कमल थापाले पार्टी छोडे केही असर पर्दैनः लिङ्देन

काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् ।
बुधवारको लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आउँदो जीवनमा केही फरक नपर्ने बताएका हुन । राप्रपा अझै दृढ, सङ्गठित र सशक्त रूपले अगाडि बढ्ने उनले बताए ।
अध्यक्ष लिङ्देनले भने ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुःखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भए पनि हाम्रो आउँदो जीवनमा अगाडि बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ सङ्गठित र अझ सशक्त भएर अगाडि बढ्छौँ ।’
उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्तालाई आह्वान गरे । पार्टीलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले त्यस प्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे । उनले भने ( ‘हामीले सबै साथीहरूलाई आह्वान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहनु भएका कसैले पनि यो खालका कामहरू गर्नुहुने छैन ।’
अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुनर्विचार गर्न आग्रह समेत गरेका छन् । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्यसमेत नरहेको भन्दै उहाँले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे ।
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उहाँले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले त्यो घटनालाई अनपेक्षित र अप्रत्याशित रूपमा लिएको उल्लेख गरे । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भए पनि थापाले पार्टी छोडेको उनले स्पष्ट पारे ।
निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उनको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए । निवर्तमान अध्यक्ष थापाले हिजो मंगलवार पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
राप्रपाले बोलायो
केन्द्रीय पदाधिकारीको बैठक
पार्टीका निवर्तमान अध्यक्ष कमल थापाको वहिर्गमनपछिको अवस्था समीक्षा गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज केन्द्रीय पदाधिकारी बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, आसन्न स्थानीय तहको निर्वाचनको तयारी र विविध विषयमा छलफल गर्न राप्रपाले माघ २७ गते बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टीले कसरी तयारी गर्ने भन्ने विषयमा विस्तृत छलफल हुने श्रेष्ठले बताए ।
बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने निर्णय गरेको विषयमा पनि छलफल हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार