काठमाडौंः कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका छन् । गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन् । थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसको पुष्टि गरेका छन् ।
उनले सोमबारै काठमाडौंमा आफूनिकट नेताहरुको भेला गरेर राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाउने घोषणा गरेका थिए । गत मंसिरमा काठमाडौंमा भएको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई दिएका थिए ।
उनले त्यसको छानबिनका लागि उनले मंसिर २७ र माघ १६ गते दुई पटकसम्म निवेदन दिएका थिए । तर अध्यक्ष लिङ्देनले त्यसबारेमा छानबिन हुन नसक्ने अडान लिएका थिए ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु’, उनले भनेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भए नि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हुँ ।’
उनले पार्टी छाड्दा छाड्दै राप्रपा र त्यहाँ रहनेको भलोको कामना पनि गरेका छन् । ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छ’, उनले भनेका छन्, ‘पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छ । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’










