काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको वैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले पोखरा विमानस्थलमाप पत्रकारहरूसँग गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जाने बताएका हुन् । उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए ।
‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘वडादेखि नै गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो । तर पनि हामीले अन्य दलका पार्टीका नेताहरूसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैछ ।’
उनले अरू पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्ने धारणा राखे । प्रचण्डले भने ‘हामी कसैको बैशाखी टेक्ने होइन, अरू पार्टी माओवादीसँग तालमेल गर्न आउँदैछन् ।’ उनले जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे ।
‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए । तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए,’ उनले भने, ‘०६४ को परिणाम हाम्राअगाडि छ । अब ०७९ मा चुनावमा जाँदा देशैभरिको सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेका छौँ ।’ यस्तै, उनले भर्खरै एमालेसँग गठबन्धन भइनहाल्ने पनि बताए । चैत ३ मा बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर आफैले भनेका कुराबारे प्रचण्डले प्रष्टीकरण दिएका हुन् ।










