प्रधानमन्त्रीकै गृहजिल्लामा फुट्यो काँग्रेस

वैशाख ११, काठमाड
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अन्ततः नेपाली काँग्रेस विभाजन भएको छ ।
काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा काँग्रेस विभाजन भएको हो । विभाजनसँगै स्थानीय तहको निर्वाचनका लागि काँग्रेस र नेपाली कांग्रेस (बिपी) ले डडेल्धुरामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
काँग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डडेल्धुरा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्ष नेपाली कांग्रेस (बिपी) बाट स्थानीय तहमा उम्मेदवारी दिने तयारीमा जुटेको हो । काँग्रेस सभापति देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू काँग्रेस बिपीबाट स्थानीय तहको निर्वाचनमा जानुपरेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।
‘नेपाली काँग्रेसबाट उम्मेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रीय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरू नेपाली काँग्रेस बिपीबाट चुनावी मैदानमा जाने तयारी गरेको छौँ,’ महिला नेतृ कमला बिष्ट भनिन् । जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको काँग्रेस (बिपी)का जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।
देशभरि गठबन्धनमा रहेका दलहरूले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरेपश्चात काँग्रेस फुटेर काँग्रेस (बिपी)बाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरामा काँग्रेसलाई साख जोगाउन मुस्किल पर्ने देखिन्छ ।
यसअघि नै डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली काँग्रेस बिपीको संगठन निर्माण भएको थियो। पहिलैदेखि रुष्ट बनेको पूर्व जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले एमालेसँग गठबन्धन गरेको हो ।
एमालेसँग चुनावी तालमेल
आइतवार भएको दुईपक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णयसँगै भागबन्डा पनि गरेको छ । जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगर प्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।
परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुख बिपी काँग्रेसका उम्मेदवारलाई दिने सहमति भएको छ । यस्तै, आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने निर्णय भएको छ ।
भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष बिपी काँग्रेसलाई दिइने भएको छ । अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र बिपी काँग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा बिपी काँग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेबाट लड्ने सहमति भएको छ ।
उता गन्यापधुरामा बिपी काँग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली काँग्रेस बिपीका जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन् ।
यसअघि मल्ल पक्षले स्थानीय तह निर्वाचनका लागि टिकट बाँडफाँट गर्दा अन्यायमा परेका नेताहरूलाई सम्बोधन नगरे छुट्टै पार्टीबाट चुनाव लड्ने चेतावनी दिँदै आएका थिए । आफ्ना माग सुनुवाई नभएपछि कांग्रेस परित्याग गरी नेपाली काँग्रेस बिपीमा प्रवेश गरेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार