दुल्लू र भैरवीमा उम्मेदवारको चर्चा नारायणमा काँग्रेसमा सकस एमालेलाई सहज


चैत्र ९, दैलेख
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखका ११ वटै स्थानीय तहमा उम्मेदवारहरुको चर्चा चुलिदै गएको छ ।
सरकारले आगामी वैशाख ३० गते चुनावको मिति तोके सँगै चुनावी अभियानले गाउँघर तातिएको छ ।
जिल्लामा रहेका नेपाली काँग्रेस र नेकपा एमाले लगायतका अन्य दलहरुले आफ्ना उम्मेदवारहरुको आधिकारीकता प्रदान गर्न सकेका छैनन् । उम्मेदवारहरुको चर्चा भने चलिरहेको छ । आफुले नेतृत्व पाउनुपर्ने दावी सहित आकाँक्षीहरु अहिले भेटघाटलाई तीव्रता दिन थालेका छन् ।
दैलेखको दुल्लू नगरपालिका र महावु गाउँपालिकामा पनि नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरुको चर्चा चुलिएको छ ।
दुल्लू नगरपालिकामा नेकपा एमालेबाट तिलक रिजाल , डा. रमेश आचार्य, रुद्र शाही, कपिल खनाल, हर्कबहादुर खड्का र गंगाराम दाहालको चर्चा चलेको छ । वर्तमान उपप्रमुख बिष्णादेवी थापा र कोकीला शर्माको पनि चर्चा उतिकै रहेको छ । एमाले दुल्लूले अहिले चर्चामा आएका नामहरुको विवरण मात्र प्राप्त भएको र नेतृत्व चयनका लागि छलफल सुरु नगरेको बताएको छ । वडा कमिटी हुँदै नगर कमिटीमा नाम आएपछि बैठकले नाम सिफारिस गर्ने बताइएको छ ।
दुल्लू नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट वर्तमान नगर प्रमुख घनश्याम भण्डारी, मातृका रिजाल, भरत रिजाल लगायतको चर्चा चुलिएको छ ।
दैलेखको महावु गाउँपालिकामा नेकपा एमालेबाट मिनबहादुर बुढा, हरिप्रसाद उपाध्याय, पूर्णबहादुर शाही, चन्द्र दाहाल, लक्ष्मी कार्कीको नाम चर्चामा छ । गाउँपालिका उपाध्यक्षका लागि दुर्गा सिंह र कौशीला शाहीको नाम चर्चामा रहेको एमाले नेताहरुले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसबाट महावु गाउँपालिकाका लागि लक्ष्मण गुरुङ, झलक भण्डारी, बासुदेव उपाध्याय, रमेश दशौदी, सुर्वण शाही लगायतको चर्चा चुलिएको छ । नेपाली काँग्रेसको वडाबाट आएका सिफारिस सँगै पालिका कमिटीबाट निर्णय गरेर नाम सिफारिस हुने काँग्रसका नेताहरुले जानकारी दिएका छन् ।
नारायणमा काँग्रेसलाई सकस एमालेलाई सहज
नारायण नगरपालिका दैलेखमा नगर प्रमुखको उम्मेदवार छान्न एमालेलाई सहज देखिएको छ, भने काँग्रेसलाई सकस देखिएको छ ।
नगर प्रमुखका लागि प्रभावशाली १८ जनाले उम्मेदवारीमा आकांक्षा देखाएपछि काँग्रेसलाई नेतृत्व छान्न सकस परेको हो ।
लामो समय शिक्षक पेशामा रही अवकास प्राप्त गरेका नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति समेत रहेका प्रभावशाली नेता खेमराज केसी शिक्षक पेशामै लागेका कृष्ण बहादुर थापाले समेत नगर प्रमुखमा आकाँक्षा देखाएका छन् । नेपाली काँग्रेसको २०१८ सालमा जनक्रान्तिका सुदुरपश्चिम र मध्यपश्चिमका कमाण्डर माननीय स्वर्गीय रत्नबहादुर विश्वकर्माका छोरा रेशम विश्वकर्मा, लामो समय नेपाली काँग्रेसको क्षेत्रीय सभापति भई काम गरिरहेका गणेश उपाध्याय, युवा नेत्री वासना थापा, युवा नेता प्रकाश थापा, नारयण नगर सभापति मनोज थापा, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, भूपेन्द्र शाही, बखत कटुवाल, पूर्णबहादुर मल्ल लगायतका १८ जनाले नगरप्रमुखमा आँकाक्षा देखाएपछि नेपाली काँग्रेसलाई नगर प्रमुख छान्न सकस देखिएको हो ।
आकाँक्षी १८ मध्य १ जनाको नाम सिफारिस गर्नुपर्ने छ बाँकी १७ लाई कता व्यवस्थापन गर्ने काँग्रेसको लागि चुनौति भए पनि पार्टीले टिकट दिएको व्यक्तिलाई विजयी गराउन सबै लाग्ने एक नेताले बताए ।
नेकपा एमालेबाट प्रभावशाली नेता लोमन शर्मा, वर्तमान नगर प्रमुख रत्नबहादुर खड्का र वर्तमान जिल्ला समन्वय समित प्रमुख प्रेम बहादुर थापा सहित ३ जनाको मात्र दावी भएकोले तीन जनामा अन्य २ जनालाई प्रदेश वा अन्य स्थानमा व्यवस्थापन गर्न सजिलो हुने देखिएकोले एमालेलाई उम्मेदवार छान्न सहज बनेको नेताहरुको विश्लेषण छ ।
यस अघि प्रदेश सभाको सांसदको लागि नाम छनौट भए पनि पार्टीले अर्को भूगोलका नेता अम्मर बहादुर थापालाई टिकट दिएपछि उम्मेदवारीबाट पछि हटेका लोमन शर्माले यस पटकको टिकट पाउन सक्ने आकलन गरिएको छ ।
नारायण नगरपालिकाको उपप्रमुखका लागि नेकपा एमालेबाट लामो समयदेखि नेकपा एमालेमा सक्रिए राजनीति गर्दै आएकी सक्रिय युवा नेता तप्ता थापाको चर्चा चुलिएको छ भने नेपाली काँग्रेसबाट उपप्रमुखमा लामो समयदेखि शिक्षक पेशामा आबद्ध प्रभा सिजापतीको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार