
चितवनः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले आगामी चुनावमा बहुमत ल्याउने ठोकुवा गरेका छन् । हामी बहुमत ल्याउने गरी जनताका बीचमा जाने तयारी गरेका छौं । महाधिवेशन पछिको हाम्रो काम त्यही हुन्छ ।
नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गरे ।
एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछू, उनले भने, एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको बताए ।
यस्तै, अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लास पूर्ण रुपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताए ।
उनले एमाले र अर्काे पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले महाधिवेशनपछि पार्टी चुनावको तयारीमा जाने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिनुपर्ने र आवश्यक पर्दा संविधान संशोधन हुन सक्ने लगायत सात विषयमा चर्चा गरेका छन् ।
‘नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ’
हामी शान्तिको पक्षमा छौँ । देशभित्र शान्ति स्थापना हुनुपर्दछ । हामी कुनै पनि बाहानामा कुनै पनि नाममा हिंसातर्फ प्रवृत्त हुने कुरा, आवेश, उत्तेजना फैलाउने कुरा, परस्परमा घृणा फैलाउने कुरा, जात जातका बीचमा, धर्म धर्मका बीचमा, भाषा भाषाका बीचमा, भूगोल भूगोलका बीचमा साम्प्रदायिक विद्वेष फैलाएर नेपाली जनतालाई विभाजित गर्ने कुराको विपक्षमा छौँ । हामी सामाजिक सद्भावको पक्षमा छौँ । राष्ट्रिय एकताको पक्षमा छौँ। हामी सहअस्तित्व र सहकार्यको पक्षमा छौँ । पारस्परिक सम्मान र एकताको पक्षमा छौँ । सबैलाई समान अधिकार, अवसर उपलब्ध गराउने पक्षमा छौँ । हाम्रो नीति राष्ट्रियताको, सार्वभौमसत्ताको, हाम्रो स्वाधीनताको हामी रक्षा गर्न चाहन्छौँ । हाम्रो स्वाधीनता, हामी वास्तविक अर्थमा स्वाधीनता मात्रै भनेर बस्ने होइन, स्वाधीनताको हामी वास्तविक अर्थमा सही ढंगले, यथार्थ रूपमा त्यसलाई प्रयोग गर्न चाहन्छौँ ।’

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता लिनुपर्नेछ’
हामी सार्वभौम समानता चाहन्छौँ दुनियाँभरि, हामी कसैसँग पनि ठूला राष्ट्र हुन्, साना राष्ट्र हुन्, आकार प्रकार, साइज, जनसंख्या, विकासमा अगाडि पछाडि जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले समानता मान्नुपर्छ भन्ने हामी ठान्दछौँ । यिनै आधारमा पारस्परिक लाभ, पारस्परिक हित, पारस्परिक सम्मानका आधारमा हाम्रा छिमेक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धहरू अगाडि बढ्छन् । हामीले भनेका छौँ, छैन कोही शत्रु, सबै मित्र । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता । हाम्रो चाहना त्यो हो, र हामी त्यस नीतिलाई अवलम्बन गर्छौँ । हाम्रा छिमेकीहरूसँग कतिपय कुराहरू हामीले अझै छलफलको माध्यमबाट टुंग्याउनुपर्नेछ । हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको नक्सा छापेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ तर त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ । संवादको माध्यमबाट हामी त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता लिएन भने फिर्ता नलिदासम्म हामीलाई हामी ठगिएको, मिचिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसकारण त्यो अन्त्य गरेर वास्तविक मित्रताका लागि समस्या समाधान गरेर सही मित्रता, वास्तविक मित्रता, वास्तविक छिमेकीपन हामी कायम गर्न चाहन्छौँ ।’
‘आवश्यक पर्दा संविधानमा आवश्यक संशोधन हुन सक्दछ’
‘हामीले बनाएको संविधान, हाम्रा लागि बनाएको संविधान, नेपाली जनताले बनाएको संविधान। त्यो त्यो नेपाली जनताका लागि आवश्यक पर्दा आवश्यकताअनुसार औचित्यका आधारमा संशोधन हुन सक्दछ ।
शान्ति प्रक्रिया र पूर्वलडाकु
‘हिजो सशस्त्र द्वन्द्वका घाउहरू पुछ्नु छ हामीले । अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । नेकपा (माओवादी केन्द्र) प्रचण्डजीको नेतृत्वमा फेरि त्यही नाम उहाँले लिएर एउटा चोइटो जानुभएको छ उहाँहरू। प्रचण्डजीको नेतृत्वमा छ। अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्न उहाँहरू ? किन घाइतेहरूको बन्दोबस्त गर्नुहुन्न ? जेलमा रहेका झुठा मुद्दाहरू किन खारेज गर्नुहुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरूको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई दश, दश हजार बाँड्रने रे । दश, दश हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस् । समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबारबिहीन भएका, अंगभंगबिहीन भएकाहरूलाई रोजगारी दिनुस् । तपाईं सरकारमा हुनुहुन्छ । हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ, प्रधानमन्त्रीले गर्न दिएन । अनि भाषण गर्नुहुन्छ, आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ त किन पावर देखाउनुहुन्न ? पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका । म भन्न चाहन्छु, अब यो महाधिवेशन अन्त्य हुनेबित्तिकै, महाधिवेशन सम्पन्न हुनेबित्तिकै हामी पूर्वलडाकुहरूको व्यवस्थापन गर्नेछौँ । पूर्वलडाकुहरू नेकपा(एमाले)मा प्रवेश गर्दै हुनुहुन्छ । र, दशौँ हजारको संख्यामा हामी पूर्वलडाकुहरूलाई एमालेमा प्रवेश गराउँदै छौँ ।’
‘प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ’
सम्मानननीय प्रधानमन्त्रीलाई हामीले आमन्त्रण गरेका छौँ । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु वाञ्छनीय हुँदैन। प्रधानमन्त्रीजी सायद काम गर्न चाहनुहुन्थ्यो कि। तर, प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि । मलाई अप्ठेरोमा पार्ने, मेरा खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसकारण उहाँलाई पनि अलि गाह्रो छ ।










