केन्द्रको निर्णय कुर्दै दैलेख एमाले

माघ २, दैलेख
नेकपा एमाले दैलेखको निर्वाचनका बिषयलाई लिएर देखिएको समस्या समाधानको अन्तिम जिम्मेवारी केन्द्रीय कार्यालय सम्म पुगेको छ । केन्द्रीय निर्वाचन आयोगले कस्तो निर्णय गर्छ सोही आधारमा आगामी कामहरु अघि बढ्ने भएपछि नेकपा एमाले दैलेख अहिले केन्द्रको निर्णय कुरेर बसेको छ ।
मतदानको बिषय र मतगणना सम्मको बिषयलाई लिएर एक आपसमा भएको बिवादको निश्कर्ष जिल्लाका नेताहरुले गर्न नसकेपछि कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेलले समेत बिवादको बिषय बुझ्न दैलेख आएर फर्किसकेका छन् ।
केन्द्रले पनि दैलेखको बिवादलाई बिशेष रुपमा हेरेको छ भने केन्द्रीय नेतृत्व गरेका जिल्लाका नेताहरु समेत अहिले समस्यामा परेका छन् ।
निर्वाचन पश्चात मतदाता संख्या भन्दा ३१ मत बढी खसेपछिको बिवाद कसरी समाधान गर्न सकिन्छ भन्ने बिषय नेकपा एमाले केन्द्रीय कमिटीमा पुगिसकेका कारण केन्द्रले जे निर्णय गर्छ सोही आधारमा आगामी प्रक्रिया थालनी हुने नेकपा एमाले दैलेखका एक नेताले जानकारी दिएका छन् ।
तीनवटा बिकल्पमा छलफल भएको जानकारी
जिल्लाको बिवाद केन्द्रमा पुगेपछि अहिले तीनवटा बिषयमा छलफल भएको बुझिएको छ । निर्वाचन प्रक्रिया सम्पन्न भइसकेकोले बढी देखिएका मतहरुलाई पदाधिकारी सबैको मत संख्यामा बरावर घटाउने र मतपत्र गणना गर्ने, सर्बसम्मतीको आधारमा केन्द्रले नै उम्मेदवारी घोषणा गरेर निर्णय सुनाउने, त्यसो नभए पुनः निर्वाचन गर्ने बिषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।
लामो समय सदरमुकाम कुरेर निर्वाचन भएकोले पुनः प्रतिनिधिहरुलाई चुनावमा भाग लिन लगाउँदा आगमी दिनहरुमा झनै समस्या हुने भएकोले सर्वसम्मतीको लागि पनि प्रयासहरु भइरहेका छन् । अर्कोतर्फ यही मतदान प्रक्रिया भित्र फर्जि मतहरु छुट्टाएर पुनः मतगणना गर्ने बारेमा पनि छलफल भएको एमाले स्रोतले जानकारी दिएको छ । पुनः चुनावी प्रक्रियामा जाने हो भने सबै प्रक्रिया बदर गरेर पुनः उम्मेदवारी दर्ता गरेर नयाँ तरिकाबाट जानुपर्ने बिषय उठेकोले पनि केन्द्रले कसरी निर्णय गर्छ भन्ने बिषयमा सबैको चासो बढेको देखिन्छ । सर्वसम्मत चयन भएका नेताहरु भने आफुहरुको प्रक्रिया टुंगिसकेकोले बाँकी पदहरुका बिषयमा केन्द्रले निर्णय गर्नेमा ढुक्क देखिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार