
चैत्र २७, दैलेख
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा दैलेखका विभिन्न पालिकाहरुमा उम्मेदवार छनौटका कामहरुले तीव्रता पाएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता दिएका छन् । सत्ता गठबन्धन सम्हालेको नेपाली काँग्रेस सँगैका दलहरु पनि चुनावी तालमेल बारे छलफल र बैठकलाई निरन्तरता दिएका छन् ।
निर्वाचन नजिकिएसँगै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एमालेले मेयरका उम्मेदवार टुंगो लगाएको छ । एमाले चामुण्डाबिन्द्रासैनी नगर कमिटीको (आइतबार) बसेको बैठकले जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति सूर्यबहादुर शाहीलाई सर्वसहमतिका साथ मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमाले दैलेखका पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले बताए । उपप्रमुखको भने टुंगो लाग्न सकेको छैन । एमाले दैलेखको यही चैत २४ गते बसेको जिल्ला कमिटीको बैठकले चैत २९ गतेसम्म गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार सिफारिस गर्ने र चैत ३० गते यहाँका ९० वटै वडाका वडा अध्यक्षका उम्मेदवार सिफारिस गर्ने निर्णय गरेका छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखको आकाँक्षीहरु बढेपछि नेतृत्व छान्न काँग्रेसलाई सकस परेको छ । नगर प्रमुखमा नौ जनाले आकाँक्षा देखाएका छन् । गणेश बहादुर शाही, गणेशकुमार शाही, वासुदेव शर्मा, नारायण रेग्मी, इश्वर विष्ट, राजेशकुमार शाही, महेन्द्र शाही, इन्द्राकुमारी शाही, सर्वराज जोशीले नगर प्रमुखमा आकाँक्षा देखाएका छन्, भने उपप्रमुखमा विमला कुमारी शाही, मनसरा रेग्मी, रेखा शाही, ललीता थापा (शाही) रहेको नेपाली काँग्रेस चामुण्डाले जानकारी दिएको छ ।
उम्मेदवारका आकांक्षाहरु धेरै भएकोले निरन्तर आकांक्षीहरुसँग छलफल र सम्वाद भइरहेको छ । सर्वसम्मत नभए जिल्ला र प्रदेशमा सबैको नाम पठाउने तयारी भएको काँग्रेस नेताले बताए ।
ठाटीकाँध र आठविसमा उम्मेदवारको रस्साकस्सी
यस अघिको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको नेकपा एमालेमा पनि उम्मेदवारको लागि निकै दौडधुप चलेको छ । नगर प्रमुख बिजयी भएको आठविस नगरपालिकामा वर्तमान नगर प्रमुख खड्गराज उपाध्यायसहित एमालेबाट १२ जनाले आकाँक्षा देखाएका छन् । नेपाली काँग्रेसबाट नगर उपप्रमुख विजयी दिपा बोहोरासहित नगर प्रमुखका लागि ८ जनाले आकाँक्षा देखाएका छन् ।
विशेष गरि नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरु उम्मेदवार बन्न रस्साकस्सी गरिरहेका छन् ।
नेकपा एमालेबाट खड्गराज उपाध्याय, तर्क बडुवाल, ओमजंग शाही, लालसरा थापा, तेजबहादुर महतारा, हर्कबहादुर शाही, मिनबहादुर शाही, प्रवलसिंह वि.क., दिपेन्द्रराज खनाल, नेत्रबहादुर शाही, जीवन बहादुर शाही लगायत छन् । उपप्रमुखमा गोमता वि.क., कोमला थापा, जौधरा खनाल, नामसरा कार्की, कल्पना थापा र सिता बि.क. रहेका छन् ।
नेपाली काँग्रेसबाट नगर प्रमुखका उपप्रमुख दिपा बोहोराले सशक्त दाबी प्रस्तुत गरेकी छन् । त्यसैगरी प्रेमप्रकाश शाही, अर्जुन शाही, करुणाखर खनाल, पृथ्वी शाही, नगेन्द्र शाही, विनोद खनाल, खगेन्द्र शाही रहेका छन् । उपप्रमुखमा पूर्णप्रसाद खनाल, सिता उपाध्याय, मुना शाही, निशा थापा, लिला गिरीको नाम चर्चामा रहेको छ ।
त्यस्तै ठाँटीकाँध गाउँपालिकामा नेकपा एमालेको तर्फबाट वर्तमान पालिका अध्यक्ष धिरबहादुर शाही पुनः अध्यक्षको तयारीमा रहेका छन् । जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मीदेवी शाह, युवा नेता बखत भण्डारी, कुमार विक्रम शाही, योगेन्द्र बिक्रम थापा, गिता बुढाको नाम चर्चामा रहेको छ । उपाध्यक्षका लागि निर्मला शाही, कर्णबहादुर शाही, लालबहादुर शाहीको नाम चर्चामा छ । सर्वसम्मतका लागि बैठक र छलफलहरु लगातार चलिरहेको नेता बखत भण्डारीले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसबाट ठाँटीकाँध गाउँपालिकाको लागि १० जनाको अध्यक्षमा आकाँक्षा देखिएको छ । विष्णुप्रसाद रिजाल, रक्षबहादुर शाही, मदन शाही, लवबहादुर शाही, भूपेन्द्रबहादुर शाही, भद्रबहादुर खत्री, मनबहादुर शाही लगायत दश जनाले आकाँक्षा देखाएको काँग्रेस नेताले जानकारी दिएका छन् । उपाध्यक्षमा रञ्जना कुमारी शाही, तारा शाही, दुर्गा सिजापति, लगायतको आकाँक्षा देखिएको नेताहरुले जानकारी दिएका छन् । जिल्लाले गठबन्धनको बिषयमा कस्तो निर्णय गरेर पठाउँछ त्यसपछि मात्रै अँझै स्पष्ट धारणा बनाउन सजिलो हुने नेपाली काँग्रेसका ठाँटीकाँध गाउँपालिका सभापति विष्णु रिजालले जानकारी दिएका छन् ।
गठबन्धनलाई केन्द्रकै भर
जिल्ला जिल्लामा गठबन्धन बनाएर चुनाव लड्ने बिषयका बारेमा शिर्ष नेताहरुले सहमती जनाएको भएपनि नेपाली काँग्रेसमा दैलेखका ११ वटै पालिकाहरुमा उम्मेदवारहरुको तीब्र आकाँक्षा देखिएपछि सबै अधिकार केन्द्रमा जाने देखिएको छ । प्रदेश वा केन्द्रले जे निर्णय गरेर आउँछ त्यसैलाई मान्ने वा नमान्ने बिषय पछि छलफल हुने काँग्रेस नेताहरु बताउँछन् ।
पालिका स्तरमा आकाँक्षीहरु धेरै छन्, यही निर्णय गरेर सर्वसम्मत गर्न सकेको भए राम्रो हुने थियो । जिल्लामा निर्णय गरे पनि प्रदेश वा केन्द्रबाट कस्तो निर्णय आउने हो भन्नेमा गठबन्धनका नेताहरुमा अन्यौलता कायमै रहेको छ । पालिका पालिकाबाट गठबन्धनका नेताहरुले आफ्नो पक्षमा रहेका कार्यकर्ताहरुको लिष्ट बुझाएको एक नेताले जानकारी दिएका छन् । बिशेष गरेर समाजवादी र माओवादीले लिष्ट बुझाएका छन् निर्णय कस्तो आउँछ सोही अनुसार अन्य बिषयको छलफल हुन्छ । एक नेताले भने ।










