
काठमाण्डौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैँले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुङ्गा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृह मन्त्री बालकृष्ण खाणलाई प्रश्नसमेत गरे ।
सोमवार काठमाण्डौको दहचोकमा रहेको काजी कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले त्यस सम्बन्धमा गृह मन्त्री खाणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुङ्गा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नू भनेर सत्तारुढ दलहरूले नै आदेश दिएको भन्दै आक्रोश व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘हिजो मैले देखेँ, १५ जनाले ढुङ्गो हान्छ । डेढ सय पुलिस लुकेर बस्छ । किनभने लाठी चलाउने उसलाई आदेश छैन । अश्रु ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैन । पुलिसहरू घाइते भएका छन् । मैले गृह मन्त्रीजीलाई भनेँ तपाईँ पुलिस सडकमा किन पठाउनुहुन्छ ? सत्ताधारी गुटले, शासकहरूले नै, सत्ताधारीहरूले नै सडकमा ढुङ्गा हान्न मान्छे पठाएका छन् । बाटो भत्काइएको छ ।’
उनले एमसीसी सम्झौता गर्ने, त्यसलाई संसदमा टेबल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरूले विरोधसमेत नगरेको चर्चा गर्दै आपत्ति जनाए । एमसीसी संसदमा टेबल गर्नसमेत सत्तारुढ दलहरूले षड्यन्त्र गरेको अध्यक्ष ओलीको दाबी थियो । उनले एमसीसीबारे सत्तारुढ दलहरूले दोहोरो–तेहोरो चरित्र देखाइरहेको पनि दोहो¥याए । उनले सत्तारुढ नेकपा (एकीकृत समाजवादी) मा आबद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरूलाई क्रान्तिकारी भन्न नमिल्ने बताए ।
कार्यक्रममा बोल्दै उनले काजी कालु पाँडेजस्ता पूर्वजहरूले नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरूको बुद्धि विश्लेषण, बहादुरी र वीरताको सदा सम्मान गर्ने बताए । उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय रहे पनि कीर्तिपुरमाथिको आक्रमणको क्रममा गल्ती गरेको दाबी गरे ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कालु पाँडेका जीवनी एउटा अनुसरणीय, असाधारण बहादुरीको कीर्ति हो । बुद्धि र विश्लेषणको, युद्ध कौशलको, रणनीतिको यी कुराहरू पनि पृथ्वीनारायण शाहले स्वीकार गरेको भए, ढिपी नगरेको भए कालु पाँडेको ज्यान पनि जाँदैन थियो, कीर्तिपुर पनि सहजै जितिने थियो ।’ अध्यक्ष ओलीले इतिहासको तथ्यलाई स्मरण गर्दै राष्ट्र निर्माणको अभियानमा आफूहरू प्रतिबद्ध भएर लागिपर्ने पनि बताए ।










