पुरानै नक्साअंकित पाठ्युस्तक तत्काल फिर्ता गर्न शिक्षा समिति दैलेखको निर्देशन


असार १३,दैलेख
दैलेखका विभिन्न विद्यालयमा वितरण गरिएका अधिकांश पाठ्यपुस्तक सरकारको निर्देशनविपरीत वितरण भएको भन्दै समाचार माध्यमहरुमा समाचार प्रकाशन भएपछि दैलेखको शिक्षा समितिले पुरानै नक्सा भएका पाठ्य पुस्तकहरुलाई तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्साअंकित पाठ्यपुस्तक बिक्री–वितरण गर्नू–गराउनू भनेर दिएको निर्देशनको समेत दैलेखमा पालना नभएको र पुरानो नक्सा अंकित पुस्तकहरु धमाधम बिक्रि बितरण भएको जानकारी आएसँगै यस्तो निर्णय गरिएको जिल्ला समन्वय समिति दैलेखका अध्यक्ष प्रेम थापाले जानकारी दिएका छन् । जुन बिक्रेताले पुस्तक बिक्रि गरेका छन् उनैलाई पुस्तक फिर्ता गर्न भनेका छौं अन्यथा कानुन अनुसार अघि बढ्ने तयारी शिक्षा समितिले गरेको छ ।

‘दैलेखको डुगेश्वर गाउँपालिका, नारायण नगरपालिका, भगवती माई गाउँपालिका लगायतका विभिन्न पालिकाहरुमा पुरानै नक्शा भएका पुस्तकहरु बिद्यार्थीहरुलाई बिक्रेताहरुले बितरण गरेका छन् । विद्यार्थीले पाएको किताबमा पुरानै नक्सा कायम थियो हामिले सम्बन्धित निकायलाई खवर गरेका थियौं, निर्देशन त दिइएको छ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यो हेर्ने बाँकी रहेको एक अभिभावकले बताए ।
जनक शिक्षा सामग्री केन्द्र काठमाडौंले पुस्तकमै पाठ्यपुस्तकसम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरलाई हुने उल्लेख गरेको छ ।

पुरानो पुस्तक फिर्ता गर्न विद्यालय र बिक्रेतालाई पत्राचार

दैलेखको शिक्षा विकास तथा समन्वय इकाइले मन्त्रालयको परिपत्रअनुसार नयाँ नक्सा भएको पाठ्यपुस्तक मात्र विद्यार्थीलाई वितरण गर्न पत्राचार सँगै शिक्षा समितिले समेत निर्णय गरिसकेको र सबै बिक्रेताहरुले तत्काल फिर्ता नल्याए कानुनी प्रक्रिया अनुसार हुने शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले जानकारी दिएका छन् ।
दैलेखमा कार्यरत शिक्षकहरुले कोरोना महामारीको अवस्थामा पनि शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सवैलाई खोप सुविधा उपलब्ध गराउन पनि शिक्षा समिति दैलेखले निर्णय गरेको शिक्षा समिति दैलेखका अध्यक्ष एवं जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार