
फागुन ४, दैलेख
सरकारले स्थानीय तहको निर्वाचनको आगामी वैशाख ३० गते निर्णय गरे सँगै जिल्लामा रहेका विभिन्न राजनैतिक दल निर्वाचन केन्द्रित कार्यक्रम लिएर गाउँ–टोलमा केन्द्रित भएका छन् ।
सोही चुनावलाई लक्षित गरेर राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रमलाई अगाडी बढाइरहेको छन् । यसअघि नै जनधार बलियो भएका पार्टीहरू मुख्य प्रतिस्पर्धीलाई जित्ने गरी रणनीति बनाउँदै छन् भने कमजोर जनमत भएका दलहरूले संगठन विस्तारलाई प्राथमिकता दिइरहेका छन् ।
नेकपा (एमाले) दैलेख केही दिन यतादेखि वडा तहबाटै चुनाव लक्षित अभियानहरू गरिरहेको छ ।
एमालेले जिल्लाका ११ पालिकाका ९० वटै वडामा निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ । नेकपा एमाले दैलेखका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले निर्वाचनको मिति तोक्न पार्टी र पार्टीका जनबर्गिय संगठनको दबाबका बीच निर्वाचनको मिति तोकिएको बताउँदै आफ्नो पार्टीले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरेको बताए । उनले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ स्थानीय तह मध्ये ७ स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उप प्रमुख नेकपा एमालेले विजयी हासिल गरेको बताउँदै आगामी निर्वाचनमा आफ्नो विरासत जोगाउन कार्यकर्ताका बीच जाने पार्टीको निर्णय गरेको बताए । उनले भने एमालेको मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस हो । आउँदो स्थानीय तहको निर्वाचनमा पनि काँग्रेससँगै प्रतिस्पर्धा हुन्छ त्यही अनुसार एमालेले यसअघि हाम्रो उपस्थिति कमजोर भएका ठाउँमा पनि यस पटक ‘गेम चेन्ज’ गर्ने योजनाका साथ अभियानहरू थालिएका छन् । उनले हालकै सत्ता गठबन्धनसँग चुनावमा भिड्नुपर्ने अवस्था आए पनि एमाले एक्लैले जित्ने थुप्रै आधारहरू रहेको दाबी गरे ।
जिल्लामा क्रियाशील अर्को धेरै जनधार भएको दल नेपाली काँग्रेसले पनि स्थानीय तहको चुनावका लागि पार्टी गतिविधि अघि बढाएको छ । नेपाली काँग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले चुनाव केन्द्रित हुने गरी काँग्रेसले पार्टीका योजना बनाइएको बताए । उनले अहिले नै चुनाव केन्द्रित कार्यक्रम भन्दा पनि पार्टीका सम्पर्क कार्यालय स्थापना गर्ने, पार्टीमा प्रवेश गर्नेहरूको स्वागत गर्ने क्रियाकलाप गरिरहेको बताए । उनले भने ११ स्थानीय मध्ये चार स्थानीय प्रमुख र एक स्थानीय तहमा उप प्रमुख जितेको थियौ यो निर्वाचनमा गठबन्धनले के गर्ने हो नत्र एक्लै दैलेखका सबै स्थानीय तहमा काँग्रेस जित्ने गरी लागि परेको छ । दैलेखमा काँग्रेसको प्रमुख प्रतिस्पर्धी पार्टी एमाले हो । अहिले पार्टी विभाजन भएको बेला नेपाली काँग्रेसले सहजै विजयी हासिल गर्छ त्यही अनुसार पार्टीले उम्मेदवार चयन गर्नेछ सभापति रेग्मीले भने । त्यस्तै, नेकपा रुमाओवादी केन्द्र) ले संगठन सुदृढीकरणमा जोड दिएको छ । जिल्लामा अघिल्लो स्थानीय तहको निर्वाचनमा एक मात्र वडा सदस्य जितेको माओवादीले अहिले केही स्थानीय तहमा आफ्नो पार्टी विजयी बनाउन लागि परेको छ ।
माओवादी केन्द्र दैलेखका नेता छविराम सुबेदीले पार्टीले निरन्तर रूपमा जनताका बीचमा गतिविधि गरिरहेको बताए । ९० वडा मध्ये तीन वडा जितेको मजदुर किसान पार्टी, एक वडा जितेको राप्रपा नेपाल पार्टी समेत निर्वाचन केन्द्रित अभियान सञ्चालन गरेका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि आफ्ना राजनीतिक गतिविधि गाउँ केन्द्रित गरेको छ । एमाले विभाजनपछि बनेको समाजवादी हाल संगठन विस्तारकै क्रममा छ । नयाँ दल भएकाले समाजवादीले संगठन विस्तारलाई बढी जोड दिइरहेको हो । जिल्ला अध्यक्ष बरुनाथ योगीका अनुसार स्थानीय स्तरमा कमिटी गठन, पार्टी कार्यालयहरूको व्यवस्थापन लगायतका कामलाई तीव्रता दिइएको बताए । उनले वडा तहदेखि नै सांग्गठनिक प्रशिक्षणका गतिविधि भइरहेको बताए । उनले भने हाम्रो पार्टीमा दुई स्थानीय तहका प्रमुख, र तीन स्थानीय तहका उप प्रमुख हुनुहुन्छ । जिल्लामा क्रियाशील सबैजसो राजनीतिक दलहरूले आफ्नो पार्टी नै आउँदो स्थानीय तहको चुनावमा पहिलो बन्ने दाबी गरिरहेका छन् । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै सबै राजनीतिक दलहरू त्यसतर्फ लक्षित भइरहेका हुन् ।










