
चैत १८, दैलेख
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका तीन जिल्लाको भ्रमण सम्पन्न गरेका छन् । जुम्ला र कालिकोटमा बृहत जनसभासँगै दैलेखको दुल्लूमा कार्यकर्ता भेटघाटमा सरिक भएका अध्यक्ष ओलीको हातबाट टिका लगाएर जुम्ला र कालिकोटका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् ।
कालिकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव सहित करिव चार सय पचास जना सक्रिय, कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य, माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य महेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य रत्न बिक लगायतलाई ओलीले पार्टी प्रवेश गराएका छन् ।
यस्तै, सिंजा पुगेका ओलीले नेकपा विप्लव समूहका राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश (ख) का उपसभापति दानसिंह खत्रीलगायतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका छन् ।
जनसभामा बोल्दै ओलीले समृद्धि र विकास एमाले बाहेकका दलले गर्न नसक्ने बताएका छन् । अहिलेसम्म अरु कुनैपनि दलले समृद्धि र विकासको काम गर्न सकेनन्, नेपालमा एमाले बाहेकको अरुले समृद्धिको कल्पना समेत गर्न नसक्ने बताएका हुन् । आफ्नो तीन वर्षे कार्यकालमा देशले विकासको गति लिएको बताउँदै अहिलेको सरकार विकास विरोधि भएको ओलीको आरोप छ । ‘हामीले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेका थियौं, अस्पताल बनाउने घोषणा गरेका थियौं, वर्तमान सरकारको ढङ्ग नभएर, क्षमता नभएर, काम गर्ने सामथ्र्य नभएर आयोजनाहरू काटेको छ, आगामी चुनावपछि एमालेको सरकार बन्छ र अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाउँछ, स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्छ । ’
अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छाना मुक्त अभियान ल्याएको बताउँदै कर्णालीका दुर्गम बस्तिका आर्थिक अभाव भएका नागरिकहरुले अहिले जस्तापाता लगाएका छन् । बाँकी रहेका घरहरूमा जस्तापाता नपुगेको भए एमालेले पहल गर्ने ओलीको भनाई छ ।
‘देशको रक्षा, विकास र सुशासनका लागि एमाले बाहेक अन्य पार्टीले काम गर्न सक्दैनन् अहिले अलमलिएका विकासे काम एमालेको सरकार आएपछि अघि बढाउँछ जनताका दैनिक समस्या समाधान गर्न पहल गर्छ ।’
उनले अहिले पनि केही व्यक्तिहरु अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे । ‘एमालेको चाहना देशको विकास गर्ने राष्ट्रलाई माया गर्ने रहेकाले राष्ट्र प्रेमीहरू एमालेमा आउनु पर्छ’ अध्यक्ष ओलीले भने ।
दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको छ, यसले राष्ट्रको विकासमा टेवा पुग्छ हाम्रो सरकारले अन्वेषणको काम सकेको छ तर वर्तमान सरकार मुखदर्शक बनेको छ । यो योजना पूरा गर्न पनि एमालेको सरकार आउनै पर्ने छ ।
ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार परमादेशबाट जारी भएको म्यादी सरकार भएको र म्यादी सरकारको दिनगन्ति सुरु भइसकेको वताएका छन् । अध्यक्ष ओलीले एमालेप्रतिको जनसागर देखेर बाँकी दलहरुबीच गठबन्धन बनेको हो, यो गठबन्धन पनि संघीय र प्रदेशको चुनावसम्म नजाने बताए ।
अध्यक्ष ओलीले अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा लागेको आरोप लगाउदै स्वार्थका लागि कांग्रेसको पछाडी लागेकाहरु चाँडै ढल्ने ठोकुवा गरे। कांग्रेसका पछाडी लागेकाहरुको पार्टीको ठेगान पनि नभएको उनको भनाइ थियो। ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिएर समृद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन आम जनतासँग अपिल गरेका छन् ।
जुम्लामा बोल्दै ओलिले भने ‘पहिले एक पटक मार्सी चामल खाएको थिए, निकै चर्चा चल्यो, अहिले त झन सिंजामै पुगेर मार्सी चामलको भात र सिमीको दाल खाएको छु, हिमा नदीको निकै स्वादिष्ट माछा खाएको छु’, उनले भने सिंजाको विकास, सिंजा सभ्यता, भाषा र संस्कृतिको लागि एमालेले काम गर्ने छ ।
कर्णालीको विकासका लागि त्रिदेशिय सडक, मध्यपहाडी राजमार्गको प्रभावकारी कार्यान्वयन, रास्कोटको बृहत खानेपानी आयोजना, खाँडाचक्र चुलीको बृहत खानेपानी आयोजना र कर्णाली राजमार्ग दुई लाइन बनाउन आफ्नो सरकारका पालामा वजेट सहितको योजना परेको बताए ।
उनले जनजीविकाका सवालमा गरेका विकास देखेर सरकार ढालिएको भन्दै अदालतले ढालेको सरकार अव जनताको माँझमा न्याय खोज्न आएको वताए । कालिकोट विकास गर्न भौगोलिक हिसावले कठिन रहेकाले यसको विकास गर्न एमालेलाई जिताउन जरुरी रहेको उनको भनाइ छ । जुम्ला र कालिकोटमा भएको जनसभामा हजरौंको उपस्थिती रहेको थियो ।
नेकपा एसका प्रदेश कमिटी सदस्य एवं भगवतीमाई गाउँपालिकाका अध्यक्ष
दानबहादुर थापा सहितको टोली एमालेमै फर्कियो

नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष पूर्व मन्त्री अमरबहादुर थापाको क्षेत्रका थापाका विश्वास पात्र दानबहादुर थापा पुनः नेकपा एमालेमै फर्किएका छन् । अध्यक्ष थापा सहित गाउँपालिकाको सबै टोली नेकपा एमालेमा फर्किएको हो । थापालाई स्वागत गर्न भगवतीमाई गाउँपालिकामै बृहत जनसभा गरिएको थियो । थापालाई नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाह, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा सहितको टोलिले स्वागत गरेको हो ।
एमालेमै फर्किएका भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले केही दिन बाटो बिराए पनी अब एमालेमै रहेर जनताको सेवामा खट्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका भए पार्टी बिभाजन हुँदा पनि उनी नेकपा एमालेमै रहने भनेर अडान लिएको भएपनि । पूर्व मन्त्रीको दबावका कारण बाध्य भएर उनि नेकपा एसमा जान बाध्य बनेका थिए । नेकपा एसले प्रभावकारी काम नगरेको भन्दै दुई महिना अघि उनले पार्टीमा राजिनामा दिएका थिए ।
प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खड्का, कमला खत्री, मान बहादुर नेपाली, बल बहादुर थापा, सुशिला विक लगायत १ सय २५ जना एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेशपछि उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी हो र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको छु ।’
अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिएका छन् । दैलेखमा नेकपा एमाले पहिलेदेखिनै बलियो रहेको र अव झन मजबुद भएर दैलेखका सवै स्थानीय तहमा निर्वाचन जित्ने पक्का भएको बताएका छन् ।
‘अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं ।’










