दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने

चैत्र १४, दैलेख
सरकारले आगामी वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनमा दैलेखमा १४ दलले भाग लिने भएका छन् ।
निर्वाचन आयोगले चैत २ देखि ६ गतेसम्म जिल्लामा क्रियाशील दलहरूको विवरण उपलब्ध गराउन भने बमोजिम दैलेखमा राष्ट्रिय बाहेकका ८ गरी १४ दलले आवेदन दिएका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताइन् ।
राष्ट्रिय दलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् ।
राष्ट्रिय मान्यता प्राप्त दल बाहेक राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, उन्नत लोकतन्त्र पार्टी, नेपाल परिवार दल, जनसमाजवादी पार्टी नेपाल, सामाजिक एकता पार्टी र राप्रपा नेपाल गरी ८ दल रहेका निर्वाचन अधिकारी काउचाले बताइन् ।
थपिए २५ हजार बढी मतदाता
दैलेखमा पछिल्लो पाँच वर्षमा साढे २५ हजार बढी मतदाता थपिएका छन् । दैलेखमा पछिल्लो पाँच वर्षमा २५ हजार ४ सय ९७ जना मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार पाँच वर्षको अवधिमा २५ हजार ४ सय ९७ जना मतदाता थपिएका बताइन् ।
दैलेखमा १ लाख ५८ हजार ४ सय ८९ जनाले मतदानमा भाग लिन पाउनेछन् । २०७४ को स्थानीय तह निर्वाचनमा १ लाख ३२ हजार ९ सय ८३ मतदाता रहेका थिए । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि दैलेखको दुल्लू नगरपालिकामा सबै भन्दा धेरै मतदाता छन् ।
दुल्लू नगरपालिकामा २५ हजार ५ सय २८ जना रहेका छन् । यस्तै आठबीस नगरपालिका १६ हजार ५ सय ६७ जना मतदाता छन् । गुराँस गाउँपालिकामा १३ हजार ४ सय ९२, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १४ हजार ६ सय ३३ जना मतदाता छन् ।
त्यसै गरी ठाटीकाँध गाउँपालिकामा १० हजार ३ सय ७५, डुङ्गेश्वर गाउँपालिकामा १० हजार ५ सय ८० जना मतदाता छन् । नारायण नगरपालिका १७ हजार ८ सय ६७, नौमूले गाउँपालिकामा १२ हजार ८ सय ६, भगवतीमाई गाउँपालिका ११ हजार ४ सय ९३ जना मतदाता रहेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
यस्तै, भैरवी गाउँपालिकामा १२ हजार ९ सय ३१ र महाबु गाउँपालिकामा १२ हजार २ सय १७ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार