एमाले अध्यक्षमा केपी शर्मा ओली


मंसिर १४, काठमाडौं
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्दै विजयी भएका पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।
यही मंसिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा सोमबार राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरेका थिए । विद्युतीय भोटिङ्ग मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो ।
कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मंसिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
यस्तै, एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीका तीन जना नेता पदाधिकारी निर्वाचित भएका छन् । केपी ओलीको प्रस्तावित सूचीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी विजयी भएका हुन् ।
बादल उपाध्यक्ष तथा भट्ट र रायमाझी सचिव पदमा निर्वाचित भएका हुन् । यसअघि घनश्याम भुसालको उम्मेदवारीले वादल पराजित हुन सक्ने आशंका पनि गरिएको थियो । सात जना आवश्यक सचिव पदमा भट्ट पाँचौं र रायमाझी छैठौं नम्बरमा विजयी भए । तत्कालीन नेकपा फुटेका बेला केपी ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरु चुनाव जितेरै पदाधिकारी बनेका छन् ।
दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रम अहिले भइरहेको छ । मंगलबार नै भैसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार