
वैशाख ६, दैलेख
जिल्लामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष बनाउन आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय दैलेखले सोमबार गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै दैलेखका क्रियाशिल विभिन्न राजनैतिक दलका नेता तथा प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका संघीय सांसद तथा (एमाले) दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जनताले नजिकको सरकारका प्रतिनिधि निर्वाचित गर्दा बिवेक पु¥याउनु पर्ने बताए । ‘बिचार र आस्था फरक हुन्छ, सबैको अर्जुन दृष्टि भनेको निर्वाचन स्वच्छ बनाउनु हो, एमालेले निर्वाचन आचारसंहिता पूर्णतः पालना गर्छ’, उनले भने ।
स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा अध्यक्ष शर्माले विश्वास व्यक्त गरे । ‘मिडियाले निष्पक्ष सूचना सम्पे्रषणमा ध्यान दिनुपर्ने शर्माको भनाई थियो । कहिलेकाहीँ मिडियाले सूचनाको आधिकारिकता पुष्टि नगरेर समाचार प्रकाशन गर्ने गरेका उदाहरण भेटिन्छन्, नागरिकलाई सुसूचित गराउन मिडियाको भूमिका महत्वपूर्ण हुन्छ’, अध्यक्ष शर्माले भने ।
अध्यक्ष शर्माले आफुहरु जनतामा भरोसा गर्ने भएकाले (एमाले) जनताबाट चुनिएर आउने बताए । निर्वाचन जस्ता अवसरलाई प्रयोग गर्दै समृद्ध मुलुक बनाउन सबै लाग्नुपर्ने शर्माको भनाई छ ।
दैलेखका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत दैलेखका न्यायाधिश दण्डपाणि लामिछानेले भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको बराबर दायित्व हुनुपर्ने सुझाव दिएका छन् ।
उनले सबैको सहयोगमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्न सहज हुने बताउँदै दैलेखमा निर्वाचन गराउन कुनै बाधा, अवरोध नआउने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मीले स्थानीय निर्वाचन सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । ‘हाम्रो पहिलो दायित्व भनेको स्वच्छ निर्वाचन हो, मुलुकको विकासका लागि धाँधली रहित निर्वाचन सम्पन्न गराउन लाग्नुपर्छ, काँग्रेस शान्त निर्वाचनको पक्षमा छ’, उनले भने हामी गठबन्धनबाट चुनाव लडे पनि गठबन्धन नै निष्पक्ष चुनाको पक्षमा हुनेछ ।
जनमोर्चा दैलेखका प्रतिनिधिले जनतालाई लोभ देखाएर भन्दा विश्वासमा लिएर सबै दल निर्वाचनमा होमिनु पर्नेमा जोड दिए । नेपाल मजदुर किसान पार्टी दैलेखका प्रतिनिधि लक्ष्मी विकले निर्वाचन तडक÷भडक भन्दा शान्त हुनु पर्ने बताए । उनले सरकारमा रहेका दलहरूले निर्वाचन आचार संहिताको विशेष ख्याल गर्नु पर्ने बताए ।
एमाले दैलेखका उपसचिव गंगाराम दाहालले एमाले संयमित भएर निर्वाचन सफल बनाउन लाग्ने बताए । उनले निर्वाचनमा प्रयोग हुने सरकारी सवारी साधनको प्रयोगमा सम्बन्धित निकायले चासो देखाउनु पर्ने बताए ।
उद्योग वाणिज्यसंघ दैलेखका अध्यक्ष कुल बहादुर विकले निजी क्षेत्रका तर्फबाट निर्वाचन स्वच्छ बनाउन पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
एकीकृत समाजवादी दैलेखका उपाध्यक्ष जङ्गबहादुर शाहीले सबैको सहयोगमा निष्पक्ष र प्रभावकारी निर्वाचन गराउन सहज हुने बताएका थिए ।
मानव अधिकार संगठन कर्णाली प्रदेशका उपाध्यक्ष दीर्घराज अधिकारीले निर्वाचनमा केही चुनौती भए पनि आपसी समझदारीमा समस्या पार गर्दै अगाडी जान सकिने बताए । ‘निर्वाचन अवधिभर सकेसम्म मदिरा निषेध गर्न पहल गर्नु पर्छ, गलत सूचनाको प्रयोग नगरी सत्य कुरालाई उजागर गर्न सबै लाग्नु पर्छ’, अधिकारीले भने ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोहीँ पनि उऋखंल गतिविधिमा नलाग्न आग्रह गरे । उनले सुरक्षा निकाय जिल्लामा अमनचैन कायम गर्न सक्षम रहेको बताए ।










