‘चुनावी प्रतिबद्धता अनुसार काम गरेका छौँ’

दैलेखः दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले चुनावमा जनता सामु गरिएका प्रतिबद्धता अनुसार काम गरेको बताएका छन् । एक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले पाँच वर्ष अघि जनता सामु लगाइएका विकासे नारा अनुसार भैरवीमा आफुले काम गरेको बताए ।
अध्यक्ष बुढाले दुर्गमका जनताको आवश्यक्तालाई मध्ये नजर गरी गाउँपालिकाले आय÷आर्जन मूलक सामाजिक र भौतिक विकासमा राम्रा कामहरू गरेको बताए । उनले स्थानीय तहमा आफू निर्वाचित भइसके पछि आफ्नो पहिलो दायित्व अन्तर्गत गाउँपालिका केन्द्रको टुंगो लगाएको बताएका हुन् ।
‘स्थानीय सरकार सञ्चालनका लागि भौतिक संरचनाको अभाव थियो, जनतालाई सेवा दिनका लागि प्रशासनिक भवनको अभाव थियो पहिलो चरणमा सेवा दिनलाई प्रिफिएर भवनको निर्माण ग¥यौँ, अहिले अत्याधुनिक भवन निर्माणका लागि विभिन्न चरणका काम भइरहेको छ’, उनले भने ।
अध्यक्ष बुढाले गाउँपालिकाका ७ वटै वडा केन्द्रको टुंगो लगाएको बताए । ‘वडाको केन्द्र टुंगो लगाएर सबै ठाउँमा पक्की भवन निर्माण गरी जनतालाई सेवा दिँदै आएका छौँ, वडा नम्बर २ बाहेक सबै वडा कार्यालयहरू निमार्ण गरेका छौँ, २ नम्बर वडाको पुरानै एक सरकारी भवन भएकाले निर्माण गर्नु परेन’, उनले भने ।
उनले शिक्षामा पनि उल्लेख्य काम गरेको बताएका छन् । उनले स्थानीय सरकार आए पछि कुसापानीमा तीन वर्षे वाली विज्ञान र तीन वर्षे पशु विज्ञान सञ्चालन गरिएको बताए । कृषि तर्फ गाउँपालिकाको सहयोगमा तीन स्थानमा डेरी सञ्चालन गरेर नागरिकलाई रोजगारी र स्थानीय उत्पादनलाई जोड दिएको अध्यक्ष बुढाको भनाई छ ।
आफ्नै ठाउँमा प्राविधिक शिक्षा सञ्चालन हुँदा बाहिर गएर महँगो शुल्कमा अध्ययन गर्नु पर्ने बाध्यता थियो, स्थानीय सरकार सञ्चालन पछि भैरवीको कुसापानीमा प्राविधिक शिक्षा सञ्चालनमा आएका उनको भनाई छ । ‘नेपाल कृषि प्रधान मुलुक भएकाले कृषि र पशुपालन व्यवसायलाई उन्नत बनाउने मान्यताका साथ प्राविधिक शिक्षाको स्थापना गरेका हौँ’, अध्यक्ष बुढाले भने ।
डेरीबाट स्थानीय नागरिकले राम्रो आम्दानी लिँदै आएका उनले बताए । उनले भने किसानहरूले आफूले उत्पादन गरेको दूध घर दैलोमा विक्री गर्न पाउनु भएको छ, स्थानीय सरकार र बिभिन्न संघ संस्थाको साझेदारीमा नागरिकलाई आम्दानी मुखी काममा लाग्न प्रेरित गर्दै आएको बुढाले बताए ।
अध्यक्ष बुढाले नागरिकलाई पानीको पहुँचका लागि स्थानीय सरकारले डटेर काम गरेको बताएका छन् । उनले ग्रामीण जलस्रोत परियोजना र गाउँपालिकाको साझेदारीमा नागरिकका लागि स्वच्छ पानीको व्यवस्थापन सरसफाइ लगायतका कुराहरूमा उत्कृष्ट काम भएको बताए । ‘परियोजनाको सहयोगमा जिवीको उपार्जन सहकारी सञ्चालन लगायतका कुराहरूमा काम भएका छन्, स्थानीय सरकार सञ्चालन पछि दुर्गमका नागरिकलाई परिवर्तन भएको महसुस हुने गरी काम भएको छ’, उनले भने ।
सडकः गाउँपालिकाका अध्यक्ष बुढाले भैरवीमा भौतिक विकासले फड्को मारेको बताए । ‘माथिल्लो डुङ्गेश्वर, दुल्लू, कुसापानी व्याउँली हुँदै कालिकोटसम्म सडक सञ्जालले जोडिएको बुढाको भनाई छ । अहिले उक्त सडकबाट कालिकोटसम्म गाडी गुड्ने गरेका छन्, नागरिकमा उत्साह जागेको छ’, उनले भने ।
अध्यक्ष बुढाले गाउँपालिकाका सात वटै वडाहरूमा सडक सञ्जालको पहुँच पुगेको बताएका छन् । ‘सात वटै वडाहरूमा सडकको पहुँच पुगेको छ, नागरिकले सेवा पाएका छन्, पहिलेका दिनमा कोही बिरामी पर्दा बोकेर ल्याउनु पर्ने बाध्यता थियो त्यसको अन्त्य भएको छ, गाउँका जनताको चाहना अनुसार भैरवीले काम गरेको छ’, उनले भने ।
विद्युतीकरणः अध्यक्ष बुढाले भैरवीमा ११ करोड बराबरको विद्युतिकरणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । अहिले विद्युतिकरण अन्तर्गत मेन लाइनको सायक लाइनको काम धमाधम भइरहेको उनको भनाई छ ।
‘११ करोड बराबर विद्युतिकरणको काम अन्तिम चरणमा छ, बत्ती बाल्ने अन्तिम तयारी छ, थप कामका लागि ६ करोड बराबर कामको फाइल अगाडी बढेको, ६ करोडको काम भएको खण्डमा भैरवीका ९८ प्रतिशत घरहरूमा बिजुलीको पहुँच हुनेछ’, उनले भने । नागरिकको सुरक्षाका लागि भैरवीले दुई स्थानमा प्रहरी चौकीको स्थापना गरेको बुढाले बताए ।
उनले शिक्षाका क्षेत्रमा पनि राम्रा कामहरू भएका बताएका छन् । गुणस्तरीय शिक्षाका लागि शिक्षकको व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन लगायतका कुराहरूमा उल्लेख्य भएका छन् । उनले मानिसको चेतना परिवर्तन गर्नु सबै भन्दा ठूलो विकास रहेको बताउँदै शिक्षा क्षेत्रमा ठूलो लगानी गरी परिवर्तन हुँदै आएको बताए ।
‘यदि मानिसको चेतनाको विकास गरिएन भौतिक विकासको निर्माण भए पनि नागरिकले यो हाम्रा लागि हो भन्ने कुरा बुझेन भने भौतिक विकासको संरक्षण हँुदैन्, सामाजिक विकासका लागि समेत धेरै कामहरू भएका छन्, स्थानीय सरकारको पहिलो लक्ष भनेको समाज परिवर्तन सामाजिक विकास हो’, अध्यक्ष बुढाले भने ।
राजनीतिक खिचातानीका कारण आफूलाई काम गर्न केही समस्या भएको अध्यक्ष बुढाले दुखेसो पोखे । आफूले जनताका लागि स्वचे अनुसारका काम गर्न नपाएको बताए । बेला–बेला गाउँपालिका अवरोध हुने गरेकाले काममा असहजता उत्पन्न भएको उनको भनाई छ ।
‘अवरोधका कारण नागरिकका लागि काम गर्न असहजता भयो खुल्ला रूपले काम गर्न पाएको भए अहिलेको भन्दा भैरवीमा चार गुणा बढी काम भएको देख्न सकिन्थ्यो, कामै नभएको भन्ने हैन, धेरै काम भएका छन्, संविधानले स्थानीय सरकारका बहुमत र अल्पमतको कुरा उल्लेख गरेको छैन, भैरवीमा अन्य पार्टीका कारण काममा असहजता भएको हो’, उनले भने ।
‘पाँच वर्षको अवधिमा भैरवीका नागरिकलाई स्थानीय सरकार आएको आभास हुने गरी काम गरेको अध्यक्ष बुढाको भनाई छ । शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनका क्षेत्रमा जनतालाई लाभ हुने गरी काम भएको छ, स्थानीय सरकार जनताका लागि हुन भन्ने गरी काम गरेका छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार