नेताहरु भन्छन् ‘जनमत घटेको छैन्’


पुस २३, दैलेख
नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रवार जिल्ला सदरमुकाम स्थित कबर्ड हलमा अधिवेशन उद्घाटन गरिएको हो । एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसँगै विशेष सम्बोधन गरेका छन् ।
नयाँ नेतृत्व चयन गर्ने मुख्य एजेण्डा रहेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको आगामी निर्वाचनमा आफूहरूका लागि प्रतिकूल परिणाम आउन सक्ने भन्दै त्यो हिजोको जनमतको दुरुपयोग भएको बताए । ओलीले यो चुनाव हिजोको जनादेशबाट हुन लागेकाले यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।
ओलीले हरेक सवालमा एमालेको नीति सर्वश्रेष्ठ भएको समेत दाबी गरे । ‘कहीँ कमजोरी देखाइदिनुभयो भने हामी धन्यावाद दिनेछौं,’ उनले भने, ‘लोकतन्त्रको सवालमा, समाजिक न्यायको सवालमा, अग्रगमन, सामाजिक सुरक्षाको सवालमा अथवा अन्य पक्षमा हाम्रा नीतिहरूमा कमजोरी छन् भने ती देखाइदिन आग्रह गर्न चाहन्छौं ।’
अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने अन्य नेताहरुले पार्टी विभाजनले दैलेख जिल्लामा एमालेलाई कुनै पनि असर नगरेको बताए । नेताहरुले सम्बोधनका क्रममा जिल्लामा एमालेको जनमत नघटेको र पार्टी विभाजनबाट नआत्तिन कार्यकर्ताहरु लाई आग्रह गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य तथा दैलेख ईन्चार्ज लक्ष्मी पोखरेलले पार्टीलाई बलियो बनाएर अगाडी बढ्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा एमाले बहुमतका साथ सरकारमा सहभागि हुने बताए ।
एमालेका केन्द्रीय सदस्य तथा प्रचार बिभाग उप–प्रमुख बिष्णु रिजालले सबै तत्वबाट पार्टीलाई कमजोर बनाउन घेराबन्दी गरिएका बेला पार्टीमा झनै उत्साह पैदा भएको बताएका छन् । उनले एमाले आगामी निर्वाचनमा देशको पहिलो शक्ति हुने दाबी गरे । एमालेका केन्द्रीय सदस्य राजबहादुर बुढाले एमालेको आन्दोलनले बहुदलिय जनवाद सिर्जना गरेको बताउँदै यसको संरक्षण गर्न पार्टीका सम्पूर्ण पंतिहरु लाग्नु पर्ने बताए । अन्यायमा परेकालाई सात दिदै पार्टीलाई बलियो बनाउनु पर्ने बुढाले धारणा छ । ‘जिल्लाको विकास निर्माणका कामहरुमा एमालेको ठूलो भूमिका छ,’ उनले भने ‘जिल्लालाई समृद्ध बनाउन लाग्नु एमालेको पहिलो कर्तव्य हो ।’
एमालेका केन्द्रीय सदस्य तथा कानून विभागका उपप्रमुख धर्मराज रेग्मीले नेकपा एमालेलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताए । एमालेको शक्ति अगाडी गठबन्धनको नाममा भएको झुण्डले एमाले लाई देशको पहिलो शक्ति हुनबाट नरोक्ने बताए । बाँकी पृष्ठ ४ मा
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले पार्टीलाई एकजुट बनाएर अलोकतान्त्रीक गठबन्धन गरेकालाई परास्त गर्दै देशको पहिलो शक्ति भएर जनताका आधारभूत आवश्यकता पूरा गर्ने गरिने बताए ।
एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले निर्वाचनका नाममा अमर्यादित गतिविधि नगरी पार्टीले कोरेको मार्गदर्शनलाई आत्मसाथ गर्दै नयाँ नेतृत्व चयन गरिनुपर्ने बताए ।


अर्को प्रसंगमा अध्यक्ष शर्माले एमालेका सबै नेता कार्यकर्ताको पहिलो दायित्व भनेको पार्टीको मूल उद्देश्यलाई आत्मसात गर्दै अघि बढ्नु रहेको बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई सबै तहमा बहुमतमा ल्याउने गरी लाग्नुपर्ने उल्लेख गरे । उद्घाटन कार्यक्रमलाई एमाले केन्द्रीय सदस्यहरु मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए । जिल्लाभरबाट सात सय बढि प्रतिनीधि सहभागि अधिवेशनको नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्षमा सात जनाको दाबी
नेकपा एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन शुक्रवारबाट सुरु भएको छ । शुक्रवार उद्घाटन सत्र सम्पन्न भएको छ । आज विहान ८ बजेदेखि बन्दसत्र सुरु हुने एमाले दैलेखले जनाएको छ ।
एमाले अधिवेशनमा नेतृत्व लिन रस्साकस्सी सुरु भएको छ । जिल्ला अध्यक्ष पदका लागि सात जना आकाँक्षी रहेको नेताहरुले जानकारी दिएका छन् । वर्तमान अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा पुनः अध्यक्ष पद दोहो¥याउने तयारीमा छन् ।
शर्मासँगै वर्तमान पार्टी उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, पूर्व जिल्ला विकास समितिका उपसभापति सूर्यबहादुर शाही, औधोगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले समेत जिल्ला अध्यक्षका लागि दाबी गरेका छन् ।
यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य सुशिल थापा र गुराँस गाउँपालिकाका नेता कर्ण खड्काको चर्चा चलेको छ । जिल्लाका शिर्ष नेताहरु भने सर्वसम्मत नेतृत्व चयन गर्ने बिषयमा निरन्तर छलफल गरिरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार