
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाउन गरेको कार्य महंगो पर्ने बताएका छन् ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘टालाटुली बटुलीजस्तो गठबन्धनको सरकारमा रहेर देउवाले एमाले फुटाउने कार्य गरेका छन् । सरकारसँग केही अपेक्षा गर्न सकिँदैन । अहिले कांग्रेसको नेतृत्वमा एमाले फुटाउने कार्य भइरहेको छ । त्यो महंगो पर्नेछ ।’
देउवा सरकारले लोकतन्त्र र संविधान भन्दा बाहिर गएर निर्णय गरेको उनको भनाइ छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।
संसद् अधिवेशन चालु नरहेको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ । सरकारले संघीय संसदका दुवै सदनको चालु अधिवेशन सोमबार मात्र अन्त्य गरेको थियो ।









