का, जिला कमिटी सदस्य भीमबहादुर गुरुङ, गुराँस गाउँ कमिटी सदस्य भूपेन्द्र खड्का र नेता गोकर्ण माझी, राष्ट्रिय युवा संघका उपेन्द्र शाही, हेमन्त दसौदी, अनेरास्ववीयू केन्द्रीय लेखा आयोगका सदस्य भूपेन्द्र शाही, राष्ट्रिय युवा संघका सदस्य अशोक थापा, टोपबहादुर थापा र धिरज कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश कमिटीमा रहेका टेकबहादुर खाण, बरुनाथ योगी, सावित्री मल्ल, मायाराम अधिकारीलाई आवश्यक कारबाहीका लागि एमाले कर्णाली प्रदेश कमिटीमा सिफारिस समेत गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
पार्टीको हित विपरीत गएको ठहर भएमा स्थानीय तहको निर्वाचित पद समेत खोसिने कानुनी प्रावधान अनुसार सबैलाई सच्चिन अन्तिम मौका दिएका छौँ । पार्टी विपरीत गतिविधिहरु सञ्चालन भइरहेको खण्डमा विधान अनुसार कारबाही हुने कुरा नेकपा एमाले दैलेखले जानकारी दिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आम जनतालाई सुरक्षित राख्नका लागि स्थानीय तहका सरकारसँग समन्वय गरी आ–आफ्नो स्थानबाट सबै तहका नेकपा एमालेमा आबद्ध पार्टी कार्यकर्ता, शुभचिन्तकहरु परिचालित हुन बैठकले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार