नारायणमा नगरप्रमुखको चर्चा चुलिदै

  • एमालेबाट ३ काँग्रेसबाट १८ को आकाँक्षा

  • चैत्र ७, दैलेख
    स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा ११ वटा स्थानीय तह रहेको दैलेखमा चुनावी सरगर्मी बढेको छ । सरकारले वैशाख ३० गते (विहीबार) तोकेको स्थानीय तहको निर्वाचनको आउन ५२ दिन बाँकी रहँदा दैलेखमा नगर÷गाउँपालिका प्रमुखका आकांक्षीले आफ्नो पक्षमा प्रचार गर्दै आएका छन् ।
    यदपी पार्टीहरुले भने उम्मेदवारको आधिकारीकता प्रदान गर्न सकेका छैनन् ।
    वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकामा नगर प्रमुखका लागि एमालेका तर्फबाट तीन जनाले आकांक्षा देखाएका बुझिएको छ ।
    नारायणमा नगर प्रमुखकालागि एमालेमा प्रभावशाली नेता मानिने लोमन शर्मा, एमालेबाट नारायणका हालका नगरप्रमुख रत्न बहादुर खड्का र हाल समन्वय समितिका दैलेखका प्रमुख रहेका प्रेम बहादुर थापाले नगरप्रमुख बन्ने आकांक्षा व्यत्त गरेका हुन् ।
    एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमालेबाट नारायणको उम्मेदवार को बन्ने भन्ने बारेमा छलफल टुँगोमा नपुगेको र आकाँक्षीहरुले आफ्नो मत जाहेर गरेको बताए । ‘हामीसँग नगरप्रमुख बन्नका लागि तीन जना उम्मेदवार तयार भएर बस्नु भएको छ । तीन जना मध्ये कोही पनि उम्मेदवार बन्न सक्नुहुन्छ उनी भन्छन्, ‘हामी अनुहार हेर्नेभन्दा पनि कसले जित्न सक्छ भन्ने एंगलबाट उम्मेदवार छनौट गर्छौँ ।’
    यता, काँग्रेसमा भने नगरप्रमुख बन्न चाहनेहरूको संख्या १८ रहेको बताइएको छ । काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीका अनुसार हाल नारायण नगरपालिकामा पार्टी भित्रबाट नगर प्रमुखका लागि १८ जनाले आकांक्षा देखाएका छन् ।
    रेग्मीले १८ जनाले उम्मेदवार बन्न चाहेको स्वीकार गर्दै उहाँहरूलाई संख्या घटाउन भनिएको सकेसम्म सहमतिमै उम्मेदवार तय गर्ने गरी गृहकार्य भैरहेको धमाका दैनिकसँग बताए । उनले अहिले नै को उम्मेदवार बनाउने भन्ने बारेमा कुनै निष्कर्ष ननिकालिएको बताए ।
    उनले पार्टीको विधान अनुसार टिकटका लागि एक स्थानीय तहबाट प्रमुख पदका लागि एक महिला दुई खुल्ला गरी तीन जनाको नाम प्रदेशमा पठाएको खण्डमा एक जना नगर प्रमुख वा पालीका प्रमुखको उम्मेदवार चुनिने बताए ।
    नारायणमा नगर प्रमुखका लागि अहिले काँग्रेसबाट गणेश उपाध्याय, वासना थापा, प्रकाश न्यौपाने, मनोज थापा, टेकबहादुर कटुवाल, मिना थापा, यामबहादुर मल्ल, निर्मला खड्का, भूपेन्द्र शाही, बखत कटुवाल, देवेन्द्र थापा, ओम केसी, गणेश श्रेष्ठ, पूर्णबहादुर मल्ल लगायत १८ जनाले आकाँक्षा देखाएका छन् ।
    गठबन्धन हुने वा नहुने विषयमा सोधिएको प्रश्नको जावाफ दिदै पार्टी सभापति मणिराम रेग्मीले गठबन्धन बनाउनुपर्ने माग आएको बताए । ‘२०७४ सालको निर्वाचनमा पनि गठबन्धन बनाएर जाऔँ भन्ने कुरा थियो तर हामी एक्लै गयौँ । यो पटक गठबन्धन हुने सम्भावना धेरै छ ।’ पार्टी केन्द्रको निर्देशनमा पनि यो कुरा भर पर्छ ।’
    गठबन्धन भए पनि नभएपनि नेपाली काँग्रेसको जिल्लाभरी राम्रो प्रभाव रहेको र बहुमतका साथ बिजयी हुने दाबी रेग्मीको छ ।
    यता, नेकपा एमालेका दैलेखका अध्यक्ष रवीन्द्रराज शर्मा एमाले गठबन्धनबाट नतर्सने बताउछन् । उनले सबै दल एक भएर आए पनि एमालेले नारायणमा मात्र नभई जिल्लाका ११ स्थानीय तहका ९० वडामै बहुमत ल्याउने बताए ।
    उनले भने, ‘हामी एकजुट छौँ । पार्टीमा कुनै समस्या छैन । अन्य दलसँग निर्वाचनमा प्रतिस्पर्धी गर्नका लागि अन्य कुनै उपाय खोज्नुपर्ने जस्तो पनि देखिदैन् । नेकपा एमाले अन्य पार्टी एक हुन्छ कि हुँदैनन् यस्ता विषयका चासो राख्दैन ।’
    शर्माले सबै दल एक्ला एक्लै निर्वाचनमा होमिएर देखाउन चुनौती दिए । ‘एमाले दैलेखको एक नम्बर पार्टी हो सधैँ भई नै राख्छ । गठबन्धन नै आयो भने पनि डराउनुपर्ने अवस्था छैन । हामी डराउने मनस्थितिमा छैनौँ । जनताले हाम्रा कामको मूल्याङ्कन गरेका छन् मुलुकको विकासका लागि एमालेबाहेक अरूको सम्भावना छैन भन्ने जनतामा छाप परेको छ ।’ उनले भने ।
    ०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिकामा एमालेले करिब एकलौटी जीत हात पारेको थियो । नगरप्रमुख, उप्रप्रमुखसहित ८ वडा जितेको थियो । पछिल्लो समय एमालेबाट छुट्टीएर समाजवादी पार्टी गठन भएका कारण एमालेलाई चुनौती हुने र आफुहरुको विजय सुनिश्चित भएको काँग्रेसको दावी छ ।
    गठबन्धनमा सकस
    सरकार सञ्चालन गरिरहेको पाँच दलिय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, र नेकपा एकिकृत समाजबादीले दैलखका महावु, नौमूले, भगवतीमाई र नारायण नगरपालिकामा आफुहरुले प्रमुख सहित उम्मेदवार पाउनुपर्ने दावी गरेका छन् ।
    भगवतीमाई गाउँपालिका, नौमूले र महावुमा नेपाली काँग्रेसका कार्यकर्ताहरुको अवस्था राम्रो देखिएका कारण ती क्षेत्रहरु छोड्न नहुने भन्दै नेता र कार्यकर्ताहरुले पार्टीमा दवाव सृजना गरिरहेको बुझिएको छ । नेकपा एकिकृत समाजवादीले नारायणमा नगर प्रमुख सहित अन्य उम्मेदवार पाउनुपर्ने दावी गरेको बुझिएको छ । निर्वाचित उपप्रमुख सावित्रि मल्ल नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेकोले उनले नगर प्रमु्खको सशक्त दावी प्रस्तुत गरेकी छन् ।
    पाँच दलिय गठबन्धन र एमाले एक्लै चुनावमा जाने अवस्था आएमा नारायणमा प्रभावसाली मानिएको राप्रपाले समेत चुनावी तालमेल भएर जाने अवस्था आउन सक्ने अनुमान गरिएको छ । नेकपा एमाले सँग तालमेलको संभावनालाई खुकुलो बनाएको राप्रपाका नेताहरुले बताएका छन् । एक्लै पनि चुनावमा जाने तयारी छ आवश्यकता भए तालमेल पनि हुन सक्छ । एमाले सँग तालमेल हुँदा राप्रपाले उपप्रमुख दावी गर्न सक्ने आँकलन गरिएको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी समेतको चुनावी तालमेल हुनसक्ने देखिएकोले दैलेखको नारायण नगरपालिकाको चुनाव निकै पेचिलो हुनसक्ने बिश्लेषण गरिएको छ ।
    आकाँक्षी उम्मेदवारहरु निरन्तर घरदैलो अभियानमा सक्रिए देखिएका छन् ।
    दैलेखका ११ वटै स्थानीय तहमा उम्मेदवारको आकाँक्षा राखेका नेताहरुले घरदैलो, भेटघाट सभा र अन्य कामहरुलाई तीव्रता दिएका छन् । यो सँगै वडा अध्यक्ष लगायतका आकाँक्षीहरुले पनि नेता देखि कार्यकर्ताहरु सम्म भेटघाट तीव्र पार्दै लगेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार