बिआरआई कार्यान्वयन गर्न ओली र प्रचण्डको माग

काठमाडौंः नेकपा एमाले र माओवादी केन्द्रले चीनसँग बिआरआई लगायतका परियोजना कार्यान्वयन गर्न माग गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त माग गरेका हुन् । आइतवार चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यीसँगको छुट्टाछुट्टै भेटका क्रममा नेता ओली र प्रचण्डले उक्त माग गरेका हुन् ।
भेटका क्रममा ओलीले बीआरआई अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजना अगाडि बढाउन चीनसँग आग्रह गरे । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटका क्रममा उक्त आग्रह गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष ओलीले बिआरआईसँग जोडिएका आयोजना तत्काल अघि बढाउन आग्रह गरे । भेटमा बिआरआईअन्तर्गतका सडक, सिँचाइ, रेल, जलविद्युत् र सीमानाका बनाउने कुरामा छलफल भएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।
उनले भेटमा अध्यक्ष ओलीले कोरोनाको महामारीपछि बन्द भएका नेपालसँगका नाकाहरू खोल्न, कोभिडका कारण चीनबाट फर्किएका त्यहाँ अध्ययनरत विद्यार्थीलाई लैजान र हुम्ला पारी अलपत्र परेका करिब ५ सय नेपालीलाई नेपाल आउने व्यवस्था मिलाइदिन पनि आग्रह गरेको बताए ।
विभाग प्रमुख भट्टराईले भने, ‘द्विपक्षीय विषयका थुप्रै विषयबारे छलफल भयो । अहिले बिआरआईसँग जोडिएका आयोजना अघि बढाउनुप¥यो भनेर शुरु गरेका छौँ । छिटोभन्दा छिटो कम्प्लिट गर्नुपर्छ । कोरोनो महामारीपछि बन्द भएका नाका खुल्नुप¥यो । त्यसैगरी चीनमा अध्ययनरत विद्यार्थीलाई छिटोभन्दा छिटो लगेर उनीहरूको अध्ययन सुचारु गरियोस् भन्ने हो ।’
विभाग प्रमुख भट्टराईले छलफलमा चीनले नेपालसँग गरेको सहमति र सम्झौता पुरानै प्रतिबद्धताअनुसार नै अघि बढाउने विदेशमन्त्री वाङले जानकारी दिएको बताए । यसैगरी माओवादी केन्द्रले दुई देशबीचको व्यापार घाटा सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
उनले भने, ‘हाम्रो पार्टीका तर्फबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध र दुई पार्टीबीचका सम्बन्धबारे चर्चा भयो । कोभिडको महामारीमा चीनको तर्फबाट गरिएको सहयोग, नेपालको पूर्वाधार निर्माण विकास प्रयासमा चीनबाट गरिएका सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्ने कुरा भएको भट्टराईले बताए ।
बस्नेतले बिआरआई कार्यान्वयन, दुई देशबीचको सन्तुलित व्यापार, व्यापार नाकाहरुलाई नियमित गर्ने, सहजीकरण गर्ने र त्यसलाई सन्तुलित गर्नका निम्ति प्रयास बढाउनेबारे प्रचण्ड र चिनियाँ पक्षबीच वार्ता भएको जानकारी दिए ।
नेपालमा चीनविरोधी गतिविधि हुन नदिन माओवादी केन्द्रले आवश्यक भूमिका निर्वाह गर्ने बताएको छ । नेपालका सबै राजनीतिक दलहरूसँग चीनको सम्बन्ध सुदृढ हुँदै गएको कुरा चिनियाँ पक्षले राखेको उनले बताए । चिनियाँ विदेशमन्त्रीले चीन र नेपालबीचको सम्बन्ध छिमेकीको रूपमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको नेता बस्नेतले बताए ।
यसअघि मन्त्री वाङले शनिवार परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्री शेरबहादुर देउवा र आइतवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।
यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन् ।
शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार