कम्युनिष्ट फुटले दैलेखमा काँग्रेसलाई सहज


दैलेखः आगामी ०७९ वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन तोकेसँगै निर्वाचन आउन ४६ दिन बाँकी रहँदा यहाँका विभिन्न राजनीतिक दल चुनाव आफ्नो पक्षमा पार्न गाउँ–टोल अभियानलाई तीव्रता दिएका छन् ।
११ स्थानीय तह रहेको दैलेखमा ०७४ मा भएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई केलाउने हो भने वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट फुटले काँग्रेसलाई दैलेखमा निर्वाचन जित्न सहज देखिन्छ ।
दुई संघीय निर्वाचन क्षेत्र ,४ प्रदेश निर्वाचन क्षेत्रमा एमाले र माओवादीको कम्युनिष्ट गठबन्धनले सहजै जित हासिल गरेको थियो । यहाँका ११ स्थानीय तह मध्ये ०७४ को निर्वाचनमा एमालेले एक्लै ७ स्थानीय तहमा जित हासिल गरेको छ । नेकपा हुँदै एमाले विभाजनको असरले ०७४ जस्तै एमालेलाई स्थानीय तहमा साख जोगाउन भने चुनौती देखिन्छ ।
जोगियला साख ?
नेकपा हुँदै एमाले विभाजन पछि दैलेखमा एमाले लगायतका अन्य कम्युनिष्ट दलले आगामी निर्वाचनमा गठबन्धन नभएको अवस्थामा जित हासिल गर्न मुस्किल पर्ने जानकारहरू बताउँछन् । ०७४ सालको स्थानीय निर्वाचनको मत परिणामलाई हेर्ने हो भने दैलेखमा एमालेलाई आफ्नो साख जोगाउन हम्मे पर्ने आकलन गर्न सकिन्छ ।
यस अघिको स्थानीय तहको निर्वाचनताका यहाँको भगवतीमाई गाउँपालिकामा एमालेका उम्मेदवारले २३ सय २९ मत प्राप्त गरी निर्वाचित भएका थिए । १८ सय ८९ मत प्राप्त गर्दै पराजित भएको नेपाली काँग्रेस र एमालेको मतान्तर ४ सय ४० छ ।
एमाले विभाजन पछि दैलेखका अन्य स्थानीय तह भन्दा भगवतीमाईमा समाजवादीको राम्रो उपस्थिति देखिन्छ । उक्त गाउँपालिकामा माओवादीले १६ सय ७२ मत प्राप्त गरेको थियो । पाँचदल गठबन्धन गरी निर्वाचनमा गएको खण्डमा भगवतीमाईमा अध्यक्ष÷उपाध्यक्ष सहित बहुमत कार्यपालिका जितेको एमालेलाई आफ्नो पुरानो साख जोगाउने मुस्किल जस्तै देखिन्छ ।
भैरवी गाउँ कार्यपालिकामा काँग्रेसको बहुमत रहेको छ । अध्यक्ष÷उपाध्यक्ष सहित केही वडामा एमाले जित हात पारे पनि एमालेले बहुमत प्राप्त गर्न सकेन । एमालेका उम्मेदवारले गाउँपालिका अध्यक्षमा ३५ सय ८४ मत प्राप्त गर्दै विजयी भएका थिए । काँग्रेसका उम्मेदवारले ३ हजार ७७ मत प्राप्त गर्दै पराजित भए ।
उक्त मत परिणाम अनुसार भैरवीमा एमाले र काँग्रेसको मतान्तर ५ सय ७ रहेको छ । माओवादीले ३ सय १ मत प्राप्त गरेको भैरवीमा समाजवादीको उपस्थिति न्यून मानिन्छ । गठबन्धन भएको खण्डमा भैरवीमा कसको कस्तो प्रभाव पर्छ हेर्न बाँकी छ ।
नारायण नगरपालिकामा बहुमत कार्यपालिका सदस्य, प्रमुख÷ उपप्रमुखमा एमालेले जित हात पारेको छ । एमाले विभाजन पछि उपप्रमुख सहित एक वडा अध्यक्ष समाजवादीमा छन् । एमाले र काँग्रेसको बराबरी देखिएको नारायणमा एमालेले ४७ सय २५ मत हात पारेको थियो । काँग्रेसले पछ्याउँदै ४४ सय ५१ मत प्राप्त गर्दै पराजित भएको थियो ।
नारायणमा कमजोर रहेको माओवादी ०७४ को निर्वाचनताका नगरप्रमुखमा ३ सय ९९ सय मत पाएको छ । मोटामोटी २०७४ को मत परिणामलाई हेर्दा पार्टी विभाजन पछि एमालेलाई यहाँ पनि आफ्नो बलियो उपस्थिति देखाउन मुस्किल जस्तै मानिन्छ ।
पार्टी विभाजन पछि दैलेखका अन्य स्थानीय तहमा भन्दा नौमूले गाउँपालिकामा एमाले कमजोर रहेको पाइन्छ । ०७४ को स्थानीय तहको निर्वाचनताका काँग्रेसका उम्मेदवार नौमूलेमा ३१ सय ५२ मत प्राप्त गर्दै विजयी भए । एमालेका उम्मेदवारले २६ सय ४४ मत प्राप्त गरेका थिए । माओवादी उक्त गाउँपालिकामा १६ सय २८ मतमा सीमित रहेको थियो ।
ठाँटिकाँध गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवारले १९ सय २४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । काँग्रेसले ठाँटिकाँधमा १५ सय ६२ मत प्राप्त गर्दै पराजित भएको थियो । ठाँटिकाँधमा माओवादीले १३ सय ६ मत प्राप्त गरेको थियो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेका उम्मेदवारले २७ सय ७३ मत प्राप्त गरी विजयी भएका थिए । काँग्रेसका उम्मेदवारले २६ सय ७० मत प्राप्त गर्दै पराजित भए । ०७४ को मत परिणामलाई हेर्ने हो भने चामुण्डामा माओवादी भन्दा नेपाल मजदुर किसान पार्टी बलियो देखिन्छ ।
उक्त नगरपालिकामा मजदुरले १३ सय ३३ मत प्राप्त गरेको छ । चामुण्डामा माओवादीले ८ सय १३ मत प्राप्त गरेको थियो । चामुणविन्द्रासैनी नगरपालिकामा एमाले र मजदुर किसान पार्टीले चुनावी तालमेल गरेको खण्डमा आगामी निर्वाचनमा जित हात पार्न सहज देखिन्छ ।
आठविस नगरपालिकामा एमाले प्रमुख र काँग्रेसले उपप्रमुख जितेको छ । एमालेले ३९ सय २७ मत प्राप्त गरी विजयी भएको हो । काँग्रेसले ३८ सय ८० मत प्राप्त गरेको थियो । आठविसमा एमाले र काँग्रेस पछिको तेस्रो दल मजदुर किसान पार्टी देखिन्छ ।
यस्तै, ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा यहाँको महाबु गाउँपालिकामा एमाले विजयी भएको थियो । अध्यक्षमा एमालेका उम्मेदवारले ३५ सय २२ मत प्राप्त गर्दै विजयी भएका थिए, भने काँग्रेसका उम्मेदवारले २९ सय मत प्राप्त गरेका थिए । महाबु गाउँपालिकामा माओवादीले ७ सय ३३ मत प्राप्त गरेको थियो ।
एमाले विभाजन पछि महाबुमा समाजवादी पार्टीको राम्रो उपस्थिति छ । एमालेबाट अध्यक्ष÷उपाध्यक्ष जितेका व्यक्ति समाजवादीमा छन् । पाँच दलिय गठबन्धनले सार्थकता पाएको खण्डमा ०७४ जस्तै एमालेले महाबुमा आफ्नो साख जोगाउन मुस्किल पर्ने देखिन्छ ।
यता, डुङ्गेश्वर गाउँपालिकामा काँग्रेस विजयी भएको थियो । काँग्रेसका उम्मेदवारले २७ सय ८७ मत प्राप्त गरी विजयी भएका थिए । एमालेका उम्मेदवारले २४ सय ६९ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकामा माओवादीले ४ सय ५३ मत प्राप्त गरेको देखिन्छ ।
गुराँस गाउँपालिकामा पनि काँग्रेसले जित हासिल गरेको छ । काँग्रेसका उम्मेदवारले ४१ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका उम्मेदवारले ३४ सय २३ मत प्राप्त गरेका छन् । गुराँसमा माओवादीले ४ सय ९९ मत प्राप्त गरेको थियो ।
०६४ को स्थानीय तहको निर्वाचनमा यहाँको दुल्लू नगरपालिकामा काँग्रेसले प्रमुख र एमालले उप प्रमुखमा विजयी हात पारेका छन् । एमाले विभाजन पछि बनेको समाजवादी पार्टीका जिल्ला अध्यक्ष दुल्लू नगरपालिकाका हुन् ।
एमाले सुढृण छ,
बहुमत ल्याउँछौँ
एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले ०७४ को भन्दा एमाले दैलेखमा सुढृण रहेकाले जिल्लाका ११ वटै स्थानीय तहमा जित हासिल गर्ने बताउँछन् । शर्माले एमाले विभाजन भन्दा पनि केही मान्छे पार्टीबाट चोइटिएर अलग भएकाले दैलेखमा एमालेलाई समस्या नरहेको बताए ।
उनले एमाले दैलेखको छैटौँ जिल्ला अधिवेशनताका जिल्लामा पार्टीका क्रियाशील सदस्यको संख्या ७ हजारको हाराहारीमा रहेको भए पनि नेकपा फुट हुँदै एमालेबाट केही व्यक्ति चोइटिएर गए पनि भर्खरै सम्पन्न सातौँ जिल्ला अधिवेशनसम्म दैलेखमा एमालेका क्रियाशील सदस्यको संख्या १३ हजार २ सय ७३ रहेको बताए ।
‘हाम्रो सदस्यता संख्यालाई केलाउने हो भने पनि दैलेखमा एमालेलाई सुढृण छ भन्ने कुरालाई प्रमाणित गर्छ । सबै पार्टीले गठबन्धन बनाए पनि एमालेमा समस्या छैन । उनले भने, ‘एमाले कसैको भर पर्दैन एमालेको विकासे गति, राष्ट्र प्रतिको जिम्मेवारी लगायतका कुराहरूलाई बुझेर जनताले विश्वास गर्ने धेरै आधारहरू छन् ।’
उनले ०७४ को भन्दा राजनीतिले धेरै फड्को मारेको बताए । ‘अहिले २०७४ को जस्तै अवस्था छैन । माओवादी, जनमोर्चा र मजदुरबाट एमालेमा धेरैले प्रवेश गरेका छन् । माधव नेपालको पार्टीमा केही चोइटिएर गएका मात्र हुन उता गएका भन्दा एमालेमा आउनेको संख्या धेरै ।’ शर्माले भने
नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले केन्द्रको निर्णय अनुसार दैलेखमा पनि पाँच दलीय गठबन्धन बन्न सक्ने बताए । ‘हामी जिल्लाको अवस्थाको बारे अध्ययनमा छौँ । सबै पार्टी संगठनको मनोबल उच्च राख्ने गरी अघि बढ्छौँ, रेग्मीले भने ।
उनले आवश्यकता अनुसार तल्लो तहमा गठबन्धन गर्न सकिने माथिको निर्णय आएमा सहज हुने बताए ।
रेग्मीले भने, ‘गठबन्धन आवश्यक हो । केन्द्रले तल्लो तहमा गठबन्धन गर्न सकिने निर्णय गरेको खण्डमा झनै सहज हुने छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार