काठमाण्डौः राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताएका छन् ।
पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाए ।
राजसंस्थाले नै राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरिरहेको पनि उनले बताए । सैद्धान्तिक रुपमा राप्रपामा विचलन आएको र आफूलाई गरेको अपमान् सहन नसकेपछि आफ्नै घरमा फर्किएको अध्यक्ष थापाले बताए ।
पाँच वर्षअघि राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो । त्यो एकता आफ्नो गल्ति भएको पनि थापाले बताए । केही समय अघि सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा छाडेका हुन् । थापाले आफूले पार्टी फुटाएको नभई पुरानो घरमा फर्किएको दावी गरे । लाक्पा तामाङले नेतृत्व गर्दै आएको राप्रपा, नेपालको अध्यक्षमा केही दिन पहिले मात्रै थापा चयन भएका थिए ।










