चैत्र २९,काठमाडा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनसम्बन्धी घोषणापत्र जारी गर्ने भएको छ । एमाले नेताहरूले बुझाएको सुझावपत्र मंगलबार ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसबारे जानकारी दिएका हुन् ।
उनले संविधानले स्थानीय तहलाई दिएको अधिकारको हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुरा ध्यानमा राखेर यसपटक एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने जानकारी दिए ।
उनले यस पटक एमालेले जारी गर्ने स्थानीय तह निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए । उनले केन्द्रबाट जारी गरिने घोषणापत्र एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे रहने बताए । पोखरेलले केन्द्रीय तहबाट जारी गरिने घोषणापत्रकै आधारमा ७ सय ५३ वटा नै पालिकाले प्रतिबद्धता पत्र जारी गर्ने पनि बताए ।
‘हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी गर्ने पिकमा छौँ । किनभने ९ गते हामी जारी गर्दैछौँ । यसपटक हाम्रा घोषणा २ किसिमका हुनेछन् । एउटा केन्द्रबाट जारी गरिनेछ, त्यो घोषणापत्रमा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ ? भन्ने कुराको नीतिगत निर्देशनको रुपमा जारी हुनेछ’, उनले भने, ‘त्यही प्रतिबद्धताको आधारमा उभिएर ७ सय ५३ वटा पालिकाले प्रतिबद्धता पत्र जारी गर्दछन् । त्यो प्रतिबद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ । यसरी हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्छौं ।’










