काठमाडौंः निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता तथा नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । गएको निर्वाचनमा ६ करोड खर्च गएको अभिव्यक्ति दिएपछि सांसद कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।
उनले निर्वाचनमा २१ लाख ७५ हजार खर्च भएको विवरण आयोगमा बुझाएको भए पनि ६ करोड खर्च गरेको अभिव्यक्ति दिएपछि ७ दिनभित्र स्पष्ट पार्न आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल जानकारी दिए ।
नेता कोइरालाले गएको निर्वाचनमा आफ्नो चुनाव खर्च ६ करोड भएको बताएका थिए । शनिबार नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मैले मेरो क्षेत्र नवलपरासी क्षेत्र नं. १ गैँडाकोटबाट तीन पटक चुनाव जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ भयो । दोस्रोमा ३ करोड र गत चुनावमा ६ करोड खर्च भयो ।’ जनतामा परिचित भइरहेपछि चुनावी खर्च घट्नुको साटो बढ्दै गइरहेको उनको भनाइ थियो ।
यस्तै, निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ । भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।










