वैशाख १२, दैलेख
गठबन्धन दलहरु बीच भएको सहमति बेग्लै नेपाली काँग्रेसले भैरवीमा उम्मेदवारी दिएको छ । उक्त गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेसका भागमा परेको भए पनि काँग्रेसले दुवै पदमा उम्मेदवारी दर्ता गराएको हो । नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा रिता शाही र उपाध्यक्षमा देवीकुमारी भण्डारीले मनोनयन दर्ता गरेका छन् । काँग्रेस भैरवी सभापति हेमलाल जैसीका अनुसार गठबन्धनको आधिकारीक पत्र नआएका कारण ३७ पदमा काँग्रेसले उम्मेदवारी दिएको बताए ।
‘हामीलाई गठबन्धनका बिषयमा कुनै जानकारी आएको छैन्, जानकारी नआउदा गाउँपालिका अध्यक्ष–उपाध्यक्षसहित सम्पूर्ण ३७ पदमा उम्मेदवारी दर्ता गराएका छौँ, आधिकारीक पत्र आएपछि आउने पत्रका आधारमा निर्णय हुन्छ’, उनले भने ।
यता, नौमूले गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा नौमूले अध्यक्ष काँग्रेसको भागमा परेको भए पनि समाजवादी र माओवादी मात्र मिलेर निर्वाचनमा जाने भन्दै उम्मेदवारी दर्ता गराएका हुन् ।
माओवादी केन्द्र नौमूलेका अध्यक्ष छविराम सुवेदिका अनुसार काँग्रेसको हैकमवादी शैलिका कारण जनमत भन्दा विपरित निर्णय भएकाले आफुहरुले छुट्टै निर्वाचनमा जाने गरी उम्मेदवारी दर्ता गराएको बताए ।
समाजवादी र माओवादीका तर्फबाट नौमूलेमा अध्यक्षका लागि छवि सुवेदी र उपाध्यक्षका लागि समाजवादीबाट गंगबहादुर शाहीले उम्मेदवारी दिएका जनाइएको छ । काँग्रेसबाट अध्यक्षका लागि भदेबुढा मगर र उपाध्यक्षमा अमृता सिंहले उम्मेदवारी दर्ता गरेका छन् ।
नौमूलेमा स्वतन्त्रबाट अध्यक्षमा विद्याप्रसाद शर्मा र उपाध्यक्षमा कृष्णा कुमारी चन्दले उम्मेदवारी दिनुभएको नौमूले निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले बताए ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा पनि नेपाली काँग्रेसले छुट्टै उम्मेदवारी दर्ता गराएकको छ । केही दिन अघि एक्लै निर्वाचनमा जाने भन्दै विज्ञप्ति मार्फत उल्लेख गरेको चामुण्डा काँग्रेसले गठबन्धन विरुद्ध एक्लै उम्मेदवारी दर्ता गराएको हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा गठबन्धनको निर्णय अनुसार एकीकृत समाजवादीलाई मेयर र उपमेयर काँग्रेसको भागमा परेको उल्लेख गरिएको छ ।
काँग्रेसबाट चामुण्डाविन्द्रासैनी नगरपालिकामा मेयरको मनोनयन दर्ता गरेको काँग्रेस नेता गणेश बहादुर शाहीले बताए ।
‘काँग्रेसको केन्द्रबाट टिकट पाएर मनोनयन दर्ता गरेका हौँ, पार्टीको नीतिनै स्थानीय आवश्यक्ताका आधारमा गठबन्धन गर्नुभन्ने रहेकाले चामुण्डामा काँग्रेस एक्लै निर्वाचनमा जान्छ’, उनले भने ।
शाहीले गठबन्धनको आधिकारीक पत्र आफुहरुले नपाएको बताउँदै आधिकारीक पत्र आए पनि काँग्रेस चामुण्डामा एक्लै निर्वाचनमा जाने बताएका छन् ।









